पढेर सफल उद्यमी बन्ने सपना
पञ्चपुरी नगरपालिका–४ बाबियाचौर सुर्खेतकी खगीसरा रावत घरकी जेठी छोरी हुन् । बुबा आशाराम रावत र आमा कौशिला रावतको कोखबााट २०५२ साल फागुन १५ गते जन्मिएकी खगीसरालाई लघु उद्यम सहजकर्ता (ईडीएफ) पढेर सक्षम उद्यमी बन्ने रहर थियो । तर उनी गाउँकै विद्याज्योति उच्च माध्यमिक विद्यालयमा स्वास्थ्य विषय लिएर पढिन् । घरको आर्थिक अवस्थाका कारण त्यो वर्ष उनको ईडीएफ पढ्ने सपना पूरा भएन । तर उनले प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेपछि भए पनि इडिएफ पढेरै छोड्ने अठोट गरिन् । र, २०७४ सालमा मध्य नेपाल प्राविधिक शिक्षालयमा ईडीएफका लागि भर्ना भइन् । सक्षम उद्यमी बनेर अरुलाई पनि उद्यमी बनाउने लक्ष्य बोकेकी खगीसरा रावतले आफ्नो कलेज लाइफबारे साझा बिसौनी सहकर्मी सीता वलीसँग यसरी खोलिन्ः
पहिलो वर्ष सपना अँधुरै
मैले वि.सं. २०७१ सालमा विद्याज्योति उच्च माध्यमिक विद्यालयबाट एसएलसी पास गरेकी हुंँ । बुबाआमाको यही पढ् वा यही बन्नुपर्छ भनेर कहिल्यै दबाब दिनुभएन । तर मलाई भने ईडीएफ पढ्ने ठूलो रहर थियो । मेरो बुबाआमा कृषि गर्ने, त्यो वर्ष घरको आर्थिक अवस्थाको कारण मेरो ईडीएफ पढ्ने ईच्छा पूरा हुन सकेन । मैले विद्याज्योति उच्च माध्यमिक विद्यालयमा नै स्वास्थ्य विषय लिएर ‘प्लसटु’ पढें । मेरो ईडीएफ पढ्नेको ईच्छा पूरा गर्नको लागी मैले २०७४ सालमा प्लसटूको परीक्षा दिइसकेपछि मध्य नेपाल प्राविधिक शिक्षालयमा पढ्न सुरु गरें । मेरो पढ्ने धोकोलाई घरको आर्थिक अवस्थाले छेकेन । मैले मेरो ईच्छा पूरा गरेरै छोडें ।
मेरो कलेजको पहिलो दिन
मेरो कलेजको पहिलो दिन एकदमै रमाइलो भयो । मैले विद्यालय शिक्षा जहाँबाट लिएँ त्यही विद्यालयमा प्लसटू पढ्न पाउँदा म एकदमै खुुशी भएको थिएँ । तर मेरो ईडीएफको सपनाले मलाई झस्काइ रहन्थ्यो । प्लसटू पास गरेपछि त्यो सपना पनि पूरा हुन्छ भन्नेमा म ढुक्क थिएँ । कलेजबाट फर्कदा पनि मलाई रमाइलो नै लाग्यो । नयाँ–नयाँ साथीहरूसँग भेट भयो । मैले घरमा बुबाआमालाई कलेजबाट आएर सघाउनुपथ्र्यो त्यसैले घरमा त्यति धेरै पढ्ने समय हुँदैनथ्यो । तर पनि समय मिलाएर दिनमा चार घण्टा जति पढ्थें । कलेजको पढाइ र विद्यालयको पढाइमा धेरै भिन्नता छ ।
बिहान उठ्नै अल्छि लाग्छ
विद्यालयमा दिउँसो पढेको बानी तर कलेजमा बिहान–बिहानै उठेर जानुपर्दा साह्रै अल्छि लाग्थ्यो । तर जीवनमा कहिल्यै पढ्न नपरेजस्तो भने लागेन । किनकी जीवन सफल बनाउनको लागि पढाइ सबैभन्दा महŒवपूर्ण हुन्छ । कलेजको नराम्रो पक्ष खासै त्यस्तो त छैन तर बिहान उठेर जानुपर्ने अल्छि लाग्ने र शिक्षकहरूको विद्यार्थीहरूलाई त्यति ध्यान हुँदैन । कलेजको रमाइलो पक्ष भनेको साथीहरूसँग रमाइलो गर्न पाइन्छ त्यो भने मलाई एकदमै मन पर्ने गर्छ ।
घुम्न मनपर्छ
मलाई नयाँ ठाउँको अवलोकन भ्रमण गर्न एकदमै मनपर्छ । आफूले जानेका कुराहरू अन्य उद्यमीहरूलाई सिकाउन पाएदेखि झनै आनन्द आउँछ । जीवनमा आफूसँग भएको ज्ञान बाँड्नुपर्छ तबमात्रै आफूमा पनि ज्ञान बढ्छ । त्यो बाहेक समाज सेवामा पनि मेरो त्यत्तिकै रुची छ । दुखी तथा गरीबलाई सेवा गर्ने र जनजागरणका कार्यक्रमहरूमा पनि मेरो रुची छ । तर राजनीतिमा भने मलाई कुनै रुची छैन ।
भाइ जन्मदा औधि खुशी
म घरको जेठि छोरी हुँ । मभन्दा पछाडि मेरा अरु तीन बहिनी छन् । मेरो जीवनको सबैभन्दा ठूलो खुशी मेरो भाइ हो । जो हामी चारबहिनी पछाडि जन्मिएको हो । म मात्रै होइन भाइको जन्मले मेरो बुबाआमाको मनमा पनि त्यत्तिकै खुशी ल्याएको थियो । जीवनमा दुःखको क्षण पनि पार गरेको छु । वि.सं. २०७२ सालमा मेरो आमा धेरै बिरामी हुनुभएको थियो । हाम्रो घरपरिवारको साहारा आमा बिरामी हुँदा हामी धेरै दुखी भएका थियौं । त्यो दुःखको क्षण म जीवनमा भुल्नै सक्दिनँ ।
सफल उद्यमी बन्ने सपना
मलाई जीवनमा सफल उद्यमी बन्न मन छ । हाम्रो समाजमा महिलाले केही गर्न सक्दैनन् भन्ने कुरालाई म तोडन् चाहन्छु । उद्योग व्यवसाय र जागिर पुरुषहरूले मात्रै खानुपर्छ र महिलाहरू घरको चुलोचौकोमा थुनिएर बस्नुपर्छ भन्ने यो पुरुषप्रधान समाजलाई म चुनौती दिन चाहन्छु । त्यसको लागि हामी जस्ता उद्यम गर्न चाहाने महिलाहरूलाई प्रदेश तथा स्थानीय सरकारले बढी भन्दा बढी अनुदान र सहुलियतको व्यवस्था गर्न जरुरी छ । तब मात्रै महिलाहरूको चौतर्फी विकास सम्भव छ ।
साझा बिसौनी ।