गजल सुन्न सभाहल भरीभराउ

साझा बिसौनी संवाददाता
सुर्खेत, १९ साउन ।
कर्णालीमा सबैभन्दा बढी चर्चामा रहेको साहित्यिक विधा हो, गजल । गजल सुन्नकै लागि गजल प्रेमीहरूको सहभागिताले यहाँका कार्यक्रमस्थलका सभाहलहरू समेत भरीभराउ हुने गरेका छन् ।
मध्यपश्चिमाञ्चल विश्व–विद्यालय साहित्य समाजले आयोजना गर्ने काव्य श्रृखंला यस्तै कार्यक्रमहरू मध्येको एक हो । समाजले विशेष गजल बाचन कार्यक्रम अन्तर्गत काव्य श्रृखंलाको आयोजना गर्दै आएको छ । उक्त कार्यक्रमको हरेक श्रृखंलामा दर्शकहरूको उपस्थिति बाक्लिदै गएको छ । शनिवार वीरेन्द्रनगरमा आयोजित श्रृखंला ‘ग’ मा दर्शकहरूको उपस्थितिले जिल्ला समन्वय समिति सुर्खेतको सभाहल भरिएको थियो ।
उक्त कार्यक्रममा चार जना श्रष्टाले आफ्ना गजल बाचन गरेका थिए । गजलकार बाबु त्रिपाठी, महेन्द्रचन्द ‘महासागर’, देवकी निरौला र कृष्ण विरहीले आ–आफ्ना उत्कृष्ट गजल वाचन गर्दा उपस्थित दर्शकहरूले पनि ताली र बाही–बाहीले सभाहल गुञ्जयमान बनाए । गजल सुन्ने र सुनाउने संस्कृतिको विकास गर्न यस्ता कार्यक्रमहरू आयोजना गर्ने गरिएको आयोजक संस्था मध्यपश्मिाञ्चल विश्व–विद्यालय साहित्य समाजले जनाएको छ । समाजले कर्णाली क्षेत्रका गजलकारहरूका साथै अन्य क्षेत्रका राम्रा गजलकारहरूलाई एउटै मञ्चमा उभ्याएर उत्कृष्ट गजलहरू बाचनको कार्यक्रम आयोजना गर्दै आएको छ ।

प्रकाशित मितिः   २० श्रावण २०७५, आईतवार ०९:३५