विकराल बन्दै बहुविवाह

साझा बिसौनी संवाददाता
सुर्खेत, १९ साउन ।
गत वर्ष जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बहुविवाहका ११ वटा मुद्दा दर्ता भए । दर्ता भएका सबै मुद्दा फच्छ्र्यौट भइसकेको छ । तर यो तथ्यांकले बहुविवाहको विकराल रूप देखाउँछ । बहुविवाहलाई दण्डनिय अपराध मानिन्छ । तर अहिले पनि ठुलो संख्यामा बहुविवाह हुने गरेको पाइएको छ ।


जिल्ला प्रहरी कार्यालय सुर्खेतले जिल्लामा हुने गरेका प्रमुख सामाजिक विकृति र अपराधको सूचीको छैठौं नम्बरमा घरेलु हिंसा, बालविवाह र जबरजस्तीकरणीसँगै बहुविवाहलाई पनि राखेको छ । यसले पनि बालविवाह, घरेलु हिंसासँगै बहुविवाह पनि सुर्खेतमा ठूलो संख्यामा हुने गरेको देखाउँछ । बहुविवाहलाई कानुनी रूपमा दण्डित गरिने भए पनि बहुविवाह हुने क्रम भने घटेको छैन ।
सुर्खेतमा मात्र होइन छिमेकी जिल्ला दैलेखमा पनि पछिल्लो समय बहुविवाहका घटना बढिरहेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखमा यस सम्बन्धीका उजुरीहरूको संख्या पनि बढेको पाइएको छ ।
पीडामा महिला
नारायण नगरपालिका–४ सोतकी २३ वर्षकी चन्द्रा सुनार तीन वटा दुधे सन्तान बोकेर जिल्ला प्रहरी कार्यालय दैलेख पुगिन् । जीवनभर साथ दिने र सँगै जिउँने बाचासहित प्रेमविवाह गरेकी उनले सोचेकी समेत थिइनन्, श्रीमान्ले अर्को श्रीमती विवाह गर्लान र बिचल्लीमा परिएला भनेर । तर, श्रीमान्ले अर्काे श्रीमती लिएर भागेपछि उनी बहुविवाहको निवेदन दिन प्रहरी कहाँ पुगेकी हुन् ।
श्रीमान्ले दोस्रो विवाह गरेर भागेपछि चन्द्राले प्रहरीमा उनीहरूलाई कानुनी कारबाही गरिपाउँ भनी प्रहरीसँग हारगुहार गरेकी छन् । विवाह भएको ६ वर्ष पुग्यो, उनका ५ सन्तान छन् । जुम्ल्याहा छोरीहरू चैतमा वर्ष दिनका भएका थिए, वैशाखमा पाँचौं सन्तान छोरा जन्माइन् । छोरा जन्मेको पनि ४ महिना पुग्दैछ, यी भएकै छोराछोरी सम्हाल्न हैरान भएका चन्द्रा माथि श्रीमान बसन्त सुनारले दोश्रो विहे गरेपछि उनी विचल्लीमा परेकी हुन् । घरमा छोड्न सकिने दुई वटा सन्तान आफन्तलाई रेखदेख गरिदिन भनेर तीन वटा दुधे सन्तानहरू लिएर जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा उनले दोस्रो विवाह गरी श्रीमान् भारत जान लागेकोले रोक्न निवेदन दिएकी छन् ।
यस्तै, शुक्रवार गुराँस गाउँपालिका–४ तालपोखरीका सुनिता मल्लले पनि श्रीमान्ले दोस्रो विवाह गरेको भन्दै शुक्रवार प्रहरीमा निवेदन दर्ता गराएकी छन् । उनले आफ्ना श्रीमान् विष्णुबहादुर शाहीले बहुविवाह गरेका भनि हुलियासहित उजुरी दिएकी हुन् । निवेदनका आधारमा प्रहरीले शनिवार विष्णु र उनले दोस्रो विवाह गरेकी महिलालाई पनि पक्राउ गरेको छ । भागेर भारत जान लागेका बेला प्रहरीका सक्रियतामा उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ ।
श्रीमान्ले दोस्रो विवाह गरी भारत पस्न लागेकाले रोक्न श्रीमतीहरूले शुक्रवार मात्रै चार वटा ठाडो निवेदन जिल्ला प्रहरी कार्यालय दैलेखमा दिए । यी निवेदन उदाहरण मात्रै हुन् । कम उमेरमा विवाह गर्ने र सन्तान भएपछि हुने कलहका कारण दैलेखमा बहुविवाह बढ्दै गएको छ । आर्थिक अभावले पारिवारिक कलह सुरु हुने गरेकाले अधिकांश महिलाहरू बहुविवाहबाट पीडित बनेका छन् । पारिवारिक कलह, श्रीमान्ले गर्ने व्यवहारदेखि पीडित बनेका महिलाहरूले दोस्रो विवाह गरेको प्रमाणित भएपछि सम्बन्ध बिच्छेद गर्ने गरेका छन् ।
सानैमा विवाह गरेकै कारण बीचैमा अध्ययन रोकिने, रोजगार वा आत्मनिर्भरका लागि स्वरोजगारीका सीप, ज्ञानसमेत नहुँदा आर्थिक कठिनाइले पारिवारिक कलह हुने गरेकाले सम्बन्ध बिच्छेद वा बहुविवाहको अवस्था सिर्जना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सरोज पौडेलले बताए ।
न्यायिक समितिमा उजुरी बढ्दै
अधिकार सम्पन्न मानिने स्थानीय सरकारलाई पनि बहुविवाह सम्बन्धी निवेदनको टुंगो लगाउन हम्मे पर्ने गरेको छ । पुरुषहरूले बहुविवाह गर्ने गरेका निवेदनहरू न्यायिक समितिमा आउने गरेको गुराँस गाउँपालिकाका उपाध्यक्ष दीपा बीसीले बताइन् । समितिमा आउने बहुविवाहका निवेदनमा कानुनी प्रक्रियामा लैजान प्रहरीमार्फत् अदालत पठाउने गरेको उनले बताइन् । घरेलु मदिराका कारण समुदायमा सम्बन्ध बिच्छेद, बहुविवाह लगायतका कलहको अवस्था सिर्जना हुने गरेको भैरवी गाउँपालिकाका उपाध्यक्ष पदमकुमारी बिष्टले बताउँछिन् ।
मुलुकी ऐन २०२० अनुसार बहुविवाह गर्नेलाई एक वर्षदेखि तीन वर्षसम्म कैद वा पाँच हजारदेखि २५ हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ । २०७५ भदौ १ गतेदेखि लागू हुने ‘मुलुकी अपराध सहिंता ऐन २०७४’ को दफा १७५ मा बहुविवाह गर्ने कसुरदारलाई गरिने सजाय बढाएर एक वर्षदेखि पाँच वर्षसम्म कैद वा १० हजारदेखि ५० हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने कानुनी प्रावधान राखिएको छ ।

प्रकाशित मितिः   २० श्रावण २०७५, आईतवार ०९:४४