‘सबै वडामा विद्युत र सडक’

 

साझा बिसौनी संवाददाता
सुर्खेत, १४ साउन ।
गुर्भाकोट नगरपालिकाले चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ । नगरपालिकाले सबै वडामा सडक सञ्जाल विस्तार र विद्युतीकरण गर्ने योजना लक्षित गरी चालु आर्थिक वर्षको बजेट विनियोजन गरेको हो ।
१४ वटा वडा रहेको गुर्भाकोट नगरपालिकाका सबै वडाहरूमा सडक सञ्जाल पुग्न सकेको छैन । हाल वडा नम्बर ३ को वडा कार्यालयबाहेक अन्य वडाहरू नगरपालिकासम्मको सडक सञ्जालसँग जोडिएका छन् । सडक सञ्जालमार्फत् वडाका सबै बस्तीहरू नगरपालिकामा जोड्ने रणनीति अनुसार सडक सञ्जाललाई पहिलो प्राथमिकता दिइएको हो । जसका लागि नगरपालिकाले चालु आर्थिक वर्षको कूल बजेट मध्ये सात करोड २३ लाख ६० हजार रूपैयाँ सडक विस्तारका लागि विनियोजन गरेको छ ।
नगरसभाबाट आर्थिक वर्ष २०७५÷२०७६ का लागि ४६ करोड ४७ लाख ३१ हजार रूपैयाँ विनियोजन गरिएको छ । २१ करोड तीन लाख रूपैयाँ श–सर्त अनुदान र २५ करोड ४४ लाख ३९ हजार निसर्त बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ । जसमा सडक विस्तारलाई पहिलो प्राथमिकतामा राखिएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा ८७ किलोमिटर सडक सञ्जाल विस्तार गरेको नगरपालिकाले चालु आर्थिक वर्षमा सबै वडामा सडक सञ्जाल विस्तार गर्ने योजना अगाडि सारेको हो । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै ७५ किलोमिटर नयाँ सडक निर्माण गरिएको छ भने १२ किलोमिटर सडक ग्रावेल गरिएको छ ।
यस्तै नगरको विद्युत नपुगेको स्थानहरूमा ११ किलोमिटर विद्युत प्रशारणलाइन विस्तार गरिएको नगरपालिकाले जनाएको छ । पूर्वाधार विकास अन्तर्गत नगरपालिकाले सिँचाइका लागि सात करोड २३ लाख ६० हजार रूपैयाँ, खानेपानीका लागि एक करोड ४४ लाख ८० हजार, भवन निर्माण र मर्मतका लागि एक करोड ३५ लाख, रूपैयाँ विनियोजन गरेको छ । नगर क्षेत्रमा विद्युत विस्तारका लागि २३ लाख ५० हजार रूपैयाँ बजेट विनियोजन गरिएको छ । पर्यटन विकासका लागि ५० लाख, मेशिनरी औजार खरिदका लागि २० लाख, सवारी साधन खरिदका लागि ५० लाख रूपैयाँ विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले तेस्रो नगरसभाबाट सामाजिक विकासमा तीन करोड ९४ लाख २५ हजार रूपैयाँ विनियोजन गरेको छ । जसमध्ये शिक्षामा दुई करोड दुई लाख ५२ हजार, स्वास्थ्यमा एक करोड पाँच लाख २५ हजार, ८६ लाख ४८ हजार रूपैयाँ लक्षित वर्गका लागि विनियोजन गरिएको छ । नगरपालिकाले आर्थिक विकास अन्तर्गत एक करोड ८३ लाख १५ हजार रूपैयाँ विनियोजन गरेको जनाएको छ । विनियोजित बजेटले कृषि र पशुपालनको पकेट क्षेत्र घोषणा गर्ने, सहकारी संघ–संस्था, कोचिङ्ग तथा ट्युसन सेन्टर नियमन गर्ने, नमूना विद्यालय स्थापना गर्ने, पोषणयुक्त नगरपालिका घोषणा गर्ने, सबै वडाहरूमा विद्युत र सडक पु¥याउने, वातावरण संरक्षण र हरियाली प्रवद्र्धन गर्ने, पूर्ण सरसफाइयुक्त नगरपालिका घोषणा गर्ने, कृषि क्षेत्र उत्पादनलाई व्यवसायीकरण गर्न प्राथमिकता दिने, पञ्चवर्षीय आवाधिक योजनाको अवधारणा पत्र तयार पार्ने, वडास्तरमा खेल मैदान र खेलकुद सामग्री वितरण गर्ने योजना कार्यान्वयन गरिने नगरपालिकाले जनाएको छ ।
समुदाय सुधार कार्यक्रम अन्तरगत एक घर अनिवार्य फलफूल बिरुवा कार्यक्रम, विपत व्यवस्थापनका लागि निरोधनात्मक कार्यक्रम पनि चालु आर्थिक वर्षमा नगरपालिकाले गर्ने भएको छ । अधिकार सम्पन्न स्थानीय सरकार घर आँगनमा आएसँगै नजिकबाट सेवा प्रवाह भएपछि
सर्वसाधारणमा उत्साह छाएको नगरप्रमुख हस्तबहादुर पुनले बताए । उनले कार्यप्रक्रियामा सुधार आएकाले अवसरका रूपमा लिइएको बताए । ‘जनप्रतिनीधिबाट सर्वसाधारणले उच्च महŒवकांक्षा राख्ने, सीमित स्रोत र साधन, भौगोलिक विकटताका कारण स्थानीय सरकारलाई जनमैत्री सेवा प्रवाहमा चुनौती थपिएको छ’ उनले भने, ‘नगरपालिकामा विषयगत कार्यालयमा पर्याप्त जनशक्ति नहुदाँ सेवा प्रवाह गर्न सकिएको छैन । कानुनी जटिलता, कर्मचारीमा अन्यौलता र संरचनागत समस्याका कारण पनि गुणस्तरी सेवा प्रवाह गर्न सकिएको छैन् ।’
दस वटा ऐन निर्माण
गुर्भाकोट नगरपालिकाले हालसम्म १० वटा ऐन निर्माण गरेको छ । नेपालको संविधान अनुसार २८ वटा ऐन बनाउने अधिकार पाएको स्थानीय सरकारले अति आवश्यकीय ऐन सभाबाट पारित गरेको हो ।
नगरपालिकाका अनुसार स्थानीय आर्थिक ऐन, विनियोजन ऐन, शिक्षा ऐन, आर्थिक कार्यविधि ऐन, सहकारी ऐन, कृषि प्रवद्र्धन सम्बन्धी ऐन, प्रशासकीय कार्यविधि ऐन, सभा सञ्चालन कार्यविधि ऐन, न्यायीक समितिको उजुरीको कारबाही र किनारा गर्दा अपनाउनुपर्ने कार्यविधि व्यवस्थापन गर्न बनेको ऐन, आर्थिक कार्यविधि नियमित गर्न बनेको ऐन नगर सभाबाट पारित भइसकेका छन् । थप ऐन निर्माणको लागि नगरपालिकाले गृहकार्य थालेको नगरप्रमुख पुनले बताए ।

प्रकाशित मितिः   १५ श्रावण २०७५, मंगलवार १५:२१