वैज्ञानिक वन व्यवस्थापन लागू भएपछि फेरिँदै सामुदायिक वन

बराहतालस्थित रुर्इनियाडाँडा सामुदायिक वनमा अनुगमन गर्दै जिल्ला वन अधिकृतसहितकाे टाेली ।

साझा बिसौनी संवाददाता

सुर्खेत, १२ साउन ।
दुईवर्ष अघिसम्म रुईनियाडाँडा सामुदायिक वनको कोषमा रकम नै बचत थिएन । वनको रेखदेख गर्नका लागि राखिएका चौकिदारलाईसमेत तलब खुवाउन हम्मेहम्मे थियो । उपभोक्ताले नै पाथीमा अन्न भरेर चौकीदारलाई वनको रेखदेखमा खटाएका थिए ।

तर दुई वर्ष भयो । सुर्खेतको बराहताल वडा नम्बर ५ मा रहेको रुईनियाडाँडा सामुदायिक वनले लोभलाग्दो आम्दानी गर्न थालेको छ । कुनैबेला एकजना चौकीदारलाई तलब खुवाउन नसकेको यही सामुदायिक वनले हिजोआज सात जनासम्म हेरालोको व्यवस्थापन गरेको छ । सामुदायिक वनको कोषमा एक करोड भन्दा बढी रकम बचत छ । स्थानीय उपभोक्ताकै सक्रियतामा सामुदायिक वन क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापन लागू भएपछि उपभोक्ता समितिको आम्दानी तेब्बर भएको हो ।

दुई वर्षको अवधीमा नै यो वनले प्राप्त आम्दानीबाट गाउँमा सोलार जडान, खानेपानी आयोजना सञ्चालन विद्यालयलाई सहयोग र आफ्नो सुविधा सम्पन्न भवन निर्माण गर्न सफल भएको हो । विगतमा नाङ्गा देखिने डाँडाहरू अहिले हरियाली बनेका छन् । विगतमा उपभोक्ताले वन संरक्षणलाई मात्र प्राथमिकता दिन्थे । वनबाट एउटा पनि रुख काट्नु हुन्न भन्ने सोच थियो । तर दुई वर्षदेखि यो सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन लागू भएको छ । वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत वनमा रहेका पुराना, थोत्रा र काम नलाग्ने रुखहरू हटाउने गरिएको छ । जसका कारण वन क्षेत्रमा नयाँ बिरुवाहरू फस्टाएका छन् । त्यही पुराना, बुढा, थोत्रा र काम नलाग्ने रुखहरू बिक्री गरेर उपभोक्ता समितिले तेब्बर आम्दानी गरिरहेको छ ।

उक्त सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कविराज डम्बरपालले भने, ‘पहिला हामीले केवल संरक्षणलाई ध्यान दियौं, वनमा रहेका पुराना र बुढा रुखहरू कुहिएर खेर गए । अहिले वैज्ञानिक व्यवस्थापन सुरु गरेका छौं, पुनारा र थोत्रा रुख हटाएर नयाँ रुख हुर्काउन थालेका छौं ।’ उलने जंगलमा कुहिएर जाने थोत्रा रुखको बिक्रीबाट वार्षिक एक करोड भन्दा बढी आम्दानी हुने गरेको बताए । यो सामुदायिक वनको कुल क्षेत्रफल दुई सय ३८ हेक्टर रहेको छ ।

जस अन्तर्गत हाल २७ दशमलब ८५ हेक्टरमा वैज्ञानिक व्यवस्थापन लागू गरिएको छ । यही क्षेत्रफलमा १० वर्षसम्म पुराना रुख काट्ने र नयाँ रुखहरू हुर्काउने काम गरिनेछ । अघिल्लो वर्ष थोत्रा र पूराना रुखहरू हटाइएको क्षेत्रमा अहिले लोभलाग्दा नयाँ बिरुवा हुर्किरहेका छन् । वन व्यवस्थापनबाट आम्दानी बढेको र जंगल पनि पहिलाको भन्दा फस्टाएको उनले बताए ।

हरेक वर्ष एकसय ७३ वटा पूराना र थोत्रा रुखहरू हटाउने गरिएको उपभोक्ता समितिका सदस्य तुल्सी नामजालीले बताइन् । उनले भनिन्, ‘वनबाट आम्दानी हुन थालेपछि चौकिदार थपेका छौं, वनबाट आएको २३ लाख आम्दानीले गाउँमा सोलार पनि जडान गरेका छौं । विद्यालयलाई सात लाख सहयोग गरेका छौं, गाउँमा खानेपानी आयोजनामा पनि बजेट लगानी गरेका छौं ।’

वैज्ञानिक वन व्यवस्थापनले जंगल थप हरियाली भएको र आम्दानी पनि बढेपछि उपभोक्ताहरू संरक्षणमा सक्रिय भएको उनको भनाइ छ । यस्तै वनबाट भएको आम्दानीबाट २५ लाख खर्चेर समितिले आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरेको छ । वनबाट आम्दानी हुन थालेपछि उपभोक्ता समितिले विपन्न उपभोक्ताका लागि घुम्ती कोषमार्फत् ऋण उपलब्ध गराउने र निःशुल्क आय–आर्जनका सीप प्रदान गरिरहेका छ ।

उपभोक्ता समितिका सदस्य पार्वती सारुले वैज्ञानिक वन व्यवस्थापन लागू भएपछि आफूहरूको आय–आर्जनमा समेत वृद्धि भएको बताइन् । वनमा काम गरेवापत स्थानीयले ज्याला पाउने गरेका छन् । रोजगारी सिर्जना भएको र वनको आम्दानीले गाउँको सामाजिक विकास र पूर्वाधारमासमेत लगानी गर्न पाएको भन्दै उनले खुशी व्यक्त गरिन् । चारसय घुरधुरी रहेको यो सामुदायिक वनले उपभोक्तालाई सुपथ मूल्यमा नै काठ उपलब्ध गराउने गरेको छ । यस्तै पहिलाको तुलनामा घाँस र दाउरा पनि सहज रूपमा उपलब्ध भइरहेको स्थानीयले बताए ।

जिल्ला वन कार्यालयका अनुसार हाल सुर्खेतका १७ वटा सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएको छ । यस्तै यो वर्ष थप दुई वटा सामुदायिक वनमा यो कार्यक्रम लागू हुनेछ । ‘वैज्ञानिक वन व्यवस्थापनले स्थानीयको जीवनस्तरमा नै परिवर्तन आयो, जंगल पनि लोभलाग्दो गरी फस्टाउन थालेको छ’ जिल्ला वन अधिकृत हेमराज विष्टले भने, ‘जंगलका पुराना र थोत्रा रुख कुहिएर खेर जान्थे, तिनले नयाँ विरुवालाई पनि हुर्कन अवरोध गर्छन् । अहिले तिनै थोत्रा रुख हटाएर उपभोक्ताले राम्रो आम्दानी गरेका छन्, अर्कोतर्फ वनमा नयाँ विरुवा पनि पून:उत्पादन भइरहेका छन् ।’

वैज्ञानिक वन व्यवस्थापनले स्थानीयलाई रोजगारी दिएको, आम्दानी बढेको, वन संरक्षणमा उपभोक्ताको सक्रिय सहभागिता हुन थालेको र वन संरक्षण पनि प्रभावकारी बन्दै गएको उनको भनाइ छ । पछिल्लो समय जिल्लामा वैज्ञानिक वन व्यवस्थापन सफल बनेपछि अन्य सामुदायिक वनले पनि यो कार्यक्रम लागू गर्न आवेदन दिन थालेका छन् ।