मनै हर्ने लालीगुराँस, कहाली लाग्ने सडक

पृथ्वीबहादुर सिंह

खाना खानका लागि बिहानको ११ बजे गुराँसेमा ओर्लदा बसन्त ऋतुको आगमनसँगै गुराँसे लेकको चारैतिर लालीगुराँस मनै चुड्ने गरी रातो देखिएको थियो । त्यसैसँग गाँसेर नामाकरण गरिएको रहेछ, गुराँस गाउँपालिका । खानापछि तालपोखरी ओरालो लग्दा पूरै दैलेख जिल्लाका मनोरम डाँडाकाँडाहरू देखिए । उत्तरमा रहेको अग्लो महावु लेकका महावु जगतनाथले ऐतिहासिक कर्णाली भावभूमि रारा पर्यटन यात्रा सफल रहोस् भनि हात हल्लाइरहेको अनुभूति भयो ।
यात्रामा मित्रहरूसँग उत्तर फैलिएको दैलेखका वनबस्ती देखाउँदै भनें, सिंजा साम्राज्य हुँदै शितकालीन राजधानी हो दैलेख । त्यो समयमा मानवबस्तीका लागि उर्वर भूमि मानिन्थ्यो । सिंजाली राजाहरूले यही भूमिमा नेपाली खस भाषा विस्तार गर्दै नेपाली भाषाको सर्वप्राचिन अभिलेख वि.सं. १०३८, दुल्लू स्थापित गर्न पुगेका छन् । यहीं नै पञ्चकोशी जस्तो अनेकौं धार्मिक तीर्थस्थल स्थापना गरी त्यो समयको धार्मिक पर्यटकको मुख्य थलो थियो दैलेख । सिंजा साम्राज्य विस्तार गर्दा यही भू–भागबाट हिन्दु धर्म खस भाषा लिएर सिंजालीहरू पूर्वी नेपालतिर बस्ती विस्तार गरेका थिए । अहिले पनि पूर्वी नेपालका बस्तीहरूमा यही पूरानो बस्तीको नाम जोडेर जातको नामाकरण गरेका कयौं जातिहरू पाइन्छन् । त्यो समयमा यतिविधि विकास भएको स्थान भौतिक विकासमा पछाडी छ । प्रकृतिको शास्वत नियम के पनि रहेछ भने कहिले कुनै स्थानको विकास भइ शक्ति सम्पन्न हुने, कहिले कुनै हुने रहेछ ।
हाम्रो जीप दैलेखतिरको सडक छोडेर तल्लो डुङ्गेश्वरतिर मोडियो । तल डुंगेश्वर खोला फालहाल्दै कर्णाली नदी भेटाउन दौडिरहेको थियो । गुराँस गाउँपालिका सिमाना समाप्त हुँदा क्यासेटमा गीत बज्न्न थाल्यो,
म त लाली गुराँस भएछु ।
वनै भरी फूली दिन्छु ।
मनै भरी फूली दिन्छु ।
तल्लो डुङ्गेश्वर पुगेपछि कर्णाली किनारमा रहेका डुङ्गेश्वर बाबालाई टाढैबाट नमन चढाएँ । कर्णालीमा विस्तारै पानी उर्लन थालेको थियो । कर्णाली नदीका वरिपरि किनारका वनहरूमा बसन्तको बहारसँगै पुरानो पात झरेर नयाँ पालुवा लाग्न थालेका थिए भने तल कर्णाली नदी निलो चोली लगाएर कही लतमग्न सुतेर कही सुसाउँदै हामफल्दै दौडिरहेकी थिइन् । हामीहरू भने पौराणिककालमा धार्मिक ग्रन्थमा वर्णन भए जस्तै स्वर्गको डिलमा वायुपंखी घोडा सवार भइ देवगणहरू उडे जस्तै स्वर्गकी अप्सरा रारा अवलोकन गर्न भू–स्वर्गका मनुवा भइ उन्मुक्ति उडिरहेको अनुभूति गरिरहेका थियौं । यात्राको क्रममा मैले सिर्जना गरेको गीत सामूहिक रूपमा गएका थियौं,
गयौं वरै चैतको मै’ना भुइमा पात रुखमा केही छैन ।
जति दुःख परे पनि माया वैरीले देख्ने गरी रुन हुँदैन ।
सिम्ताबाट बुलबुले हुँदै माया रारा तालको
मोटर चल्यो गडी चल्यो जुम्ला कालिकोटको ।
