समाज सेवा नै मेरो कर्म

वि.सं. २०३५ सालमा तेह्रथुम जिल्लाको म्यांलुङ बजारमा जन्मिएकी शारदा शेर्पा घरकी कान्छी छोरी हुन् । बुबा दानबु शेर्पा र आमा चन्द्रा शेर्पाको कोखबाट जन्मिएकी शारदा सानैदेखि पढाइमा तेज थिइन् । पढाइको अलवा अतिरिक्त क्रियाकलाप तथा सामाजिक सेवामा समेत शारदाको सानैदेखि रुची थियो । खेल जीवनमा होस् वा पढाइमा होस् शारदा कहिल्यै दोस्रो भइनन् । माध्यमिक तहदेखि प्रविणता प्रमाणपत्र तहसम्मको शिक्षा तेह्रथुमबाट लिए पनि स्नातक र स्नातकोत्तर तहको शिक्षा भने शारदाले काठमाडांै आरआर क्याप्पसबाट पूरा गरिन् ।
उनका बुबा प्रहरीमा र आमा आमा सहरी विकासमा जागिरे थिए । एउटा दाजु र तीन बहिनीमा कान्छी छोरी उनको बाल्यकाल रमाइलोसँग बित्यो । बुवा प्रहरी भएकोले पनि शारदालाई प्रहरीको ठूलो पदमा जागिर खाने ठूलो सपना थियो । तर १० वर्षे द्वन्द्वकालमा उनलले असइमा नाम निकालेर प्रहरी सेवालाई निरन्तरता दिइनन् । तेह्रथुमबाट विवाह गरी सुर्खेत आएकी शारदा शेर्पा पछिल्लो समय सामाजिक अभियान्ताको रूपमा आºनो बेग्लै पहिचान बनाउन सफल भएकी छन् । उनले आफ्नो पेसागत जीवन साझा बिसौनी सहकर्मी सीता वलीसँग यसरी खोलिन् ः
म सानैदेखि खेलक्षेत्रमा असाध्यै रुची राख्थें । माध्यमिक तह पढ्दादेखि नै मैले भलिबल तथा ब्याटमिन्टन र कराँते खुब खेल्थें । तर मलाई खेल क्षेत्रमा नै जीवन व्यतित गरौंला भन्ने लाग्थेन । खेल क्षेत्रलाई माध्यम बनाएर प्रहरीको ठूलो पोष्टमा छिरौंला भन्ने सपना मैले देखेको थिएँ । त्यसै अनुरूप मैले मेहेनत पनि गरें । वि.सं. २०५७ सालमा मैले असइमा नाम पनि निकालेकी थिएँ तर १० वर्षे द्वन्द्व चलेको थियो । त्यसैको डरले मेरो मन मोडियो र मामाजिक अभियान्ताको रूपमा अहिले स्थापित छु । मेरो बुबा प्रहरीको सही हुनुहुन्थ्यो त्यसैको प्रभावले पनि मलाई प्रहरी सेवामा प्रवेश गर्ने रहर जागेको हो ।
समाजमा दुखी–गरीब पनि देख्नै सक्दैनथें म । मेरो बाल्यकाल रमाइलोसँग बित्यो । खेल्दै र रमाउँदैमा बित्यो । मैले माध्यमिकदेखि प्लस टूसम्मको शिक्षा तेह्रथुमबाटै नै लिएकी हुँ । बीए र एमए भने काठमाडौंको आरआर क्याम्पसबाट गरें । काठमाडौंमा पढ्दा पनि मैले खेल खेल्न भने छाडिनँ । बीए पढ्दा–पढ्दै मैले २०५४ सालमा कराँतेको ब्ल्याक बेल्ड पनि प्राप्त गरें ।
