‘आमाले चामल बेचेर पढ्न पठाउनुभयो’
देवीराम थापा लेखापढी व्यवसायी हुन् । वीरेन्द्रनगर–८ निवासी थापा वि.सं. १९९७ माघ १० गते दैलेखको रावतकोटमा बुबा मन्दिर थापा र आमा मातादेवी थापाको कोखबाट जन्मिए । वि.सं. २०१२ सालमा बैदार पदबाट जागिर सुरु थापा अहिले लेखापढी व्यावसायमा आवद्ध छन् । उनले अहिले मुद्दा लेखनमा सहयोग गरिदिने काम गर्ने गर्दछन् । उनै थापाले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेका छन्ः
मेरो जन्म दैलेखको तत्कालीन रावतकोट गाविसमा भयो । म जन्मिएको सात महिनामा नै बुबाको मृत्यु भयो । म भन्दा अघि एक दाजु र एक दिदी हुनुहुन्छ । बुबा बित्नु भएपछि आमाले हामीलाई धेरै दुःख सहेर हुर्काउनु भएको हो । जेठी आमाको मृत्यु भएपछि मेरो बुबाले मेरो आमालाई विवाह गर्नुभएको हो । जेठी आमाबाट दाजु र दिदीहरू हुनुहुन्छ । उहाँहरू हामी भन्दा ठूलो हुनुहुन्थ्यो । दाजु गाउँको गन्यमान्य नै हुनहुन्थ्यो । पहिलेको समयमा अहिलेको जस्तो विद्यालय खुलेका थिएनन् । गाउँघरमा पाठशाला हुन्थे । प्रायले त्यही पाठशालामा गएर पढ्ने गर्थे । अहिलेका जसरी किताब पढ्नु पर्दैनथ्यो । चण्डी, दुर्गा, तमसुक कसरी लेख्ने, गाउँमा हुने मुद्दामामिला कसरी हेर्ने जस्ता व्यवहारिक शिक्षाहरू पढाइन्थ्यो ।
पाठशाला गएर पढ्न मन लाग्थ्यो । तर घरको आर्थिक अवस्थाले गर्दा पढ्न जान पाइएन । त्यस बेलामा अहिलेको जसरी कापी कलमहरू हुँदैनथे । पाटीमा लेख्नुपथ्र्यो । कटुसको पात पकाएर मसी गराउनुपथ्र्यो । निगालाको कलम बनाएर लेख्नुपथ्र्यो । काठको पाटी बनाएर लेख्ने गथ्र्यौ । मलाई यो सबै गराइ दिने कोही थिएन । साथीहरूले पढेको सुनेर मैले धेरै कुरा जानिसकेको थिएँ । साथीहरूसँगै खाली हात पाठशाला गएर म सुनेकै भरमा कण्ठ गर्थें ।
म त्यसरी साथीहरूसँग गएको देखेर ठूलो बुबाले मलाई एउटा पाटी गराइ दिनुभयो । त्यसपछि मलाई उहाँले पाठशाला पठाउन सहयोग गर्नुभयो । म पनि काठको पाटी बोकेर पाठशाला जान थालेँ । अहिलेको जस्ता कक्षागत रूपमा पढाइ हुँदैनथ्यो । गाउँघरमा व्यवहारमा लागू हुने ज्ञान सबै जानेपछि पास भइन्थ्यो । कहिले काहीं मसी नहुँदा अंगारले पनि लेख्नुपथ्र्यो । पहाडमा उकाली ओराली हिड्नुुपर्ने । घरदेखि करिब एक घण्टा भन्दा धेरै नै लाग्थ्यो पाठशाला जान । साथीहरूसँग रमाउने, खेल्ने, पढ्ने गरेर पाठशाला पढ्दा समय बित्यो । पाठशाला पढ्न जाँदा जंगलको बाटो भएर जानुपर्ने हुन्थ्यो । पाठशाला जाँदा घरबाट नै खाजा लिएर जान्थ्यौं ।
त्यसबेलामा अहिलेको जस्तो पैसा नै हुुन्थेन । गाउँघरमाा पसलहरू पनि हुँदैनथे । खाजा घरबाट लिनुपर्ने । पाठशालाबाट फर्किदा भोक लाग्छ भनेर जंगलमा स्याउलामुनी लुकाएर पढ्न जान्थ्यौं । आउँदा केही साथीहरूले चोरेर पनि खाइदिन्थे । जो छिटो आयो उसले स्याउलामा लुकाए राखेको खाजा खाइदिने हुन्थ्यो ।
गाउँघरमा खेतीपाती गर्नुेपर्ने, गाइगोठालो जानुपर्ने हुन्थ्यो । आमालाई घरमा सघाउनु पनि पथ्र्यो । कहिले काहीं हलो पनि जोत्नुपर्ने हुन्थ्यो । धेरै जसो भने गाइगोठाला र घाँसदाउँरा काट्न जान्थ्यौं । गाइगोठालो जाने बेलामा साथीहरूसँग खेलेको, पौडी खेलेको र माछा मारेको सम्झना अझै पनि ताजा नै छ । कहिलेकाँही गाउँघरमा छिमेकीका काँक्रा, फलफूल पनि चोरेर खाइन्थ्यो । रमाइलो हुन्थ्यो । कहिले काहीं आफ्नै–आफ्नै घरमा पनि साथीहरू मिलेर चोर्ने गरियो ।
सानैदेखि म केही सिक्नुपर्छ भन्ने भावनाको थिएँ । अन्यायको विरुद्धमा बोलिहाल्ने मेरो स्वभाव थियो । आफुले अन्याय सहदैन्थें । त्यसकारण मैले पाठशाला जानुपर्छ भनेर घरको दुःख हँुदाहुँदै पनि गएँ । पछि आमाले पाठशाला पढ्नका लागि चामल बेचेर पनि खर्च जुटाइदिनुहुन्थ्यो । पछि ठूलो हुँदै गएपछि मैले १५÷१६ वर्षकै उमेरमा जागिरे भएँ । वि.सं. २०१२ सालमा मैले दुल्लू राज्यमा जागिरे भएँ । त्यसबेलामा दुल्लू राज्यमा बैदार पदमा भएर मैले काम गर्थें । पाठशालामा मुद्दामामिला कसरी हेर्ने, तारिख कसरी दिने, चिठ्ठी कसरी लेख्ने भन्ने व्यवहारिक शिक्षा सिकाइने हुँदा त्यसै अनुसारको काम गर्नुपर्ने हुन्थ्यो । मैले त्यहाँ हुँदा पनि तारिख कसरी दिने, मिसिल कसरी तयारी गर्ने लगायतका क्षेत्रका रहेर काम गर्थें । मैले त्यहाँ २०१७ सालसम्म काम गरेको हुँ । त्यसै क्रममा एक जना एसएलसी उत्तीर्ण गरेका व्यक्तिसँग भेट भयो । उहाँले अझै पढ्न पर्छ भनेपछि मैले अंग्रेजी पढ्न सुरु गरें । मैले कक्षा ८ पास पनि गरें ।
साझा बिसौनी ।