अञ्जलीले पाइन उपचार

साझा बिसौनी संवाददाता 
सुर्खेत, १२ साउन ।
जन्मजात मुटुमा प्वालको समस्या देखिएकी अञ्जली वादीले उपचार पाएकी छन् । वीरेन्द्रनगर–११ झुप्राखोलाकी १० वर्षीय अञ्जलीले विंग्स फाउन्डेशनको सहयोगमा उपचार पाएकी हुन् । फाउन्डेशनको सहयोगमा गंगालाल हृदयरोग केन्द्रमा अञ्जलीको उपचार भएको हो ।

आर्थिक विपन्नताका कारण उपचार नपाएकी अञ्जलीको उपचारका लागि आवश्यक रकमको जाहो फाउण्डेशनका क्रियाशील सदस्य कल्पना बस्नेत र प्रतिमा गौतमले गरेका थिए । उनीहरूले सहयोग संकलन गरी अञ्जलीको उपचार गराएका हुन् । अप्रेशन सरकारले निःशुल्क गरे पनि सहयोगीका लागि खाना, खर्च, आवाज–जावतका लागि फाउण्डेशनले सहयोग जुटाएको थियो । गंगालाल हृदयरोग केन्द्रमा कार्यरत डाक्टर अरुण खत्री र रामेश कोइरालासँगको सहकार्यमा अञ्जलीको उपचार गरिएको फाउन्डेशनका सदस्य बस्नेतले बताइन् ।

उनले सुर्खेतमा रहेका मनकारी र समाजसेवीहरूको आर्थिक सहयोगमा अञ्जलिले उपचार पाएको बताइन् । उनकाअनुसार अञ्जलीको उपचारका लागि संकलन भएको ५३ हजार ६ सय ७० रूपैयाँ मध्ये २९ हजार पाँच सय रूपैयाँ खर्च भइसकेको छ । ३४ हजार एक सय ७० रूपैयाँ बाँकी रहेको पैसा बालबालिकाको उपचारमा सहयोग गर्ने उद्देश्यले फाउन्डेशनको खातामा राखिएको छ ।

अञ्जलीका बुबा घनश्याम बादीले जन्मेदेखि रोगसँग लडिरहेकी छोरीको सफल उपचार भएसँगै खुशी भएको बताए । छोरीले नयाँ जीवन पाएको भन्दै उनले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । उनका तीन छोरी र एक छोरा छन् । अञ्जली दोस्रो छोरी हुन् ।

प्रकाशित मितिः   १३ श्रावण २०७५, आईतवार १२:५४