‘वीपीलाई भेट्न भागेर नेपालगन्ज गयौं’
मोतिप्रसाद कँडेल वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष हुन् । पञ्चायतकालदेखि नै राजनीतिमा प्रवेश गरका कँडेल नेपाली कांगेसको वीरेन्द्रनगर–६ को वडा समिति सभापति पनि हुन् । वि.सं. २०२० वैशाख १९ गते बुबा शशीधर कँडेल र आमा लिलावती कँडेलको कोखबाट दैलेखको तत्तकालिन गाउँ पञ्चायत काशीकाँध (हाल महाबु गाउँपालिका) टाकुरीमा जन्मिएका उनले व्यवसाय र राजनीतिलाई सँगसँग अघि बढाउँदै आएका छन् । उनै कँडेलले साझा बिसौनी सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी गरेका छन्ः
मेरो जन्म दैलेखको तत्कालीन काशीकाँध गाउँपञ्चायत (हाल महावु गाउँपालिकाका) मा भएको हो । हाम्रो परिवार ठूलो थियो । गाउँमा पहाडका बाटोमा हिँड्न, काम गर्न दुःख नै हुन्थ्यो । घरदेखि विद्यालय धेरै टाढा थियो । उकालो–उरालो हिँड्नुपर्ने, बाटाहरू अप्ठेरा हुन्थे । म सानै उमेरमा विद्यालय जान थालेका हुँ । घरदेखि विद्यालय जान एक घण्टा भन्दा बढी समय लाग्थ्यो । विद्यालयबाट फर्किसकेपछि गाइगोठाला जानुपथ्र्यो । साथीहरूसँग खेलेरै बाल्यकालका धेरै समय बित्यो ।
त्यसबेलामा हामीले जिनको कपडा लगाउँथ्यौं । जिनको दौरा र जिनको कोट लगाउने चलन थियो । हामीले पढ्दाखेरी काठको पार्टीमा अंगारले लेखेर पढ्थ्यौं । अहिलेको जस्तो कापिकलम पाइँदैनथ्यो । दैलेखबाट बसाइँ सरेर सुर्खेत आउँदा म सात वर्षको थिएँ । बाटोमा हिँडेर नै आयौं । हिँड्दा धेरै गाह्रो हुन्थ्यो । कतिबेला बुबा–आमाले पनि बोक्नुहुन्थ्यो । बास बस्दै हामी सुर्खेत आयौं । यहाँ मसुरीखेतमा बस्यौं । पहाडमा पहाडी भाषा बोल्ने हामी । सुरु–सुरुमा त धेरै नै गाह्रो भयो, यहाँको समाजमा घुलमिल हुनका लागि । हामी पहाडमा बोल्ने भाषा बोल्थ्यौं । यहाँका मानिसहरू कसरी यस्तो बोलेका होलान भनेर अच्चम लाग्ने गर्थे ।
सुर्खेतमा बसाई सरेर आइसकेपछि मैलै भैरब माध्यमिक विद्यालय भैरवस्थानमा पढ्न थालेँ । अक्षर दैलेखमा चिने पनि मैले यहाँ कक्षा १ देखि नै पढें । दिउँसको समयमा विद्यालयमा पढाइ हुन्थ्यो । वर्षातको समयमा विद्यालय नलाग्ने भएको कारण धेरै जसो हामी खेतमा बीऊ कुर्नका लागि जान्थ्यौं । अरुका गाइगोरुले बीऊ खाइदिने भएका कारण रोपाइँ नसक्नुजेलसम्म हामी केटाकेटीहरूले बीऊ कुर्नपर्ने हुन्थ्यो । धेरै साथीहरू हुन्थ्यौं । रमाइलो हुन्थ्यो । विद्यालय लागेको समयमा हामी प्रत्येक शुक्रवार र शनिवार घाँस दाउरा लिनका लागि जानुपथ्र्यो । गिरीघाट रानीघाट, ठौरी तिरको जंगलमा गएर घाँस दाउँरा ल्याउँथ्यौं ।
