छिन्चु–जाजरकोट सडक अवरुद्ध
साझा बिसौनी संवाददाता
सुर्खेत, १७ साउन ।
छिन्चु–जाजरकोट सडक खण्डको बन्गाड खोलामा आएको बाढीका कारण दुई दिनदेखि यातायात सेवा अवरुद्ध भएको छ । सल्यान जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका–१ सल्लीबजारमा रहेको बन्गाड खोलामा दुई दिनदेखि लगारतार बाढी आएपछि यातायात सेवा अवरुद्ध भएको हो ।
खोलामा बाढी आएपछि केही सवारी खोला पार गर्दा खोलामै फसेपछि नगरपालिकाको डोजरले उद्धार गरेको छ । काठमाडौं, नोपलगन्ज, सुर्खेत हुँदै विभिन्न स्थानबाट आतव–जावतको लागि हिँडेको गाडीहरू खोलाका कारण गन्तव्यमा पुग्न नसकेको इलाका प्रहरी कार्यालय सल्लीबजार जनाएको छ । बाढीले सडक अवरुद्ध पारेपछि गाडीमा सवार सयौं यात्रुहरू अलपत्र परेका छन् । डोजरको माध्यमबाट केही ठूला गाडीलाई पास गर्न प्रयास गरे पनि उक्त प्रयास सफल नभएको स्थानीय दीपक यरीले बताए । उनले भने ‘यो समस्या आजको मात्रै हैन प्रत्येक वर्ष भोग्दै आइरहेको समस्या हो । खोलामा फसेका गाडीलाई डोजरको माध्यमबाट उद्दार गरियो । केही ठूला गाडीलाई डोजरको सहायताले पास गराउन सकिन्छ की भनेर दिनभर प्रयास गरियो तर सफल हुन सकिएन ।’
निरन्तर वर्षा भइरहेका कारण बाढी कम हुने सम्भावना तत्काल कम भएको यरीको भनाइ रहेको छ । पक्की पुलको जिम्मा पाएको निर्माण कम्पनीले निर्माणमा ढिलाइ गर्दा यस्तो समस्या आफूहरूले भोग्नुपरेको यात्रुहरूको भनाइ रहेको छ । यातायातको सेवा अवरुद्ध भएका कारण गन्तव्यसम्म पुग्न निकै कठिन भएको यात्रुहरूले बताएका छन् ।
साझा बिसौनी ।