दिउँसोको दुई बजे राकम कर्णाली सानो बजार पुगियो । मलाई भने विगतमा डा. निर्मोही व्याससँग महावुदेखि खाँडाचक्र कालिकोटको पैदल यात्रा गर्दै यही बजारमा खाएको झल्को ताजगी भएको थियो । यस पटक भने मोटर सडक मुगुको रारासम्म जोडिएकोले रारा तालको सौदर्यता अवलोकन गर्न सौभाग्य मिलेकोले हृदयबाट प्रफूल्ल भएको थिएँ । राकमकोट पछि अब हामी दैलेख र कालीकोट सीमानाबाट साँघुरो र चट्टानै–चट्टानको भिरालो सडक हुँदै तल कर्णाली बेगले सुलेली हाल्दै दौडिरहेको भागतिर गइरहेका छौं । हाम्रो वडा अध्यक्ष भीमबहादुर रावतले भने, ‘यही सडकको भागले वर्षेनी कैयौं यात्रीहरूको अकाल मृत्यु बोलाइरहेको हुन्छ । त्यही भएर कर्णाली राजमार्गलाई मृत्युमार्ग भनेर स्थलमार्गद्वारा पर्यटकलाई तर्साउने कार्य भइरहेकोले राज्यका तिनै अङ्ग मिलेर सडक यातायात चल्ने बनाउन सक्नुपर्छ तब न कर्णालीका हिमाली जिल्लाको मानव जीवन सुखी सम्पन्न हुने थियो ।’
म आजकल प्रायः नेपालीहरूले सिर्जना गरेका यात्रा साहित्य बढी पढ्छु । नरहरिनाथ बाहेक प्रायः जागिरेहरूले स्वदेश तथा विदेशी भूमिको यात्रा साहित्य लेखेका छन् । स्वदेशी भन्दा विदेशी यात्रा कति मिठास भरेर पस्केका छन् । कलात्मक सूचना मुलुक तरिकाले यात्रा साहित्य पस्केका छन् । त्यस्तै कला हुनुपर्दो रहेछ यात्रा साहित्य पस्कदा तब रमाइलो हुँदोरहेछ यात्रा पढ्दा । धेरै यात्रा त युरोप अमेरिका नै लेख्न पुगेका छन् । हाम्रो जस्तै भूपरिवेष्ठित देश रहेछ स्वीजरल्याण्ड पहाडहरूमा सुरुङ्गमार्ग निर्माणले पहाडबाट फुत्तफुत्त रेल चल्ने, मोटर सडठकहरू पनि कति फराकिला आकाशमार्ग समेत आधुनिक विकास गरेर वर्षमा लाखौं लाख पर्यटक भिœयाएर राज्यको आर्थिक स्रोत बनेको छ । प्राकृतिक सम्पदा अबलोकन गराएर राज्यले आम्दानी लिइरहेको छ । यस्ता धेरै मुलुकहरू युरोपमा छन् भने पहिल्लो पटक चीनले पर्यटकलाई खुल्ला गरेर ठूलो आम्दानीको स्रोत बनाउन पुगेको छ । थाइल्याण्ड त यौन खुल्ला गरेर यौन पारखी पर्यटक भिœयाएर राज्यले यौनकरबाट फड्को मारेको राष्ट हो ।
मलाई लाग्छ मानवीय सिर्जना र श्रमले कति विकट प्रकृतिमाथि विजय हासिल गरी भौतिक विकास गरिदिदोरहेछ । संसारमा असम्भव भन्ने कुरा केही छैन जस्तो गरी विकास गरिरहेका छन् । श्रम र मानव मस्तिस्कले म आफै कति चकित हुन्छु, भौत्तिक मानवीय विकास हेरेर । एक समयमा मानिस एउटा समूह स्थानमा सीमित थियो । त्यो समयका धार्मिक ग्रन्थहरू पृथ्वीका केही भू–भागको मात्र वर्णन गरेको इतिहास पाइन्छ । अहिले विश्व नै एउटा गाउँमा परिणत भएको छ, पलभर कुनै घटनाको खबर वा मनोरञ्जन आफ्नै हाते मोबाइलबाट लिन पुगेका छौं । त्यही भएर पनि अहिलेका मानव संसारको पर्यटन गरेर नयाँ–नयाँ अनुभव संगाल्न अगाडि बडिरहेको छ ।
हामीहरू जितेगढाबाट अघि बडिरहेको समय साथमा रहनुभएकी कृष्ण सिंह पर देखाउँदै भन्नुभयो ‘यो कर्णाली यातायातको लागि अत्यन्तै दुर्घटना हुने स्थानमा पर्दछ, तल कणाली माथि चट्टानैचट्टान त्यहीमा साँघुरो सडक क्रसिङ्गमा अलिकति तलमाथि भयो भने गयो जिन्दगानी भन्दा म हतारिएर हेर्न खोज्दा कहालिएर थुचुक्क घोप्टो परेको थिएँ । कति कहाली लाग्दो स्थान पनि मानवीय श्रमले सजिलो बनाउन सक्छ भने अब यसलाई साइड कटिङ्ग गरेर छिटो विस्तार किन नगरेका होलान् ? अब हामीले पनि राज्यलाई यस्ता सडक विस्तार गर्न पनि ध्यान आकर्षण गर्न कर्णालीबासीले पनि बोल्नुपर्दछ । बसका ड्राइभर भाइ चुँडामणि अधिकारीले थपे, ‘चुनावको समयमा गरेका आफ्नै बाचा भुल्ने गरेका छन् । नीज स्वार्थ पूर्ति गर्न दललाहरूको पछि लाग्ने प्रवृत्ति नेताहरूमा छ । यस्तो प्रवृत्ति कर्णालीमा बढी नै छ । त्यही भएर पनि सिर्जनाको प्रहार गर्न छोड्नु हुँदैन साहित्यकार ज्यू ।’
