दाताहरुलाई सम्मान
साझा बिसौनी संवाददाता
सुर्खेत, १९ साउन ।
दृष्टिविहीनहरूका क्षेत्रमा काम गर्दै आएको दृष्टिविहीन हेरविचार केन्द्र सुर्खेतले आफ्ना मानार्थ तथा आजीवन सदस्यहरूलाई सम्मान गरेको छ । केन्द्रले विभिन्न समयमा दृष्टिविहीनहरूका लागि विभिन्न माध्यमबाट सहयोग गर्ने दाताहरूलाई दोसल्ला ओढाएर तथा सम्मानपत्रसहित सम्मान गरेको हो ।
कार्यक्रममा बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष पञ्चसिंह रोकायले आफूले स्थापना गरेको कोषबाट आर्थिक वर्ष २०७५/०७६ मा केन्द्रलाई ७५ हजार सहयोग गर्ने घोषणा गरे । केन्द्रका दाता नेपालगन्जका स्व. हिराकाजी शाक्यका छोरा सन्तोषकाजी शाक्यले बुबाले केन्द्रलाई गरेको सहयोगलाई आफूले निरन्तरता दिने बताए । विदेशमा बसेर सहयोग गर्ने जयन्ती थापाका बुबा धर्मजंग थापाले छोरीले विदेशमा कमाइ गरेको केही रकम बचाइ समाजिक क्षेत्रमा खर्च गरेकोमा आफू गौरवान्वित भएको बताए ।
कार्यक्रमको समापन गर्दै केन्द्रका अध्यक्ष जीवनकुमार शाक्यले आफूले फेसबुक तथा प्रत्येक्ष भेटेर सहयोग माग्दै दृष्टिविहीनका क्षेत्रमा काम गरिरहेको बताए । अध्यक्ष शाक्यले दृष्टिविहीन हेरविचार केन्द्रले सुर्खेतमा मात्र नभएर देशको विभिन्न जिल्लामा रहेका दृष्टिविहीनहरूलाई सकेसम्मको सहयोग गरिरहेको बताए । कार्यक्रममा नेपाल मगर संघका डिलबहादुर बंशीले केन्द्रलाई मासिक एक हजार दिने घोषणा गरे ।
कार्यक्रममा गणेशजल बहुउद्देश्यीय सहकारीका अध्यक्ष प्रेम बिसी, नेपाल नेत्रहीन संघ कर्णाली प्रदेशका संयोजक सुरेश खड्का, तमु ह्ययुल छोंज धी सुर्खेतका अध्यक्ष गगनसिंह गुरुङ्ग लगायतले शुभकामना दिएका थिए । केन्द्रका उपाध्यक्ष दृष्टिविहीन मेनका आचार्यले स्वागत गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन सोमना खड्काले गरेकी थिइन् ।
साझा बिसौनी ।