भेरी–बबई डाइभर्सनमा तोडियो सुरुङको ‘रेड जोन’

साझा बिसौनी संवाददाता
सुर्खेत, १७ साउन ।
भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणमा चुनौतीपूर्ण मानिएको स्थान ‘रेड जोन’ तोडिएको छ । यसअघि आयोजनाको भौगर्भिक सर्वे गर्ने क्रममा सुरुङ खन्नका लागि निकै जोखिम र कठिन हुने आंकलन गरिएको भागबाट मेशिनले सहज रूपमा सुरुङ खनेको हो ।


सुरुङ निर्माणमा प्रयोग भइरहेको विशेष प्रविधियुक्त टनेल बोरिङ मेशिन (टीबीएम) रेड जोन पार गरेर अगाडी बढेसँगै अब आयोजनाको काम तोकिएकै अवधिमा सम्पन्न हुने सम्भावना बलियो बनेको छ । भेरी नदीको पानीलाई सुर्खेत र बर्दियाको सीमानामा रहेको बबई नदीमा खसालेर विद्युत उत्पादन र सिँचाइमा प्रयोग गर्ने उद्देश्यले सुरु भएको यो आयोजनामा हाल सुरुङ निर्माणका काम भइरहेको छ ।
सुरुङ निर्माणका क्रममा तोलीखोलामा पर्ने भागलाई प्राविधिकहरूले रेड जोनका रूपमा राखेका थिए । यो खोलाको मुनी पानीको तलाउ वा कडा चट्टान नै हुनसक्ने र यसले सुरुङ खन्ने कार्यलाई अवरोध गर्ने आशंका गरिएको थियो । तर नेपालमै पहिलो पटक प्रयोगमा ल्याइएको टीबीएम मेशिन उक्त रेड जोन पार गरेर अगाडि बढेको छ । मेशिनले दैनिक ५१ मिटरका दरले सुरुङ खन्ने काम गरिरहेको आयोजनाका प्रशासन प्रमुख नृपजंग शाहीले बताए । उनले भने, ‘तोलिखोलाको दुई सय मिटर मुनीको भागलाई रेड जोनका रूपमा लिएका थियौं, तर मेशिनले त्यो क्षेत्र सफलतापूर्वक पार गरेको छ । अब आयोजना बन्ने निश्चित भयो, कठिन र चुनौतीपूर्ण मानिएको काम सफल भयो ।’
उनका अनुसार हालसम्म ६ हजार तीन सय ५० मिटर सुरुङ खन्ने काम सकिएको छ । यही रेड जोन पार गर्न नसकिने त्रासका कारण आयोजनाले अन्य काम थाती राखेर सुरुङ निर्माणको कामलाई पहिलो प्राथमिकता दिएको थियो । ‘सुरुङ निर्माणको काम सफल हुने वा नहुने भन्ने आशंका नै थियो, त्यहीकारण पावर हाउस र बाँध निर्माणको प्रक्रिया सुरु नै गरिएको थिएन’ प्रशासन प्रमुख शाहीले भने, ‘अब जोखिम मानिएको काम सफल भयो, आयोजनाका अन्य पक्रियाहरू अब धमाधम अगाडि बढ्छन् । उनका अनुसार अब बबईमा पावर हाउस र भेरी नदीको चिप्लेस्थित बाँध निर्माणको काममा लागि टेण्डर प्रक्रिया अगाडि बढाइनेछ । ‘हामीलाई आशंका र त्रास लागेको क्षेत्र क्रस गरेर मेशिन अगाडि बढेको छ, जीओलोजीकल सर्वेमा तोली खोलामा जोखिम देखिएको थियो’ आयोजनाका निर्देशक शिवकुमार वस्नेतले भने, ‘तर मेशिनले उक्त क्षेत्र पार गरेको छ, अब सुरुङ निर्माणको काम रफ्तारमा अगाडि बढ्छ ।’
चुरे क्षेत्रको पहाडमा १२ किलोमिटर सुरुङ खनेर भेरी नदीको पानी बबई नदीमा खसाल्ने योजनासहित अहिले सुरुङ खन्ने काम धमाधम भइरहेको छ । १२ किलोमिटर सुरुङमध्ये ६ हजार एक सयदेखि ६ हजार तीन सय मिटरको क्षेत्रलाई रेड जोनका रूपमा लिइएको थियो । मेशिनले यो क्षेत्र पार गरेपछि आयोजनाका निर्देशक वस्नेतले खुशी व्यक्त गरे । उनले भने, ‘अब आयोजनाको कामले थप गति लिन्छ, हामी अब बाँध निर्माण र पावर हाउस बनाउने काम सुरु गर्नेछौं ।’ आयोजनाले अब प्रभावित क्षेत्रको जग्गा अधिकरण गर्ने, त्यसको क्षतिपूर्ति वितरण तथा मूल्याकंन गर्ने र आवश्यक पूर्वाधार निर्माणका काम थालिने जनाएको छ । सुर्खेतकोे भेरीगंगा

प्रकाशित मितिः   १८ श्रावण २०७५, शुक्रबार १५:०५