धार्मिक पर्यटनको हव बनाइँदै
साझा बिसौनी संवाददाता
सुर्खेत, २० साउन ।
पञ्चपुरी नगरपालिकाको वडा नम्बर २ स्थित पलैटेलाई पर्यटकीय केन्द्र बनाइने भएको छ । पलैटेलाई कर्णाली प्रदेशकै मुख्य धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्न लागिएको हो । यसका लागि स्थानीयले आवश्यक पूर्वाधारको विकास तथा तथा संरचना निर्माणको काम थालेका हुन् ।
महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले सो स्थानलाई शिवशक्ति धामका रूपमा विकास गर्न लागेको हो । धार्मिक पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने र पर्यटकलाई आकर्षित गर्ने उदेश्यले प्रतिष्ठानलाई स्थानीयले जग्गा दान गरेका छन् । उक्त जग्गामा सुविधा सम्पन्न सभाहल निर्माणको काम चलिरहेको छ । आगामी पाँच वर्षपभित्र सम्पन्न गर्ने गरी धार्मिक गुरुयोजना पनि निर्माण गर्न लागिएको छ ।
सोही क्षेत्रमा एक सय आठ फिट अग्लो शिवलिङ्ग निर्माण गर्ने तयारी थालिएको छ । यसले धार्मिक पर्यटकहरू आकर्षित हुने अपेक्षा गरिएको छ । यस्तै गुरुकुल स्कुल पनि स्थापना गर्न लागिएको छ । जहाँ अंग्रेजी र संस्कृत भाषामा अध्यापन हुनेछ । अर्कोतर्फ धाममा नियमित रूपमा धार्मिक प्रवचन पनि सञ्चालन गरिनेछ । शिवशक्ति धाम नजिकै कुण्डलीनी गुफा रहेको छ । प्राकृतिक रूपमा नै उक्त गुफाभित्र देवी देवताका चित्र, हातिको सुँड र विभिन्न आकृतिहरू देखिन्छन् । यसकारण पनि यहाँ पर्यटकहरू भित्रिने अपेक्षा स्थानीय बासिन्दाले गरेका छन् । धार्मिक पर्यटनको बलियो सम्भावना रहेकाले आफूहरू यो अभियानमा जुटेको महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानका कर्णाली प्रदेश अध्यक्ष तिलकराम अधिकारीले बताए ।
‘पलैटे अब धार्मिक पर्यटनको हव बन्छ, हामी यसका लागि तयारीमा जुटेका छौं’ अधिकारीले भने, ‘अबको पाँच वर्षभित्र पूर्ण रूपमा संचालनमा ल्याउने छौं, देश र विदेशका पर्यटकहरू यहाँ भित्रिनेछन् । यसले स्थानीयको आयआर्जनमा वृद्धि हुनेछ, अर्कोतर्फ धार्मिक अनुशासन पनि कायम हुनेछ ।’ उनले शिवशक्ति धाममा आउने भक्तजन र दर्शकलाई बिहानको खाना निःशुल्क खुवाउने गरी व्यवस्थापन गर्न लागिएको जानकारी दिए । यस्तै सोही क्षेत्रमा यस क्षेत्रकै ठूलो क्षमतमा होमस्टे सञ्चालनको तयारी भइरहेको समेत अधिकारीले बताए । उनका अनुसार अब उक्त क्षेत्रलाई मिनी चतराधामका रूपमा नै विकास गर्न लागिएको हो । हाल सो स्थानमा एक हजार जना अटाउने क्षमताका सुविधायुक्त हल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
हल निर्माण उपसमितिका अध्यक्ष चन्द्रप्रसाद कँडेलले यो हल अबको एक महिनाभित्र सञ्चालनमा आउने बताए । उनका अनुसार हलको लागत एक करोड अनुमान गरिएको छ । यो हलमा नियमित रूपमा साधना र सामाजिक कार्यक्रमहरू आयोजना गर्न सहज हुनेछ । शिवशक्ति धामको विकासका लागि पञ्चपुरी नगरपालिकाले पनि आवश्यक सहयोग गरिरहेको
छ । अघिल्लो वर्ष नगरपालिकाले १० लाख रकम उपलब्ध गराएको थियो । पर्यटन नै समृद्धिको आधार भन्दै नगरपालिकाले यो वर्ष पनि २० लाख बजेट विनियोजन गरेको छ । यसले पनि आवश्यक पूर्वाधार विकासमा सहज भएको वडा नम्बर २ का अध्यक्ष जगतबहादुर विसीले बताए । उनले भने,‘हाम्रो वडा धार्मिक पर्यटनको केन्द्र बन्दैछ, हामी यसमा लागि परेका छौं । केही वर्षभित्र ठूलो संख्यामा पर्यटकहरू भित्रिनेछन्, यसले यहाँको आर्थिक अवस्था बलियो हुनेछ ।’
धार्मिक क्षेत्रहरूको विकाससँगै गाउँमा होमस्टे संचालन गरेर पर्यटक तान्ने प्रयास भइरहेको उनको भनाइ छ । यसका लागि आफूहरूले प्रदेश सरकारसँग पनि समन्वय गरिरहेको उनले जानकारी दिए । धाममा कुटी, धर्मशाला, गौशाला र अन्य संरचनाहरू निर्माणको योजना पनि समेटिएको छ । धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्नका लागि आवश्यक पर्ने जग्गा समेत जुटेको छ । ३५ रोपनी दर्ता र ६० रोपनी अन्य जग्गा प्रतिष्ठानको नाममा रहेको छ ।
यही जग्गामा अहिले आवश्यक पूर्वाधार र संरचनाहरू निर्माणको काम भइरहेको छ । धार्मिक पर्यटनको केन्द्र बनाउनका लागि स्थानीयले चन्दा नै उपलब्ध गराएका हुन् । अबको एक महिनाभित्र हल निर्माणको काम सम्पन्न हुने र साधनाको काम पनि सुरु हुने भन्दै उनले वृहत गुरुयोजना निर्माण गरेर अगाडी बढ्ने जनाए । अधिकारीका अनुसार पूर्वाधार निर्मााणको काम सम्पन्न भएमा पलैटे कर्णाली प्रदेशकै प्रमुख धार्मिक पर्यटकीय केन्द्र बन्नेछ ।
साझा बिसौनी ।