मलाई घरमै बस्नुभन्दा पनि बाहिर–बाहिर हिँड्थे । प्रायः भागेर जान्थें । घरमा खोज्दा–खोज्दा हैरान हुने । कक्षा ७ तिर पढ्दा । एक पटक नेपालगन्जमा विश्वेश्वरप्रसाद कोइरालाको कार्यक्रम छ भनेर साथीहरू मिलेर भागेर गयौं । त्यसबेलामा बाटो बनिसकेको थिएन । हिँडेर नै गयौं । पञ्चायती व्यवस्थाको अन्त्यका लागि आन्दोलन भइरहने हुन्थ्यो । हामी पनि भागेर गयौं । तिन दिन लगाएर नेपालगन्ज पुग्यौं । जानेबेलामा रामघाटमा गएर डुङ्गाबाट भेरी तर्नुपथ्र्यो । छिन्चुको बाटो हर्रे हुँदै बबई पुगेर बबइ नदी तरेपछि नेपालगन्ज पुग्यौं । घरमा जताततै खोज्नु भएको रहेछ । हामी करिब एक हप्तापछि घर आयौं । बुबा–आमाले पिट्नुभयो । गाली गर्नुभयो ।
कहिले काहीं बदमासी पनि गरिन्थ्यो । बारीमा काँक्रा जति पनि हुने । साथीहरू मिलेर बर्खाको समयमा डोकामा काँक्रा चोरेर खान्थ्यौं । आफ्नै घरको र साथीभाइहरूको घरको काँक्रा चोरेर खान्थ्यौं । जति काँक्रा खाए पनि नअघाउने । आफ्ना साथीहरू भाइका घरमा काँक्रा प्राय चोरेर खान्थ्यौं । एक पटक तिहारको बेलामा ठूलै बदमासी ग¥यौं । भैली खेल्ने भनेर एक जनाको घरमा गएका थियौं । भैली खेल्दा–खेल्दै हैरान भयौं । तर घरबेटी उठेनन् । उनले हामीलाई केही नदिने सोचले नउठेपछि घरबेटीको उखुबारी थियो । हामीले सबै उखु भाँचेर लग्यौं । खेतमा लगेर लुकायौं । भोलिपल्ट घरबेटीले थाहा पाइहालेछन् । घरमा आएर भनिदिए । बुबा–आमाको हातबाट पिटाइ पनि खाइयो ।
त्यसबेलामा कक्षा ८ पास गरेपछि जागिर पाइन्थ्यो । म त्यसलगत्तै जागिर खाने भनेर चिंगाडमा गएँ । हिँडेर नै जानुपर्ने बाध्यता हुन्थ्यो । एक दिनभरी हिँडेर म त्यो स्कुलमा पुगें । उमेरले सानै थिएँ । त्यहाँ गइसकेपछि कुरा मात्र भयो । जागिरको वातावरण तयार भएन । त्यहाँ मलाई शिक्षक बनाउँछु भने तर १० हजार मागे । मैले १० हजार तिर्नुभन्दा जागिर नै खान्न भनेर हिँडे । त्यसपछि म त्यहाँबाट जाजरकोट हुँदै सल्यान पुगेर आएँ ।
म सानैदेखि सबैसँग घुलमली हुने, अरुलाई पनि सहयोग गर्ने र आफू पनि सहयोग लिने स्वभावको थिएँ । मैले त्यस जिल्लामा जाँदा त्यहाँको दुःख देखेर म त धेरै सुगममा बसेको जस्तो पनि लाग्थ्यो । सल्यान हुँदै सुर्खेतमा आएर फेरि पढाइलाई निरन्तरता दिएँ । त्यसबेलामा टेष्ट पास भइसकेपछि शिक्षक हुन्थे । त्यसपछि म शिक्षक भएर कालिकोट गएँ । केही समयसम्म कालिकोटमा पढाएँ । पछि सुर्खेतमा आएर व्यवसायसँगै राजनीतिमा लागें । सानैदेखि कांग्रेस बन्नुपर्छ भन्ने थियो । प्रायः पञ्चायती व्यवस्थाको विरोध गर्दै बहुदलको व्यवस्थाका लागि आन्दोलन हुन्थे ।
वि.सं. २०४६ सालमा बहुदल आइसकेपछि मैले खुलेर पार्टी राजनीतिमा लागेको हुँ । त्यसभन्दा अघि त भूमिगत भएर नै राजनीति गतिविधिहरू गर्ने र सहभागिता जनाउने हुन्थ्यो । अहिले म वीरेन्द्रनगर–६ को पार्टीको वडा सभापति पनि छु ।
साझा बिसौनी ।