समृद्धिको बाटो र आधारहरू

रविकिरण हमाल
संविधानसभाबाट नेपालको संविधान बनेपछि सबै राजनैतिक दलहरू र आम जनताको चाहाना सुख र समृद्धि नै रहेको प्रष्ट छ । प्रायः सबैको जिब्रोमा झुन्डिएको शब्द समृद्धिको बारेमा केही चर्चा गरौं, आखिर समृद्धिका आधारहरू के–के हुन् ? के–के भयो भने समृद्धि हासिल हुन्छ ?
चुनाव ताका सबै दलका नेताहरूले विकास र समृद्धिको सपना बाडे । हुन त पञ्चायत कालमा पनि विकासको मुल फुटाउने कुरा नभएका होइनन् । केही सीमित शासक र तिनका आसेपासेको मात्र जीवनस्तर बदलिदैमा त्यो देश विकास भएको मानिदैन, हामीले चाहेको समतामूलक विकास र समृद्धि हो । समृद्धिका मुख्य आधारहरूबारे पनि केही चर्चा गरौं ।
आर्थिक वृद्धि
समृद्धिको मुख्य आधार नै तीव्र आर्थिक वृद्धि हो । राष्ट्रिय औद्योगिक पूँजीको विकासका लागि राज्य र निजी क्षेत्रले प्रविधि, पूँजी र श्रमको समायोजन गर्नुपर्छ । देशको ढुकुटी भरी भयो भने मात्र सरकार सबैलाई बाँड्न सक्छ, मुख्यतः रोजगारी र सामाजिक न्याय सहितको नीतिले विकासको प्रतिफल सबै वर्ग, क्षेत्र र समुदायमा समन्यायिक ढङ्गले पुग्छ । ऊर्जा, यातायात, शिक्षण संस्था, सञ्चार लागयतका पूर्वाधारलाई निर्माण गर्न स्वोदेशी तथा विदेशी प्रविधि र लगानीलाई विशेष जोड गर्नुपर्छ । रेमिटेन्सको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा खर्च भइरहेको छ । विदेशमा बस्ने नेपालीहरूलाई ऊर्जा, कलकारखाना लगाएतका ठाउँमा शेयर लगानीको व्यवस्थापन गर्न आवश्यक छ । लगातार दुई अंकको आर्थिक वृद्धि दर हासिल नै प्रमुख लक्ष्य हुनुपर्छ ।
मानवीय विकास
खासगरी मानवीय विकासको कुरा गर्दा मानव विकास सूचकांकलाई आधार मान्ने गरिन्छ । जनताको प्रतिव्यक्ति आय, औसत आयु, साक्षरता लगायतका विषयलाई मुख्य मापदण्ड बनाइएको छ । प्रतिव्यक्ति आयलाई हरेक देशका जनताको जीवनस्तरसँग पनि तुलना गरिएको हुन्छ । नेपालको प्रतिव्यक्ति आम्दानी भर्खरै एक हजार डलर पुगेको छ, जो विकसित मुलुकभन्दा १२ गुणा कम हो । नेपाली जनताको औसत आयु ७१÷७२ रहेको छ तर हामीले स्वस्थ आयुको कुरालाई गम्भीरताका साथ लिनुपर्छ । त्यस्तै शाक्षरता ७४ प्रतिशत छ, सामान्य लेखपढ गर्ने मात्र साक्षरताको मापदण्ड बन्नु हुँदैन । जीवन निर्वाह गर्ने सीप, ज्ञान भएका साक्षर नागरिक उत्पादन गर्नु नै राज्यको दायित्व हो । शिक्षाले नागरिकलाई व्यावसायिक मात्र होइन नैतिकवान पनि बनाउनुपर्छ । आफ्नो देश र समाजका समस्याहरू पहिचान गरेर समाधान गर्न ‘इनोभेटिभ आइडिया’ सिर्जना गर्ने खालको शैक्षिक प्रणालीको विकास जरुरी छ ।
दिगो विकास
दीर्घकालीन विकासको अवधारणलाई नेपालले पनि आत्मसात् गरिसकेको छ । विकास निर्माण टिकाउ हुनुपर्छ, वातावरण र पर्यावरणलाई ध्यानमा राखेर हुने निर्माणले नै भावी पुस्ताका लागि जिम्मेवारी वहन गर्नु हो । हामीले थ्री आर अर्थात् (रि–युज, रिन्यू र रिसाइकल) लाई व्यवस्थित गर्न सकेमा मात्र उपलब्ध स्रोत साधनबाट अधिकतम फाइदा लिन सकिन्छ । हाइड्रो र सोलार ऊर्जालाई हामीले प्रमुख प्राथमिकता राख्नुपर्छ । नेपालमा उद्योग, यातायात सञ्चालनका लागि ऊर्जाको मुख्य स्रोत नै हाइड्रोपावर हो । दक्षिणी एसियामा पानीको मुख्य मुहान नेपालको हिमाली क्षेत्रमा जलवायु परिवर्तनको गम्भीर असर देखापर्ने खतरा छ । जलवायु परिवर्तनले पग्लने र प्रदुषित हुन्छ । ‘थर्ड पोल रिजन’ लाई जोगाउन सबै देशसँग सहकार्य आवश्यक छ । गरिबी, बेरोजगारी, पुरुषप्रधान समाज, लैंगिक विभेद, क्षेत्रीय असमानतालाई समाधान गर्न सबैको समतामूलक सहभागिता र अपनत्व हुनेखालका विकास निर्माणलाई नै गति दिनुपर्नेमा सरकार गम्भीर भएर लाग्नुपर्छ ।
खुशीशास्त्र
२१ औं शताब्दीमा भौतिक विकास मात्र समृद्धिको मापक हुन सक्दैन । आत्मिक सन्तुष्टि पनि उत्तिकै महŒवपूर्ण हुन्छ, खेलकुद तथा मनोरञ्ज जस्ता कुरामा विशेष ध्यान दिनुपर्छ । रास्ट्रसंघले पनि योग दिवस मनाउन थालेको छ । योग, ध्यान केन्द्रहरू स्थापना हुनुपर्छ । नाँचगान तथा संगीत कार्यक्रम, धार्मिक महत्सव, मेला जस्ता कुराहरूले विभिन्न खेमामा विभाजित समाजलाई जोड्ने, एकतामा बाँध्ने काम गर्छ । हाम्रा नागरीक पर्यटनका लागि कति देश विदेश घुम्छन् भन्ने कुरा पनि उत्तिकै महŒवपूर्ण हुन्छ ।
हामी अर्को के कुरामा पनि प्रष्ट हुुनुपर्छ भने समृद्धि भनेको एउटा ऐतिहासिक प्रक्रिया हो, एउटा परिघटना मात्र हैन । मानिसमा रहेको उत्पादनशील र सिर्जनशील क्षमताको अधिकतम प्रस्फुटन र त्यसको समन्यायिक वितरण र उपभोगबाट सामाजिक मान्छेले प्राप्त गर्ने सन्तुष्टिको आधिक्यीकरण नै समृद्धि हो । त्यो स्वतः नै देश र कालसापेक्ष हुन्छ र निरन्तर परिवर्तनशील हुन्छ । भर्खरै अर्ध–सामन्ती कृषि प्रधान अर्थतन्त्रबाट व्यापारिक पूँजीवाद हुँदै औद्योगिक पूँजीवादतर्फ संक्रमण गर्न लागेको नेपाली समाजमा पहिले पूँजीवादी उत्पादक शक्तिहरूको विकास गरेर मात्र समाजवादको बाटो तय गर्न सम्भव हुन्छ ।