झरी, प्रेम र साउन

क्रान्ति शर्मा
हरेक वर्ष आउने साउन महिना अर्थात भगवान शिवको महिना । जो महिलाहरूको लागि विशेष महिना पनि हो । यो महिनाको सुरुवात अर्थात् साउन १ गते विधिवत तरिकाले लुतो फालेपछि हिलो मैलोको काम सकिएको भन्ने बुझिन्छ । सम्पूर्ण बृद्ध–बृद्धादेखि बालबालिकाहरू र युवा युवतीहरू यस महिनामा बढी सौभाग्य आदान प्रदान गर्ने गर्दछन् ।
विशेष गरी साउन महिनाको हरेक सोमवार अविवाहित महिलाहरूले ‘चाहे जस्तो पति पाउँ’ भनि र विवाहित महिलाहरूले ‘श्रीमान्को आयू लामो होस्’ भनि शिवको आराधाना गर्ने र दिनभर अन्न तथा पानी समेत नखाइ ब्रत बस्ने गर्दछन् । साउन महिना धार्मिक, सांस्कृतिक तथा प्राकृतिक लगायत सम्पूर्ण दृष्टीकोणबाट विशेष मानिन्छ । प्रेम गर्नेहरूका निम्ती पनि यो महिना एक विशेष मानिन्छ । हरियो महिना भएकै कारण र हरियो रंगलाई प्रेमको प्रतिक मानिने हुँदा पनि यो महिना खास महिना हो ।
वर्षा, प्रेम र झरिको संगम साउन महिना धार्मिक हिसाबले पनि हिन्दु नारीहरूको लागि महŒवको महिना हो । प्रेमी–प्रेमीकाको जोडीहरूमा नयाँ उमङ्ग छाउँछ । वेप्रवाह वर्षिने भरीसँग रुझ्दै हिँड्ने प्रेमिल जोडिका निम्ती खास हुन्छ । महिलाले लगाउने हरियो, पहेंलो, रातो चुरा, कपडा, मेहन्दी यी सबले साउन महिनाको आकर्षकता झल्काउने गर्दछ । यो महिनामा अधिकांश महिलाहरूको हत्केलाभरी मेहेन्दी सजिएको देखिन्छ । यसरी लगाइने मेहेन्दीको जति गाडा रंग बस्छ त्यति नै श्रीमानको माया बढी पाइन्छ भन्ने विश्वास पनि राख्ने गरेको पाइन्छ । साँच्चै नै हरियाली प्रकृतिसँगै हरियो चुरा, हरियो पोते, हरियो पहिरन लगाउने चलनले प्रकृतिसँगको आत्मीयता झल्काउने गर्दछ । हरियो रंगले प्रेम र वातावरण, रातो रंगले सौभाग्यको र पहेंलोलाई पवित्रताको प्रतिक मानिने हुँदा यो साउन महिनामा यी तीन रंगको समिश्रण गरी लगाइन्छ ।
पौराणिक मान्यताअनुसार पार्वतिले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेकी हुनाले भगवान शिवलाई यो महिना विशेष हुन गयो । यसरी महिना भरी नै शिवको पूजा हुने महिना भनेकै मात्र यही साउन महिना हो । व्रत बस्नु धार्मिक महŒव मात्रै नभएर व्रतले जीवनमा कुनै पनि प्रकारको रोग र शोकलाई अन्त्य गर्न महत्व बोकेको छ । साँचै भन्ने हो भने साउन महिनाले मानिसहरू एकअर्का बीचमा आत्मीयता प्रेम, सद्भाव बढाउनमा उल्लेख भूमिका राख्दछ ।
महिलाहरूमा सुन्दरता अझ प्रगाढ पार्दछ । हातभरी हरीया, राता, पहेंला रंगीन चुरा अनि हरियो पहिरन, हत्केलामा सजिएको मेहन्दी यी सबैले महिलाको सुन्दरतालाई झल्काउँदछन् । जताततै हरियाली, बेला बेलामा वर्षिने झरी साँचिकै प्रेममय छ, यो महिना । सबैतिर कामकाज सकिएर विभिन्न चाडपर्वहरूको सुरुवात नै यही महिनाबाट हुन्छ । महिलाहरू आउँदै गरेको तिजको निमित्त खुसि देखिएका हुन्छन् ।
अन्ततः साउन महिना एक धार्मिक, सांस्कृतिक र प्राकृतिक रूपमै विशेष महिना हो । महिला–पुरुषहरू एक अर्काेप्रतिको प्रेम, आस्था, जीवन्तताका निमित्त व्रत बस्ने गर्दछन् । एक अर्कामा खुशी साटासाट गर्ने गर्दछन् । शास्त्रमा व्रत बस्नका निमित्त एक छुट्टै नियम उल्लेखित छ । र, महिला–पुरुष दुवै एक अर्काका निम्ती ब्रत बस्न सक्दछन् । यी विविध रंगहरूले जीवन उत्साह ल्याउन सकुन् । साउन महिना हरेककै निमित्त विशेष बन्न सकोस् र वर्तमानमा परम्परालाई विकृतिमा रूपान्तरण गर्ने गतिविधि अन्त्य होस् । वर्षा, प्रेम र झरीको संगम साउन महिनाले हरेकका प्रेम सफल बनाउन सकोस् ।

प्रकाशित मितिः   १२ श्रावण २०७५, शनिबार १२:०७