लक्ष्यभन्दा बढी कर संकलन

साझा बिसौनी संवाददाता
सुर्खेत, २३ साउन ।
करदाता सेवा कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७४÷०७५ मा लक्ष्यभन्दा बढी कर संकलन गरेको छ । करदाताको संख्या बढेसँगै कर संकलनमा पनि वृद्धि भएको हो ।
आर्थिक वर्ष २०७४÷०७५ मा लक्ष्यभन्दा चार लाख बढी राजश्व संकलन भएको कार्यालयका कर अधिकृत यज्ञराज ढकालले जानकारी दिए । उनका अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष ४८ दशमलव ६ प्रतिशतले राजस्व वृद्धि भएको हो । आव २०७३÷०७४ मा ३६ करोड ७२ लाख ७० हजार रूपैयाँ राजस्व संकलन भएको थियो । आव २०७४÷०७५ मा अघिल्लो वर्षको भन्दा चार करोड ५७ लाख १७ हजार रूपैयाँले बढी राजस्व संकलन भएको छ । आन्तरिक राजस्व कार्यालय, नेपालगंजले करदाता सेवा कार्यालय सुर्खेतलाई ५० करोड ९१ हजार राजस्व संकलन लक्ष्य तोकेको थियो । उक्त लक्ष्यभन्दा पनि बढी राजश्व संकलन भएको हो ।
कर अधिकृत ढकालका उनका अनुसार सुर्खेतमा वर्षेनी राजस्व संकलनमा वृद्धि भइरहेको छ । कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१÷०७२ मा २२ करोड आठ लाख नौ हजार रूपैयाँ राजस्व संकलन भएको थियो । यस्तै आव २०७२÷०७३ मा २७ करोड ७१ लाख ९२ हजार रूपैया राजस्व संकलन गरेको कार्यालयले आव २०७३÷०७४ मा ३६ करोड ७१ लाख ७० हजार रूपैयाँ संकलन गरेको थियो । आव २०७४÷०७५ मा ५४ करोड ५७ लाख १७ हजार रूपैयाँ राजस्व संकलन गरिएको छ ।
नियमित बजार अनुगमन, कर शिक्षा कार्यक्रमहरू प्रभावकारी, करदातामा आएको कर सम्बन्धी जागरण, कार्यालयको प्रभावकारी सक्रियता लगायतका कारण राजस्व संकलन गर्न सफल भएको कर अधिकृत ढकालले बताए । तथ्यांक अनुसार आयकरमा ३५ करोड ३२ लाख ४८ हजार, वहाल करमा दुई करोड ७० लाख २७ हजार, ब्याजकरमा दुई करोड ४ लाख १३ हजार, मूल्य अभिवृद्धि कर १३ करोड ३६ लाख १६ हजार, अन्तः शुल्क ६८ लाख १७ हजार, शिक्षा सेवा शुल्कमा पाँच लाख ७७ हजार राजस्व संकलन भएको छ ।
राजस्व संकलनमा वृद्धिसँगै सुर्खेतमा हरेक वर्ष नयाँ करदाता थपिने क्रम पनि जारी रहेको छ । गत आर्थिक वर्ष २०७४÷०७५ मा आयकरमा एक सय ७२ जना, अन्तःशुल्कमा ४२ जना, मूल्य अभिवृद्धि करमा १६ जना गरी दुई सय ३० जना नयाँ करदाता थपिएको कार्यालयले जानकारी दिएको छ । योसँगै नियमित रूपमा कर तिर्ने करदाताको संख्या १६ हजार ६४ जना पुगेको ढकालले जानकारी दिए ।

प्रकाशित मितिः   २४ श्रावण २०७५, बिहीबार १५:४४