सहिदको सम्झनामा रक्तदान

साझा बिसौनी संवाददाता
सुर्खेत, १९ साउन ।
कर्णाली प्रदेश प्राप्तीको आन्दोलनमा ज्यान गुमाएका सहिदको सम्झनामा रक्तदान गरिएको छ । सहिद याम बिसी स्मृति प्रतिष्ठानको आयोजनामा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिवार रक्तदान गरिएको हो ।
रक्तदान कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य धर्मराज रेग्मीले सहिदको सपना समृद्ध कर्णाली निर्माण गरे मात्रै पूरा हुने बताए । सहिदहरूकै बलिदानीले कर्णाली प्रदेश स्थापना भएको भन्दै उनले छुट्टै प्रदेश पाएकोमा गर्व गर्ने कर्णालीबासीले सहिदको सम्मान गर्न सक्नुपर्ने बताए ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ का वडा
अध्यक्ष मोतीप्रसाद कँडेलले प्रदेश स्थापनाका लागि सहिदहरूले बगाएको रगतको सम्मान हुने गरी समृद्ध कर्णाली बनाउन सबै लाग्नुपर्ने बताए । रगत संकलनका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सुर्खेतले सहयोग गरेको थियो ।