जुम्लामा एमबीबीएस पढाउन पहल
साझा बिसौनी संवाददाता
जुम्ला, १९ साउन ।
जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ सुरु गर्न पहल थालिएको छ । प्रतिष्ठानले एमबीबीएस कक्षा सञ्चालन गर्न शिक्षक नियुक्ति कार्य सुरु गरेको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए ।
एमबीबीएसको पाठ्यक्रम निर्माण भइरहेको पनि काफ्लेले जानकारी दिए । यसका साथै चाँडै एमबीबीएस पढाइ हुनुपर्ने भन्दै डाक्टर गोविन्द केसीले जुम्लाबाट थालेको अनशनले पनि यसका लागि थप मार्गप्रशस्त गरेको हो । वि.सं. २०७५ वैशाख १ गते जुम्लामा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा पहिलो पटक सम्पन्न छैटो सिनेटको बैठक र तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा काठमाडौंमा सम्पन्न ५ औं सिनेटको बैठकले एमबीबीएस सञ्चालन गर्ने निर्णय गरेअनुसार यो वर्षदेखी डाक्टर पढाई गर्नका लागि तयारी थालिएको प्रतिष्ठानले जनाएको छ । डाक्टर पढाइ गर्नका लागि उच्च तहका आवश्यक शिक्षकहरू ल्याइने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले चिकित्सा क्षेत्रमा विद्यावारिधि गरेका, विशेषज्ञ शिक्षा हासिल गरेका आवश्यक शिक्षकहरूका लागि सूचना प्रकाशन समेत गरिसकेको छ ।
यसैगरी पठन–पाठनका लागि भौतिक संरचनाको निर्माण तत्काल निर्माण भएको तीन सय शैयाको अत्याधुनिक भवनमा गर्ने र बाँकी नयाँ संचरना निर्माणको पनि तीव्र काम भइरहेको छ । प्रतिष्ठानको एमबीबीएस कक्षा सञ्चालन गर्न यहाँका स्थानीय नागरिकले १५ सय रोपनी जग्गा निःशुल्क दिने घोषणा गरे अनुसार काम अगाडि बढिरहेको छ । प्रतिष्ठानले निर्माण गरेको दोस्रो बहुवर्षीय योजना समेत प्रधानमन्त्री ओलीको अध्यक्षतामा जुम्लामा बसेको बैठकमा स्वीकृत भएपछि एमबीबीएस अध्ययन, भौतिक संरचना निर्माणसहित झण्डै १० अर्ब बजेट प्रतिष्ठानका लागि पारित भइसकेको हो । सोही बजेट अन्तर्गत डाक्टर पढाइ हुने प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानमा स्नातक तहको ब्याचलर अफ मिडवाइफरी अध्ययन–अध्यापन प्रक्रिया सुरु भइसकेको छ । यसअघि स्टाफ नर्स र हेल्थ असिष्टेन्ट अध्यापन भइरहेको छ भने यो पटक स्नातक तहको मिडवाइफरी समेत अध्ययापन गर्न परीक्षार्थीहरू मागका लागि विज्ञापन समेत गरी सकिएको रजिष्ट्रार काफ्लेले जानकारी दिए । मिडवाइफरी सञ्चालन भएपछि प्रतिष्ठानको उचाइ एक तह बढेको छ भने कर्णालीसहित देशभरका विद्यार्थीहरूले प्रतिष्ठानमा अध्ययन गर्न पाउनेछन् । यसैगरी एमडीजीपीको पाठ्यक्रम र रिपोर्ट नेपाल मेडिकल काउन्सिलङिमा बुझाइ सकिएको छ ।
प्रतिष्ठानमा अबको एक महिनामा हरेक बिरामीको बेडमा अक्सिजन पाइपमार्फत् उपलब्ध हुनेछ । महँगो खर्च तिरेर नेपालगन्जबाट झिकाउने गरिएको अक्सिजन अब प्रतिष्ठानले जुम्लामै प्लान्ट सञ्चालन गरेर उत्पादन गर्ने भएको हो । यही भदौ महिनाभित्रै उत्पादन तयारी गरिएको र यो सञ्चालनमा आएपछि एकातिर अभाव नहुने र अर्कोतिर कर्णालीका अन्य जिल्लामा सप्लाई गर्ने उद्देश्य प्रतिष्ठानको रहेको छ । यसैगरी प्रतिष्ठानमा आईसीयू, ब्लड बैंक, बासिङ मेशिन, सिटी स्क्यान पनि यो वर्षभित्रै स्थापना प्रतिष्ठानले जनाएको छ । अत्यावश्यक अवस्थामा चाहिने आईसीयू स्थापना भएमा, सीटी स्क्यान, ब्लड बैंक स्थापना भएमा जुम्लाबाट बिरामीलाई रिफर गर्न स्थिति नआउने प्रतिष्ठानका अस्पताल निर्देशक धर्मराज गोसाईले बताए ।
यसैगरी डाक्टर गोविन्द केसीको जुम्लामा अनसनले पनि प्रतिष्ठानको उच्चस्तरको अध्ययनका लागि थप बल भएको छ । सरकार र केसीको सम्झौता अनुसार एमबीबीएस कक्षा सञ्चालन गर्ने सहमति समेत भएको छ । घरको खाना खाएर पनि डाक्टर पढाउन पाउने सपना नजिकिँदै गरेकोले कर्णालीवासीमा हर्ष छाएको छ । महंगो खर्च व्यहोरेर काठमाडौं र विदेशमा डाक्टर पढाउनुपर्ने बाध्यता अब टुंगिएको छ । स्वास्थ्य सेवाको अभावमा अकालमा ज्यान गुमाउने कर्णालीमा तत्कालीन समयमा कर्णाली प्राविधिक शिक्षालयले मध्यमस्तरको जनशक्ति सिएमए र अनमी उत्पादन गरेर गाउँ क्षेत्रमा राहात दिइरहेको समयमा अब डाक्टर पढाई र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सुरु गरेको विशेषज्ञ सेवाले स्वास्थ्यको नयाँ युग कर्णालीबाट आएको स्थानीय बासिन्दाले बताउँदै आएका छन् ।
प्रतिष्ठानका जन्मदाताका रूपमा मानिने कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले प्रतिष्ठानबाटै कर्णालीमा स्वास्थ्यको नयाँ युग सुरु भएको बताए । भण्डारीले नै वि.सं २०६८ सालमा संविधानसभा सदस्य भएको बेला यहाँका राजनीतिक दलहरूको सहकार्यमा संसदमा प्रतिष्ठानको ऐन २०६८ टेबुल गरेका थिए ।
साझा बिसौनी ।