‘डब्लूडब्लू–जे’ सुर्खेतमा भण्डारी

साझा बिसौनी संवाददाता
सुर्खेत, १९ साउन ।
क्रियाशील पत्रकार महिला (डब्लूडब्लूजे) शाखा सुर्खेतको अध्यक्षमा लक्ष्मी भण्डारी चयन भएकी छन् । डब्लूडब्लूजे शाखा सुर्खेतको शनिवार सम्पन्न पाँचौं अधिवेशनले राष्ट्रिय समाचार समितिका सुर्खेत समाचारदाता भण्डारीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा चाँदनी केसी, सचिवमा सविता जिसी, सह–सचिवमा प्रभा रावत र कोषाध्यक्षमा सीता वली चयन भएका छन् । नवगठित समितिको सदस्यहरूमा कल्पना ढेंगा मगर, अप्सरा विष्ट, निरु घताने र सीता आचार्य रहेका छन् । यस्तै कार्यसमितिको सल्लाहकारहरूमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाल, प्रदेश उपाध्यक्ष डम्मर आचार्य र डब्लूडब्लू–जे शाखा सुर्खेतका निवर्तमान अध्यक्ष मुना हमाल रहेका छन् ।
अधिवेशनमा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले पत्रकार महिलाहरूको मुद्दामा एकढिक्का भएर लाग्नको लागि समितिलाई आग्रह गरे । यस्ता खालका समितिले पत्रकार महिलालाई सशक्त बनाएको भन्दै सेजुवालले महिलाका हकअधिकार र महिलाका समस्यालाई चिर्दै अगाडि बढ्न सुझाव दिए । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष डम्मर आचार्यले पत्रकार महिलाहरू एकजुट भएर अघि बढेमा महिलाका अधिकार प्राप्तीको लागि सहज हुनुको साथै महिलाका मुद्दाहरू अगाडि बढाउन सहज हुने बताइन् । डब्लूडब्लू जे कर्णाली प्रदेशका संयोजक तीला भण्डारीले क्रियाशील रूपमा कार्यरत पत्रकार महिलाहरूको हकअधिकारको साथै समग्र महिला तथा बालबालिकाको विषयमा आवाज उठाउन सहज हुने बताइन् । उनले यस समूहले सबैको आवाज लिएर अघि बढ्नुपर्ने सुझाव दिइन् ।

प्रकाशित मितिः   २० श्रावण २०७५, आईतवार ०९:३९