उडान अवरुद्ध हुँदा यात्रु अलपत्र

डोल्पा, १९ साउन । (साबिस)
वर्षायाम सुरु भएसँगै हवाई उडान अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् । निरन्तर वर्षात र बाग्लो हुस्सुका कारण जहाजको रुट बन्द हुने गरेपछि पश्चिम भेगका हवाई उडानहरू प्रभावित हुँदै आएका छन् ।
विमानस्थलहरूमा दैनिक यात्रुहरू थपिने तर उडान भने नहुने भएपछि यात्रुहरूको चाप दिन प्रतिदिन बड्दै गएको कर्णालीका नागरिक उडड्यन कार्यालयहरूले जनाएका छन् । राष्ट्रिय सडक सञ्जालको पहुँच पुग्न नसकेका डोल्पा र हुम्लाका बिमानस्थलमा यात्रुहरूको चाप झन धेरै बढेको छ । अवतरण नगरेरै फर्किन्छन् जहाज दैनिक मौसम बिग्रने गरेपछि नेपालगन्जदेखि उडिसकेका जहाज पनि अवतरण नगरेरै फर्कने गरेका छन् । जहाज उडान भए पनि उडान भएको केही समयभित्रै बाक्लो हुस्सुले हवाई रुट बन्द हुनुका साथै विमानस्थल पूरै हुस्सुले ढाक्ने गरेपछि विमानस्थल पुगेका जहाजहरू पनि अवतरण नगरेरै फर्किने गरेको विमान कम्पनीहरूले जनाएका छन् ।
जुफाल विमानस्थल पाँच दिनदेखि बन्द डोल्पामा यातायातको एकमात्र साधनको रूपमा रहेको जुफाल बिमानस्थल पाँच दिनदेखि बन्द भएको छ । खराब मौसमका कारण दैनिक हवाई उडान अवरुद्ध हुने गरेपछि पाँच दिनदेखि एउटा पनि उडान हुन नसकेको जुफाल बिमानस्थलले जनाएको छ । मौसम बिग्रदैं गएका कारण आजभोलि हप्ता १० दिनमा पनि उडान नहुने भए पनि तीन–चारवटा उडान मात्रै हुने गरेको जुफालमा उडान भर्दै आएका बिमान कम्पनीले जानकारी दिए । जुफाल बिमानस्थलमा जहाज आउन छाडेपछि कतिपय सर्वसाधारण हप्ता दिन जहाज कुरेर जोखिमपूर्ण पैदलयात्रा गरेर गन्तव्यमा पुग्न बाध्य भएका छन् । जहाज आउन छाडेपछि जुफालमा बिरामीहरू अलपत्र परेका छन् । ‘दैनिक बिहान विमानस्थल आउँछौं जहाजमा उड्नका लागि तर जहाज आउँदैन’ त्रिपुरा सुन्दरी नगरपालिका १ बस्ने स्थानीय भावना कठायतले गुनासो गरिन् ।

प्रकाशित मितिः   २० श्रावण २०७५, आईतवार ०९:३६