पहिरोमा पुरिएर आठ जनाको मृत्यु

साझा बिसौनी संवाददाता
जाजरकोट, २० साउन ।
आइतवार बिहान गएको पहिरोले घर बगाउँदा जाजरकोटमा आठ जनाको मृत्यु भएको छ । निरन्तर भएको वर्षासँगै भेरी नगरपालिका–३ ठाँटीस्थित तीर्थ बोहरा र गोपाल सुनारको घर पहिरोले पुरेको हो ।
पहिरोले बोहरा र सुनारको घर पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । पहिरोले तीर्थ बोहराकी आठ वर्षीया छोरी नोज्मा बोहराको मृत्यु भएको छ । यस्तै २५ वर्षीय सितली लुहार, छोरीहरू १० वर्षकी रन्जना लुहार, ६ वर्षकी मनिषा लुहार र ३ वर्षकी भगवती लुहारको मृत अवस्थामा शव निकालिएको छ ।


त्यसैगरी गोपाल सुनारको घरमा डेरा गरी बस्ने कुशे गाउँपालिका वडा नं. ५ जाजरकोटका वर्ष ८ को दशरथ परियार, सोही घरमा खेल्न गएका कुशे गाउँपालिका वडा नं.६ का वर्ष १३ को नरेन्द्र परियार र वर्ष ११ को नविन परियार पनि मृत अवस्थामा फेला पारेका छन् । घरमा भाडामा बस्ने कुशे गाउँपालिका वडा नं. ५ का वर्ष १२ को गोविन्द परियार पहिरोमा पुरिएर बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गोविन्दको खोजी कार्य भइरहेको छ ।
शनिवार रातीदेखि परेको पानीका कारण कर्णाली विभिन्न ठाउँहरूमा सामान्य पहिरो गए पनि जाजरकोट जिल्ला बाहेकका अन्य जिल्लामा भने ठूलो क्षति भएको छैन । पहिरोमा परेका भेरी नगरपालिका वडा नं. ६ का लालबहादुर लुहारको जिवितै उद्दार गरिएको प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताए ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीले जिल्लामा कुनै अप्रिय घटना नघटेको बताए । उनका अनुसार विपद् व्यवस्थापनका लागि पूर्व तयार अवस्थामा छ ।

प्रकाशित मितिः   २१ श्रावण २०७५, सोमबार १६:११