सरकारविरुद्ध कांग्रेस सडकमा

साझा बिसौनी संवाददाता
सुर्खेत, १५ साउन ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकारविरुद्ध सडक आन्दोलन सुरु गरेको छ । वर्तमान सरकार तानाशाही बनेको, दुई तिहाइ बहुमतको आडामा कानुनको पालना नगरेको र देशमा महँगी बढेको भन्दै कांग्रेसले सडक आन्दोलन थालेको हो । सरकारकै विरोधमा कांग्रेसले मंगलवार सुर्खेतसहित देशभर प्रदर्शन गरेको हो ।
पार्टीको केन्द्रिय कार्यक्रम अनुसार मंगलवारदेखि कांग्रेस सुर्खेतले पनि आन्दोलन थालेको हो । सरकार अधिनायकवादी भएको आरोप लगाउँदै कांग्रेसले वीरेन्द्रनगरमा प्रदर्शन गरेको हो । सरकारले संविधानको मर्मअनुसार जनतालाई लोकतन्त्रको अनुभूति गराउन नसकेको भन्दै कांग्रेसले चरणवद्ध रूपमा सरकारविरुद्ध आन्दोेलन सुरु गरेको हो । वीरेन्द्रनगरमा सम्पन्न विरोध सभामा कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले लोकतन्त्रको रक्षाका लागि कांग्रेसले सडकदेखि संसदमा संर्घया गर्ने बताए ।
वर्तमान सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओली प्रजातन्त्रको पक्षधर नभएको आरोप उनले लगाए । उनले संविधान मान्ने पक्षमा वर्तमान कम्युनिष्ट सरकार नभएको दाबी पनि गरे । ‘कम्युनिष्टहरू एक भएपछि दुई तिहाई बहुमतको दम्भ देखाउँदै छन्’ पूर्वमन्त्रीसमेत रहेका थानीले भने, ‘नेपालको संविधान अनुसार सभामुख र उपसभामुख एउटै पार्टीको हुन नपाउने व्यवस्था छ । तर वर्तमान सरकार अटेरी गरिरहेको छ, यो एउटा उदारण हो ।’ उनले कांग्रेससँग वर्तमान सरकारलाई टक्कर नगर्न चेतावनी दिए । ‘वर्षाै शासन गरेका राणाहरूले कांग्रेसँग टक्कर लिएकाले सकिए, पञ्चायत र राजतन्त्र ढाल्न कांग्रेस अग्रसर भयो’ उनले प्रधानमन्त्री ओलीलाई चेतावनी दिँदै भने, ‘कम्युनिष्ट पार्टी जोगाउने हो भने केपी ओली र प्रचण्डले जनताको पक्षमा काम गरुन्, नत्र अब सकिने पालो कम्युनिष्टहरूको हो ।’
उनले नेकपा एमाले र माओवादीबीच भएको एकतालाई फुटेको गाग्रोको संज्ञा दिए । प्रचण्डको स्वभाव चञ्चल भएको भन्दै यो एकता धेरै नटिक्ने दाबी गरे । यस्तै कांग्रेस सुर्खेतका पूर्वपार्टी सभापति तप्तबहादुर विष्टले वर्तमान सरकार तानाशाही भएको आरोप लगाए । उनले सरकारको ज्यादति नेपाली जनताले थेग्न नसकेको बताए । सरकारविरुद्ध सशक्त रूपमा लाग्न कांग्रेस कार्यकर्तालाई उलने निर्देशन दिए । ‘स्थानीयदेखि संघीय सरकारसम्म कम्युनिष्ट नेतृत्वले गरेका गतिविधि नियाल्दै कांग्रेसले अवको पाँच वर्षपछि नेतृत्व लिने हो’ उनले भने, ‘त्यसका लागि कांग्रेसले सशक्त रूपमा प्रतिपक्षको भूमिका निर्वाह गर्छ ।’ कांग्रेस वीरेन्द्रनगर नगर कार्य समितिका सभापति देवकुमार सुवेदीले वर्तमान सरकारले संघीयता कार्यान्वयनमा स्थानीय सरकारलाई सघाउन नसकेको बताए । सरकारले न्यायालय र व्यक्तिको स्वतन्त्रतामाथि हस्तच्छेप गर्न नपाइने भन्दै उनले लोकतान्त्रिक अधिकार जनताले उपभोग गर्न पाउनुपर्ने बताए ।
यस्तै नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष डिल्लीराज सुवेदीले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानले परिकल्पना गरेको लोकतान्त्रिक पद्धति अनुसार सरकार चल्न नसकेको बताए । उनले कांग्रेसबाहेक कम्युनिष्टले लोकतन्त्रको रक्षा गर्न नसक्ने भन्दै सरकार जनमैत्री बन्न नसकेको आरोप लगाए । ‘सरकारले कांग्रेसका विरोधका कार्यक्रममा बल प्रयोग गर्दै आएको छ, सार्वजनिक ठाउँमा निशेधाज्ञा जारी गरिन्छ’ उनले प्रश्न गर्दै भने, ‘सरकार ! के बालकृष्ण ढुङ्गेल र दुर्गा प्रसाईंलाईबाहेक अन्य नागरिकलाई लोकतन्त्र आएको होइन् ?’ उनले कम्युनिष्ट सरकारले दुईतिहाइ बहुमतको आडमा अधिनायकवाद लाद्न खोजेको आरोप लगाए । महिला संघ सुर्खेतका सभापति पार्वती गिरीले वर्तमान सरकारको विरोध रहरले नभइ बाध्यताले गरेको बताइन् ।
उनले सरकारले गलत बाटो हिँड्न थालेको आरोप लगाउँदै सही बाटोमा हिँडाउन कांग्रेस सडकमा आउनु परेको बताइन् । दुई तिहाइको दम्भमा सरकारले पञ्चायत भन्दा क्रूर शासन जनतामाथि गरेको आरोप उनले लगाइन् । शेरबहादुर देउवा सरकारले गरेको नियुक्ति लगायतका निर्णय उल्टाएकाले वर्तमान सरकार गलत भएको उनको भनाइ छ । ‘अघिल्लो सरकारले गरेका नियुक्ति खारेजी गरिएका छन्, कांग्रेसले गरेको शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरिन्छ’ उनले भनिन्, ‘कर वृद्धिले जनताको ढाड सेकिसक्यो, सामाजिक घटनाहरू दैनिक बढ्दा छन् ।’ सभामा नेपाली कांग्रेस सुर्खेतका सचिव भुपेन्द्र खत्रीले लोकतन्त्रको रक्षाका लागि युवाहरू बलीदानी दिन तयार रहेको बताए । वीरेन्द्रनगरको स्थानीय मंगलगढीचौकदेखि निकालिएको विरोध ¥याली पिपलचौतारीमा पुगेर सभामा परिणत भएको थियो । सभामा कांग्रेसका जिल्ला सभापति कमलराज रेग्मीले सरकारको विरोधमा थप सशक्त आन्दोलन थाल्ने चेतावनी दिए ।

प्रकाशित मितिः   १६ श्रावण २०७५, बुधबार १५:२७