सप्ताहव्यापी कार्यक्रम हुँदै

साझा बिसौनी संवाददाता
सुर्खेत, १८ साउन ।
कर्णाली प्रदेश स्थापनाका लागि शहादत प्राप्त गरेका शहिदहरूको सम्झनामा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिएको छ । शहिद यामबहादुर बिसीको नामबाट सञ्चालन गरिएको याम बिसी स्मृति प्रतिष्ठानले विभिन्न कार्यक्रमहरूको आयोजना गरेको हो ।
शहिदहरूको सम्झनामा गर्ने सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिबार (आज) बिहान ७ बजे पिपलचौतारीमा रक्तदान कार्यक्रम, साउन २० गते क्षेत्रीय अस्पताल कालागाउँमा अस्पताललाई आवश्यक सामग्रीहरू हस्तान्तरण, २१ गते देउती बज्यै सामुदायिक वनको चारकुनेमा वृक्षारोपण, २२ गते शहिद यामबहादुर बिसीको पिताको निजी निवासमा दृष्टिबिहीनहरूलाई भोजन, २३ गते अमरज्योति माध्यमिक विद्यालय नेवारेमा वक्तृत्वकला प्रतियोगिता, २४ गते कृष्ण संस्कृत साधारण मावि ईत्राममा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण र २५ गते जिल्ला समन्वय समितिको सभाहलमा तेस्रो शहिद स्मृति दिवस मनाउने कार्यक्रम रहेको प्रतिष्ठानका
सचिव भगवती बिसीले जानकारी दिइन् । शहिद याम बिसी स्मृति प्रतिष्ठान सुर्खेतले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको जनाएको छ । नेपाललाई संघीय संरचनामा लैजाने क्रममा सीमांकन गर्दा तत्कालिन मध्यपश्चिमलाई सुदूरपश्चिममा गाभेर यस क्षेत्रका जनताप्रति सरकारले अन्याय गरेको भन्दै छुट्टै प्रदेशको आन्दोलन भएको थियो । उक्त आन्दोलनमा सुर्खेतका याम बहादुर बिसी, टीकाराम गौतम र गोपालसिं रजवार तथा जुम्लाका हरिबहादुर कँुवरले ज्यान गुमाएका थिए । नेपाल सरकारले उनीहरूलाई शहिद घोषणा गरेपनि त्यो भन्दा अरु केही गर्न नसकेको शहिद परिवारहरू गुनासो गर्दै आइरहेका छन् ।

प्रकाशित मितिः   १९ श्रावण २०७५, शनिबार १४:५३