म यो सामाजिक क्षेत्रमा २०६२ सालदेखि लागेकी हुँ । विवाह गरी सुर्खेत आएपछि सुर्खेतमा नै सामाजिक क्षेत्रमा काम गर्दै आएकी छु । सुरुमा मैले आवाज संस्थामा कार्यक्रम संयोजकको रूपमा काम गरें । महिला तथा बालबालिकाका क्षेत्रमा थुप्रै काम गरियो । त्यो बेलामा पनि म समाजमा विभिन्न अभियानहरूमा सक्रिय थिएँ । त्यसबीचमा म निजी विद्यालयमा शिक्षकको रूपमा काम गरें । त्यसैक्रममा एनप्याब्सनको सुर्खेत जिल्ला उपाअध्यक्ष पनि भएँ । मैले पढाउन छोडेर वातावरण सुधार समाजमा दुई वर्ष काम गरें त्यहाँ पनि कार्यक्रम संयोजकको रूपमा नै रहेर काम गरियो । अहिले म उच्च मूल्य कृषि वस्तु विकास आयोजनामा सामाजिक समावेशीकरण विज्ञको रूपमा काम गरिरहेकी छु ।
वि.सं. २०७१ सालदेखि यो संस्थामा निरन्तर काम गरिरहेकी छु । सँगसँगै लायन्स क्लब अफ काँक्रेबिहार सुर्खेतको अध्यक्षको रूपमा काम गरिरहेको छु । म आफूलाई सामाजिक अभियान्ताको रूपमा चिनाउन चाहन्छु र सबैले मलाई त्यसरी नै चिन्ने गर्दछन् । विशुद्ध रूपमा हामीले समाजमा विभिन्न क्षेत्रमा स्वयम् सेवकको रूपमा काम गर्दछौं । बालबालिका, महिला, वातावरण, स्वास्थ लगायतका क्षेत्रमा हामी काम गर्दर्छौं । सामाजिक अभियान्ताको रूपमा हिँड्दा मलाई कुनै अप्ठ्यारो छैन । घरपरिवारको पनि उत्तिकै साथ र सहयोग पाएकी छु । परिवारले साथ नदिए म यो स्थानमा आउने पनि थिइनँ । मलाई यहाँसम्म आउनमा साथ दिने मेरो दिदी फूलमाया शेर्पा र दाई पूर्ण शेर्पा हुन् । मेरा हरेक सुख दुःखमा मेरो दिदी र दाइ साथ दिनुहुन्छ ।
म कक्षा ११ मा पढ्दा मेरो आमाको मृत्यु भयो । त्यो दुःखको क्षण म भुल्नै सक्दिन । आमाको मृत्युपछि मेरो दिदीले मलाई आमाको मायामा कही हुन दिनुभएन । उहाँको त्यो गुण म चाहेर पनि भुल्न सक्दिनँ । हाम्रो समाज महिलालाई केही गर्न सक्दैनन् भन्ने सोच्दछ तर त्यो कुरामा म सहमत छैन । महिलाले पनि अवसर पाए थुप्रै काम गर्न सक्दछन् । म खेल क्षेत्रमा होस् वा पढाइमा अवसर पाएसम्म कहिल्यै पनि दोस्रो भइनँ । मैले दुईवटा विषयमा स्नातकोत्तर गरेकी छु । समाजशास्त्र तथा द्वन्द्व र शान्ति अध्ययनमा स्नातकोत्तर सकाएकी छु । म अब सामाजिक क्षेत्रमा नै जीवन समर्पित गर्न चाहन्छु ।
समाजमा धनीले मात्रै सामाजीक अभियान्ताको रूपमा काम गर्ने र समाज सेवा गर्ने भन्ने भ्रम छ । त्यो मलाई लाग्दैन । विशुद्ध रूपमा समाज सेवा गर्नेलाई थुप्रै सहयोगी हातहरू भेटिन्छन् । सामाजिक क्षेत्रमा काम गर्नलाई घरपरिवारको भने थुप्रै साथ र सहयोग चाहिन्छ । त्यो मलाई प्राप्त भएकै कारण मैले सामाजिक अभियान्ताको रूपमा काम गरिरहेको छु । मेरो एक जना मात्रै छोरा छन् कक्षा १० मा पढ्दै छन् । श्रीमान् शिक्षकबाट सेवानिवृत्त हुनुहुन्छ ।

प्रकाशित मितिः   १६ श्रावण २०७५, बुधबार १५:२३