‘डा. केसीका समर्थककै कारण क्षति’
सुर्खेत, १५ साउन । (साबिस)
डा. गोविन्द केसीका समर्थकहरूकै कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भौतिक क्षति हुन पुगेको कर्णाली प्रदेश सरकारले जिकिर गरेको छ । प्रतिष्ठानमा अनशन बसेका डा. केसीलाई काठमाडौं लैजान खोज्दा भएको क्षतिबारे प्रदेश सरकारले संसदमा जवाफ दिँदै यस्तो जिकिर गरेको हो ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले जुम्लामा भएको घटनाको जानकारी सदनमा गराउनुपर्ने माग राखेसँगै सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले मंगलवार सदनमा जवाफ दिएका हुन् । साउन ३ गते डा. केसीलाई संघीय सरकारले थप उपचारका लागि काठमाडौं लैजान खोज्दा प्रतिष्ठानमा तोडफोड भएको थियो । सरकारले डा. केसीलाई जबरजस्ती काठमाडौं लिन खोज्दा प्रतिष्ठानमा क्षति भएको प्रचार भएसँगै प्रतिपक्षले प्रदेश सरकारको जवाफ मागेको थियो ।
डा. केसीलाई काठमाडौं लैजानका लागि जुम्ला पुगेका मन्त्री भण्डारीले यथार्थ सदनलाई जानकारी दिँदै दुर्भाग्यवस प्रतिष्ठानमा क्षति भएको बताए । डा. केसीका समर्थकहको नाममा अनावश्यक हर्कत देखाइएको कारण अस्पतालमा क्षति पुगेको उनले बताए । ‘शान्तिपूर्ण रूपमा समाधान खोज्न प्रदेश सरकारको उपस्थिति जुम्लामा थियो तर, त्यहाँ जाँदा मुख्यमन्त्रीसहितको टिमलाई भित्रै जान दिइएन’ उनले भने, ‘उच्छृंखल समूहले डा. केसी चढेकै एम्बुलेन्समाथि ढुङ्गा प्रहार गरे ।’
यसैबीच कञ्चनपुरको भीमदत्त नगरपालिकामा बालिका बलात्कारको घटनामा संलग्न अपराधिलाई कारवाही गर्न कर्णालीको सदनमा आवाज उठेको छ । सांसद अमृता शाहीले संसदमा बोल्दै सरकारको ढिलासुस्तीका कारण पीडितले न्याय पाउन नसकेको बताइन् । ‘किन बलात्कारीलाई प्रहरीले कारबाही गर्न सक्दैन ?’ उनले भनिन्, ‘यो देशमा कानून नभएको हो की, कमजोर भएको हो ।’
सांसद कौशिलावती खत्रीले जाजरकोटको जुनिचाँदे–३ मा बसोबास गर्दै आएका भक्तबहादुर बुढाको घरलाई बाढीले बगाएको र उनले पत्नी र नातिनी गुमाउन बाध्य भएको भन्दै राहतका लागि सरकारलाई ध्यानाकर्षण गराईन । मंगलवारको संसद बैठकमा कर्णाली प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि सैद्धान्तिक छलफल समेत भएको छ । सैद्धान्तिक छलफल भएपछि सभामुख राजबहादुर शाहीले उक्त विधेयकमाथि संशोधन हाल्नको लागि ७२ घण्टे समय दिएका छन् । संसद सचिवालयका अनुसार आगामी वैठक शुक्रवार बिहान ११ बजे बस्ने छ ।
साझा बिसौनी ।