कर्णालीमा स्वास्थ्यका ६ वटा डिभिजन कार्यालय
साझा बिसौनी संवाददाता
सुर्खेत, २३ साउन ।
कर्णाली प्रदेशमा स्वास्थ्यका ६ वटा डिभिजन कार्यालय स्थापना हुने भएका छन् । जिल्ला संरचनामा रहेको सबै जिल्ला स्वास्थ्य र जनस्वास्थ्य कार्यालयलाई खारेज गरी डिभिजन कार्यालय बनाउन लागिएको हो । पुरानो संरचनाका कार्यालयहरू खारेज गरी सरकारले प्रदेश सरकार मातहतमा ६ वटा डिभिजन कार्यालय राख्ने गरी संरचना पारित गरेको छ ।
६ वटै डिभिजन कार्यालय प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालय अन्तर्गत रहने छन् । ती डिभिजन कार्यालयले तोकिएका जिल्लाबीच समन्वय गरी काम गर्ने गरी संरचना तयार गरिएको छ । स्वास्थ्य मन्त्रालयले तयार गरेको संरचना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै १ असोजबाट जिल्ला संरचना नरहने पक्का भएको हो । सरकारले गत चैतमा नै जिल्ला संरचना खारेज गर्ने निर्णय गरेको थियो । तर स्वास्थ्य मन्त्रालयले नयाँ संरचना सो समय तयार गर्न नसक्दा दुई पटक स्वास्थ्यमन्त्री स्तरीय निर्णय गरी ६ महिनालाई पर सारिएको हो । अब नयाँ संरचना पास भएसँगै कर्मचारी पदस्थापन गरी असोजबाट नयाँ ढाँचामा काम अगाडि बढ्ने जनाइएको छ ।
नयाँ संरचना अनुसार कर्णाली प्रदेशका ६ वटा जिल्लामा प्रदेश डिभिजन कार्यालय रहनेछन् । सुर्खेत, सल्यान, जुम्ला, मुगु, डोल्पा र हुम्ला जिल्लामा डिभिजन कार्यालय रहने जनाइएको छ । यी ६ वटा डिभिजन कार्यालयले प्रदेशका १० वटै जिल्लालाई समन्वय गर्नेछन् । नयाँ संरचना अनुसार सुर्खेतमा रहने डिभिजन कार्यालयले सुर्खेतसहित दैलेख र जाजरकोटलाई हेर्नेछ । यस्तै सल्यान र रुकुम पश्चिम हेर्ने गरी सल्यानमा, जुम्ला र कालिकोट हेर्नेगरी जुम्लामा डिभिजन कार्यालय स्थापना हुनेछ भने अरु तीन हिमाली जिल्ला मुगु, हुम्ला र डोल्पालाई सोही जिल्ला मात्र हेर्ने गरी संरचना तयार पारिएको छ ।
स्वास्थ्यको नयाँ संरचना पारित भएसँगै स्वास्थ्य मन्त्रालयले प्रदेश निर्देशनालयको कार्यविवरण पनि तयार भएको छ । निर्देशनालय मातहतमा ८ वटा शाखा रहने व्यवस्था छ । जसमा प्रदेशको नीति, योजना हेर्नेगरी नीति योजना तथा कार्यक्रम समन्वय शाखा रहने छ । त्यसैगरी चिकित्सा सेवा तथा रोग नियनत्रण शाखा, खरिद तथा आपूर्ति व्यवस्थापन शाखा, स्वास्थ्य सूचना तथा जनसंख्या व्यवस्थापन शाखा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा, नर्सिङ सेवा व्यवस्थापन शाखा, स्वास्थ्य प्रवद्र्धन तथा तालिम र प्रशासन शाखा रहनेछ । ती शाखाले समग्र प्रदेशको स्वास्थ्य सेवा सञ्चालन व्यवस्थापन गर्नुको साथै स्थानीय तह र संघीय सरकारबीच समन्वय गर्ने जनाइएको छ ।
तोकिएको कार्यविवरण अनुसार प्रदेश निर्देशनालयले अल्पकालीन र दीर्घकालीन नीति योजना तर्जुमा गर्न प्रदेश मन्त्रालयलाई सहयोग गर्ने, राष्ट्रिय नीति तथा रणनीति अनुसार सम्बन्धित कार्यक्रमहरू प्रदेश तथा स्थानीय स्तरमा कार्यान्वयन गर्न सहयोग गर्ने, प्रदेशस्तरीय जनस्वास्थ्य निगरानी कार्य गर्ने, सरुवा र नसर्ने रोग नियन्त्रण तथा रोकथामको कार्य गर्ने उल्लेख छ ।
प्रदेश अन्तर्गत रहने १५ शैया भन्दा माथिका सबै अस्पताल पनि सम्बन्धित प्रदेशको मातहतमा रहने उल्लेख छ । सरकारले यसअघि नै स्थानीय तह र संघीय स्वास्थ्य मन्त्रालय र विभागको संरचना पारित गरी कार्यान्वयनमा आइसकेको छ ।
प्रकाशित मितिः २४ श्रावण २०७५, बिहीबार १५:४३
साझा बिसौनी ।