३१ जना प्रहरीलाई कारबाही

साझा बिसौनी संवाददाता
सुर्खेत, ४ साउन ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७४/०७५ मा ३१ जना प्रहरीलाई कारबाही गरेको छ । प्रहरी अचारण विपरित क्रियाकलापमा संलग्न रहेको भन्दै एक वर्षमा ३१ जना प्रहरीलाई कारबाही गरिएको हो । आचरण सुधार गर्न विभिन्न कार्यक्रमहरू गरे पनि पेशाप्रति जवाफदेही नहुने प्रहरीलाई विभागीय कारबाही गरिएको जनाइएको छ ।


जिल्ला प्रहरी कार्यालय सुर्खेतले नियमित रूपमा अनुगमन गर्ने, सेवाग्राहीसँग गर्ने व्यवहारको बारेमा जिम्मेवार तथा जवाफदेही बनाउने, प्रहरी आचरण र व्यवहारको बारेमा अनुशिक्षण तालिम दिने लगायतका कार्य गरे पनि पेशाको मर्यादा भुल्ने प्रहरीलाई कारबाही गरिएको जिल्ला प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले जानकारी दिए । उनका अनुसार बलात्कार र हत्यामा संलग्न भएका दुई जना प्रहरी जवानलाई सेवाबाटै हटाइएको छ । प्रहरीले विभिन्न दर्जाका कर्मचारीलाई जरिवाना समेत गरेको छ ।
पटक–पटक विभागीय कारबाही गर्दा पनि आचरण सुधार नभएको र अवाञ्छित क्रियाकलापमा समेत संलग्न भएकाले कारबाही गरिएको एसपी चतुर्वेदीले जानकारी दिए । प्रहरी अनुशासन कायम राख्न छड्के अनुगमन, नागरिकबाट प्राप्त जनगुनासो तथा प्रहरी कार्यालयबाट सुपरिवेक्षण गरी राम्रो काम गर्नेलाई पुरस्कृत र गलत क्रियाकलापमा संलग्न व्यक्तिलाई प्रचलित कानुन बमोजिम कडा कारबाही गरिएको उनले जानकारी दिए । राम्रो काम गर्ने ३९ जना प्रहरीलाई सम्मान गरिएको जनाइएको छ । प्रहरीको व्यवहार सुधारका लागि गत आर्थिक वर्षमा पाँच वटा अनुसशिक्षण तालिम सञ्चालन गरिएको थियो । जसमा तीन सय १३ जना सहभागि थिए ।
एक हजार उजुरी फच्छ्र्यौट
जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक वर्षमा एक हजार उजुरी फच्छ्र्यौट गरेको छ । प्रहरी कार्यालयमा आउने उजुरीहरूमा सहमतिमा मिलापत्र तथा आवश्यक छानविन गरी मुद्दाको किनारा लगाएको हो । तथ्यांक अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा एक हजार तीन सय ७६ उजुरी जिल्ला प्रहरी कार्यालयमा परेका थिए । जसमा एक हजार ४६ उजुरी फच्छ्र्यौट गरिएको प्रहरीको तथ्यांकमा उल्लेख छ । तीन सय ३० उजुरी भने फच्छ्र्यौट हुँ बाँकी रहेका छन् । प्रहरीमा ठाडो उजुरी दिने तर पछि सम्पर्कमा नआउने गरेकाले उजुरी फच्छ्र्यौटमा चुनौती बनेको हो । अज्ञात चोरी, गाली गलौच तथा धाकधम्की, फेसबुक सम्बन्धी अपराध, दुरसञ्चार कार्यालयबाट विवरण उपलब्ध नहुनु, अन्यत्र जिल्ला तथा मातहतबाट समयमै उपस्थिति नगरादिने गरेकाले समयमा उजुरी किनारा लगाउन नसकिएको एसपी चतुर्वेदीले बताए ।
फेला परेनन् ९३ जना महिला
गत आर्थिक वर्षमा हराएका ९३ जना महिला अझै पनि बेपत्ता रहेको प्रहरीको तथ्यांक छ । जिल्लाबाट हराएका दुई सय ६ जना महिला मध्ये ९३ जना महिला फेला नपरेका हुन् । प्रहरीको तथ्यांक अनुसार सुर्खेतबाट हराएका एक सय १३ जना महिलाहरू फेला परेका थिए भने बाँकी महिलाहरू सम्पर्कमा आएका छैनन् ।
जिल्ला प्रहरी कार्यालय महिला तथा बाललिका सेवा केन्द्रका अनुसार गत आर्थिक वर्षमा तीन सय ३७ जना महिला तथा बालबालिकाहरू हराएका थिए । जसमध्ये एक सय ९६ फेला परे भने एक सय ३१ जना फेला परेका छैनन् । महिला तथा बालबालिका सेवा केन्द्रमा ७८ जना बालक, ४३ जना बालिका र दुई सय ६ जना महिला हराएको निवेदन परेका थिए । जसमध्ये ४९ जना बालक, ३४ जना बालिका र एक सय १३ जना महिला फेला परेका छन् । यस्तै, २९ जना बालक, नौ जना बालिका र ९३ जना महिलाहरू फेला परेका छैनन् ।
महिला तथा बालबालिका हराएमा प्रहरीमा उजुरी दिने तर, भेटिएपछि खबर नगर्ने गरेकाले पनि हराउनेको संख्या दिनदिनै बढ्दो रहेको छ । प्रहरी प्रमुख चतुर्वेदीले हराएको बालबालिका तथा महिला सम्पर्कमा आए प्रहरीलाई जानकारी गराउन आग्रह गरेका छन् । खुल्ला सिमानाका कारण सुर्खेतबाट हराएका महिला तथा बालबालिकाहरू भारत जाने गरेका छन् ।
मौलाउँदै गुण्डागर्दी
पछिल्लो समय सुर्खेतमा गुण्डागर्दी मौलाउँदै गएको पाइएको छ । प्रहरीको तथ्यांक अनुसार सुर्खेतमा गुण्डागर्दी बढेको छ । गुण्डागर्दी बढेसँगै प्रहरीले ठेक्का पट्टा लगायत होटल, रेष्टुरेण्टसँग अवैध रूपमा रकम असुलि गर्ने
गिरोहमाथि निगरानी बढाएको छ । प्रहरीले समाजमा अराजकता मच्चाउने व्यक्तिहरूलाई कानुनको दायरामा ल्याउन थालेको हो । गुण्डागर्दीविरुद्ध प्रहरी सशक्त भएर लागेसँगै दुई सय ५२ जना पक्राउ परेका छन् । अराजक गतिविधि गर्ने, स्कुल, कलेज पढ्ने विद्यार्थीलाई भौतिक आक्रमण गर्ने, मोबाइल लुट्ने, धम्काउने व्यक्तिलाई कानुनी दायरामा ल्याइएको हो ।
प्रहरीका अनुसार गत आर्थिक वर्षमा गुण्डागर्दी सम्बन्धिका एक सय ६३ मुद्दा दर्ता गरिएको छ । प्रहरीको सक्रियता बढाएसँगै सुर्खेतमा गुण्डागर्दी गर्ने धेरैलाई पक्राउ गरी आवश्यक कानुनी दायरामा ल्याइएको एसपी चतुर्वेदीले बताए । उनका अनुसार प्रहरीले सामाजिक विकृतिविरुद्ध पनि सशक्त रूपमा अभियान सुरु गरेको छ ।