जै खोलाबाट दैलेखको सीमाना नाघेर कालिकोटतिर बढिरहेका थियौं त्यउी पाखाबाट तल कर्णाली तिला दोभान लालीघाट देखियो । वि.सं. २०६० सालमा त्यही घाटबाट कोकीबाट कर्णाली तरेको याद आयो । कर्णाली पारी कालिकोट तिरका गाउँबस्तीका पाखाहरू यो वर्ष नाङ्गै तेर्सिरहेका थिए । प्रकृतिले मेरो देशलाई यति धेरै बहुमूल्य जल, जमिन जंगल, जटिबुटी उपहारको रूपमा दिएर पनि हामी नेपालीहरू त्यसको सदुपयोग गर्ने योजना नजान्दा २१ औं शताब्दी लाग्दो विश्व बजारको घुम्ती यात्रा भाडा श्रम बेच्न राज्यले युवाहरू युवतीहरूलाई भौतारिरहने बनाइरहेको छ । सेरीघाट तिलानदीको बेलीब्रिज पुल पार गरेर ४ बजे खाँडाचक्र हिलसाइड होटलमा जीप रोकियो । आज गाउँपालिका प्रमुख बसेको जीप हाम्रो जीपलाई भेटाउन नसकेर आधा घन्टा ढिलो गरेर आएको थियो ।
मेरो मथिंगलमा भने विगतको यात्राको अनुभूतिहरू खेलिरहेका थिए । त्यो समयका घरगोठमा रहेका सरकारी कार्यालय आफ्नै पक्की भवनमा सरेका थिए । पाहुना बस्ने होटलहरू पक्की ठूला–ठूला ठडिसकेका देख्दा केही त विकास भएको छ जति अरु मुलुकले द्रुतगतिले विकास गरे त्यो भएको छैन । यदि विकसित युरोप भ्रमणका क्रममा त्यहाँको विकासको गति हेरेर फर्किेर कालिकोटको जनजिवन हेर्दा युगिन पुरानो भौतिक विकास संस्कृतिभित्र रहेको अनुभीति भइरहेको पनि थियो । हाम्रो कर्णाली प्रदेशको संस्कार संस्कृतिलाई प्रगतिशीलताको जलप लगाएर भौतिक विकासले सजाउने हो भने प्रकृतिको उपहारको रूपमा दिएका अमूल्य जल, जंगल, गडिबुटी, जमिनमा युवालाई भाडामा श्रम बेच्ने चलनको अन्त्य गरेर यही भूमिमा श्रम खनाउने भने अमूल्य जडिबुटीबाट औषधि उत्पादन, पशुपालन, अर्गानिक कृषि उत्पादन गरी विदेश पैठारी गरी आम्दानी गर्ने स्रोतहरू छन् । त्यस्तै उच्च पहाड नदी दोभान पाटनहरूमा भौतिक साधनहरूले सजाउने प्रचार–प्रसार गर्ने हो भने दर्शनियस्थल भएर पर्यटकबाट प्रशस्त आम्दानीको स्रोतबाट सम्पन्न कालिकोट बन्नसक्छ भनि टोलीसँग गफिएको थिएँ ।
चिया खाजा खाएर खाँडाचक्रबाट हाम्रो यात्रा अगाडि बढ्यिो । दक्षिणमा रहेको हाउडी महावु र उत्तरको टाउको माथि रहेको चुली मालिका उच्च लेकहरूले रारा पर्यटन वर्ष उद्घाटन महोत्सव सफलको यात्रा गरेर त्यसको सन्दरताको वखान देश विदेशमा फैलाउन यात्रा सफलताको शिर निहुराएर हात हल्लाइरहेको अनुभूति गरिरहेको थिएँ । तल तिला कर्णाली ठूला–ठूला ढुङ्गामाथि हामफाल्दै भुल्का छोड्दै दौडिरहेकी थिइन् । सडक किनाराका
भीरहरूमा पनि स–साना चानचुन पसलहरू कहीं कहीं देखिन्थे । माथिबाट उर्लेर आएका खोलाहरू तिलामा बिलाउँथे ।
कालिकोट लागेदेखिको भिरालो र साँघुरो सडकयात्रा राँचुली गाउँपालिका सीमाना सकिएर जुम्ला लागेपछि अलि सडक फराकिलो भएर गइरहेको थियो । बेलुका गोरुचौर होटल दर्शनमा बास बिसाउन पुग्यौं । स्थानीय परिकार खुवाउन साहुजीलाई भनियो । केही बेरमा रातो मार्सीधानको भात, सिमीको दाल, आलूको तरकारी, खसीको मासु, भांगगाको चटनी पस्कदै साहुजीले भने, ‘यी सबै खानाका परिकार स्थानीय अर्गानिक हुन्, पेटभरी खानु, अलिकति न्यानो गर्ने भए जुम्ला स्याउको मार्फा छ ल्याउकी ?’
(क्रमश अर्को साता )