दाहसंस्कार स्थलको स्तरोन्नति गरिने

साझा बिसौनी दैनिक
सुर्खेत, २० साउन ।
सुर्खेतको भेरी समौझीघाट दाहसंस्कार स्थललाई स्तरोन्नति गर्न महाकुम्भ मेला आयोजना गरिने भएको छ । सुर्खेत उपत्यका नगरविकास समितिको पहलमा स्मार्ट आर्यघाट निर्माणका लागि रकम संकलन गर्न भेरी किनारमै पितृमोक्ष महाकुम्भ धार्मिक मेला सञ्चालन गरिने भएको हो । २० देखि २५ करोड रूपैयाँको लागतमा भेरी किनारमा विद्युतीय शव दाह यन्त्रसहितको किरिया कक्ष, श्राद्ध तथा पिण्ड तर्पण स्थल, शुद्ध शाकाहारी भोजनालय लगायतका आवश्यक संरचना निर्माण गर्न महाकुम्भ मेला आयोजना गर्न लागिएको हो ।

जसका लागि आवश्यक रकम जोहो गर्न आगामी असोज महिनामा भेरी किनारमा पितृमोष महाकुम्भ धार्मिक मेला सञ्चालन गर्ने योजना संकल्पकर्ता गोविन्द शरणले अघि सारेका हुन् । धार्मिक मेलामा श्राद्ध, तर्पण, लाखबत्ती, ब्रतबन्ध लगायत अन्य पूजाआजा गरिने उनले जानकारी दिए । उपयुक्त स्थान र समय हेरि कार्य आरम्भ गरिने जानकारी दिए । उक्त धार्मिक मेला सञ्चालनका लागि आफूले एक रूपैयाँ पनि नलिने उद्घोष गर्दै उनले बरु मेलाका लागि आवश्यक बिजुली बत्ती, टेन्टपण्डाल, साउण्ड सिष्टम लगायत २५ लाख रूपैयाँ बराबरको व्यवस्थापकीय खर्च आफै व्यहोर्ने प्रतिबद्धतासमेत गरेका छन् ।
हाल भेरी किनारामा दाहसंस्कारका लागि अनेकौं कठिनाइ भोग्नु परिरहेको भन्दै उनले पितृआत्मको मोक्ष र शान्तिका लागि पनि अत्याधुनिक आर्यघाट आवश्यक रहेको बताए । सुर्खेतमा विश्वविद्यालयपछि कै सबैभन्दा ठूलो योजना हुने भन्दै उनले यो योजना महŒवाकांक्षी भए पनि असम्भव भने नभएको दाबी गरे ।
जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देलले नागरिकस्तरबाट सुरु गरिने यस्ता महŒवपूर्ण आयोजनामा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए । वीरेन्द्रनगर–५ वडाध्यक्ष राजबहादुर गुरुङ्गले विद्यमान सांस्कृतिक तथा धार्मिक विविधताको सम्मान हुने गरी सबै धर्मावलम्बीहरूलाई उपयुक्त हुने किसिमको आर्यघाट स्थापना गर्न सुझाव दिए ।
अधिवक्ता ध्रुवकुमार श्रेष्ठले विद्युतीय शवदाह यन्त्रसहितको स्मार्ट आर्यघाट निर्माण गर्न सकिए वन जंगलको विनाश तथा वातावरणीय प्रदुषणलाई नियन्त्रण गर्न सकिने बताए । सुर्खेत उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष धनबहादुर रावतले विशुद्ध रूपमा धार्मिक तथा सांस्कृतिक प्रयोजनका लागि गरिने विकास निर्माणमा आफ्नो व्यक्तिगत र संस्थागत सहयोग रहने प्रतिबद्धता जनाए ।
शिवशक्ति सामुदायिक वनकी अध्यक्ष मानकुमार आचार्यले दाहसंस्कारका लागि काठ दाउराको खपत बढिरहेको भन्दै त्यसको बचतका लागि पनि स्मार्ट आर्यघाट बनाउने कार्यमा आफ्नो सहयोग रहने प्रतिबद्धता जनाए ।

प्रकाशित मितिः   २१ श्रावण २०७५, सोमबार १६:०६