चार करोड जरिवाना असुल हुन बाँकी
साझा बिसौनी संवाददाता
सुर्खेत, १६ साउन ।
कर्णाली प्रदेशका पाँच जिल्लाका अदालतमा चार करोडभन्दा बढी जरिवाना असुल हुन बाँकी रहेको पाइएको छ । विभिन्न मुद्दामा अदालतले जरिवाना फैसला गरेको मध्ये चार करोड १४ लाख ४१ हजार ६८ रूपैयाँ रकम वक्यौता उठाउन बाँकी रहेको हो ।
उच्च अदालतको तथ्यांक अनुसार सुर्खेत जिल्ला अदालतमा दुई करोड ६० लाख ४१ हजार, दैलेख जिल्ला अदालत २८ लाख ८८ हजार, जाजरकोट जिल्ला अदालतमा ६४ लाख ९१ हजार, सल्यान जिल्ला अदालतमा २८ लाख ४६ हजार र रुकुम जिल्ला अदालतमा ३१ लाख ७४ हजार रूपैयाँ बराबरको जरिवाना असुल हुन बाँकी छ । अदालतले दोषी ठहर गरी जरिवाना तोक्दा पनि सरकारले कानुन कडा रूपमा लागू गर्न नसक्दा जरिवाना असुली हुन नसकेको हो । जसले गर्दा फरार अभियुक्तहरूको संख्या बढ्दो रहेको उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरिकुमार पोखरेलले बताए । अदालतले दोषी ठहर गरे पनि सजाय नभोगेका र जरिवाना नतिरेका फरार अभियुक्तहरू खोज्न प्रहरी प्रशासनलाई आग्रह गरे पनि कार्यान्वयनमा आउन नसकेको उनले बताए । मुख्यन्यायाधीश पोखरेलले दिएको जानकारी आर्थिक वर्ष २०७४÷०७५ मा दुई हजार ६ सय ७५ मुद्दा पाँच वटा मुद्दा जिल्ला अदालतमा परेका थिए । जसमा दुई हजार २५ मुद्दा फैसला गरिएको छ भने ६ सय ५० मुद्दा फैसला हुन बाँकी छन । उच्च अदालत सुर्खेतले भने असार मसान्तसम्म चार सय ९१ मुद्दा मध्ये चार सय ३६ मुद्दाको किनारा लगाइएको जनाएको छ । अदालतमा दर्ता भएका मुद्दा ६४ मुद्दा जिम्मेवारी सारिएको छ । अदालतले आठ जनालाई दोषी ठहर गरी आठ जना पुरुषलाई सजायाका लागि कारागार राखिएको छ ।
उच्च अदालतका अनुसार कर्णाली प्रदेशका पाँच जिल्लामा तीन हजार पाँच सय वर्ष कैद भुक्तान हुन बाँकी रहेको छ । जिल्ला अदालतले कैद सजायको फौसला गरे पनि दोषी फरार हुँदा तीन हजार पाँच सय ६४ वर्ष कैद भुक्तान हुन नसकेको हो । अदालतको फैसला अनुसार दोषि कारवाहीको दायरामा आउन नसक्दा कैद भुक्तानमा चुनौती बनेको हो । फैसला कार्यान्वयन सम्वन्धि कैदतर्फ पाँच जिल्लामध्ये सुर्खेत जिल्ला अदालतबाट एक हजार तीन सय ६८ वर्ष आठ महिना २९ दिन, दैलेख जिल्ला अदालतबाट चार साय ८१ वर्ष तीन महिना १० दिन, जाजरकोट जिल्ला अदालतबाट चार साय १७ वर्ष एक महिना १५ दिन कैद भुक्तान हुन बाँकी छ । यस्तै, सल्यान जिल्ला अदालतबाट आठ सय १६ वर्ष ६ महिना सात दिन, रुकुम जिल्ला अदालतबाट चार सय ८० वर्ष ११ महिना ६ दिन कैद भुक्तान हुन बाँकी रहेका उच्च अदालत सुर्खेतले जनाएको छ ।
साझा बिसौनी ।