‘राजनीति नै मेरो लक्ष्य’
पञ्चपुरी नगरपालिका–१० तातापानी सुर्खेतका गणेश समीप ढकाल वि.सं. २०५२ सालमा जन्मिएका हुन् । बुबा रामप्रसाद ढकाल र आमा गौरादेवी ढकालको कोखबाट घरको कान्छो छोराको रुपमा जन्मिएका गणेश पढाइमा तेज दिमागका थिए । जनसिर्जना माध्यमिक विद्यालय तातापानी सुर्खेतबाट वि.सं. २०६८ सालमा एसएलसी उत्तीर्ण गरेका गणेशको सानैदेखि व्यवस्थापन पढ्ने सपना थियो । पढाइसँगसँगै साहित्यमा समेत रुची भएका गणेशको राजनीतिमा समेत उत्तीकै रुची छ । कलेज लाइफमा साहित्य विधामा साथीहरूबाट ‘नेभर सेकेन्ड’को उपाधि पाएका गणेश ढकालसँगले आफ्नो कलेज लाइफकाबारे साझा बिसौनी सहकर्मी सीता वलीसँग यसरी खुले ?
म सानैदेखि पढाइमा तेज दिमाखको थिएँ । पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि धेरै रुची राख्थें । म मध्यम वर्गीय परिवारमा जम्मिएका मान्छे । बुवाआमा कृषि गर्नुहुन्थ्यो । मेरो सानैदेखिको सपना व्यवस्थापन पढ्ने थियो । तर मेरा बुबाआमाको सपना भने मेरै सपनामा जोडिएको थियो । मैले जे पढ्न चाहान्थेँ त्यही मेरो बुबाआमाले पढाउन ईच्छुक हुनुहुन्थ्यो । मेरो लागि बुबाआमाको त्यत्ति ठूलो सपना थिएन ।
मेरो कलेजको पहिलो दिन
मेरो कलेजको पहिलो दिन एकदमै रमाइलो भयो । म जनसिर्जना माध्यमिक विद्यालय तातापानीबाट २०६८ सालमा एसएलसी पास गरी जनता उच्च माध्यमिक विद्यालय विद्यापुरबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरें । मेरो सानैदेखिको व्यवस्थापन पढ्ने सपना थियो र त्यो सपना पूरा भएकोमा म खुशी नै थिएँ । मेरो कलेजको पहिलो दिन म आज पनि सम्झन्छु । एक्लै कलेज गएको थिएँ, नर्भस भएर । तर कक्षा कोठामा गएपछि एकजना साथी पाएँ, एकदमै खुसी लाग्यो । कलेजबाट फर्किएपछि पनि म एकदमै खुसी भएको थिएँ । विद्यालयको पढाइ भन्दा कलेजको पढाइ एकदमै फरक पाइयो । विद्यालयमा सानो क्षेत्रमा पढाइ हुन्छ भने कलेजमा फराकिलो क्षेत्र समेटेर पढाइ गर्ने गरिन्छ । खोजमूलक तरिकाले कलेजमा पढाइ हुने गर्दछ । विद्यालय र कलेजको पढाइमा मैले पाएको फरक यही हो ।
म पढाइमा पनि उत्तीकै ध्यान दिने मान्छे । जिन्दगीमा पढ्नै नपरे जस्तो त कहिल्यै लागेन । मैले कलेज बाहेक पनि घरमा आवश्यकता अनुसार समय मिलाएर सधैं पढ्ने गर्दछु । म पढाइ बाहेक अतिरिक्त क्रियाकलाममा अत्याधिक रुची राख्थें । विद्यालयस्तरमा पढ्दा होस् वा कलेजमा प्रथम, द्वितीय र तृतीय सधैं भएँ तर कहिल्यै असफलताको महसुस भएन । म साहित्यको पनि विशेष गरी गजलमा रुची राख्ने मान्छे हुँ । त्यो सँगै मुक्तक र हाइकुमा पनि कलम चलाउँछु । अहिले म मध्यपश्मिाञ्चल विश्वविद्यालय सुर्खेतमा बीबीएस आठौं सेमेष्टारमा पढ्दैछु । मध्यपश्चिमाञ्चल विश्वविद्यालय साहित्य समाजको महासचिवको जिम्मेवारीमा रहेर काम गरिरहेको छु ।
कलेज एकदमै फराकिलो स्थान हो । मैले कलेजको नराम्रो पक्ष भेटेकै छैन । कलेजमा धेरै साथीहरूसँग चिनजान हुन्छ । सम्बन्ध फराकिलो गराउने ठाउँ कलेज नै हो । अनुसन्धान गर्ने स्थानको रूपमा पनि मैले कलेजलाई लिएको छु । कलेजमा ‘क्लास बंक’ गर्ने र भागेर हिँड्ने कहिल्यै गरिनँ । फिल्ममा पनि मलाई त्यति रुची भएन । फिल्म हलमा कहिल्यै गईन तर घरमा भने मोबाइलमा कहिले काहीं हेरिन्छ ।
कलेज पढाइ मात्रै गर्ने ठाउँ नभइ राजनीति गर्ने ठाउँ पनि भएको देख्दछु । कलेज लाइफबाटै राजनीति गरेर देशको राजनीतिको ठूलो पदमा पुगेको मैले देखेको छु । विभिन्न पार्टीका ठूला नेताहरूको राजनीतिको इतिहास कलेज लाइफबाट सुरु भएको हो । मलाई पनि राजनीति गर्ने ईच्छा छ । म विद्यालय स्तरमा पनि राजनीति गर्दै आएको मान्छे । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सदस्य पनि भएँ । मेरो भविष्यको लक्ष्य एउटा मात्रै छैन, धेरै छ । साहित्यलाई त मैले जिन्दगीमा कहिल्यै छोड्दिन र केही वर्ष जागिर खाएर राजनीतिमा फर्कने लक्ष्य छ । राजनीतिबाटै मैले समाज र देशको लागि केही गर्ने लक्ष्य बोकेको छु ।
साझा बिसौनी ।