राराको सौराइ
पृथ्वीबहादुर सिंह
जीवनको सक्रिय समय सकिएर ६६ औं वर्षसम्म आइपुग्दा मैले मेरो समय निरंकुश सामान्तवादको बिदाई गरी लोकतन्त्र स्थापना गर्नका लागि विभिन्न क्रियाकलापमा संलग्न भइ यही कर्णाली प्रदेशमा खर्चेको छु । निरंकुश सामन्तवादको नाइके राजतन्त्रको विदाई भयो । जनसंविधान घोषणा हुनुका साथै युगौंदेखिको केन्द्रीकृत व्यवस्थाको पनि अन्त्य भएर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भइसकेको छ । मेरो देश समाजवादको सपना बोकेर अगाडि बढिरहेको थियो । जनअधिकारको अल्पविराम थकाइलाई बिट् मार्दै सामन्ती व्यवस्थाले उत्पादन गरेका विकृति–विसंगती, संस्कार–संस्कृतिविरुद्ध साहित्यदेखि जनचेतना बढाउन सिर्जना गर्दै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत दिपनगरमा बसिरहेको थिएँ ।
वि.सं. को १६ औं शताब्दीसम्म सिंजा साम्राज्यको केन्द्रको रूपमा रहेको कर्णाली प्रदेश सम्पन्नताको प्रतिक मानिन्थ्यो । साम्राज्य विघटनपछि उम्रेका बाइसे–चौबीसे राज्य गोर्खालीले नेपाल एकीकरणको समयमा यही कर्णाली प्रदेशका राज्यहरूसँग युद्धमा धेरै क्षति ब्यहोर्नु परेको थियो । त्यही प्रतिशोधका कारण निरंकुश सामन्ती केन्द्रीय शासन व्यवस्थापको दुई सय ५० वर्षसम्म हरेक क्षेत्रको विकासमा पछाडि पारेकोले सात प्रदेशको सबैभन्दा ठूलो भू–भाग प्रकृति सम्पन्नता भएर पनि मानवीय जीवनस्तर सबैभन्दा कम रहेको राज्यका विभिन्न संघ–संस्थाको तथ्यांकले औंल्याउँदै आएका छन् । यसै विन्दुमा टेकेर कम लगानीबाट बढी आम्दानी गर्न सकिने पर्यटन विकास नै पहिलो प्राथमिकता राखी कर्णाली प्रदेश सरकारले २०७५ सालको पहिलो दिन वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा वलीको उपस्थितिमा कर्णाली–रारा पर्यटन वर्ष उद्घाटन गर्ने खबर सञ्चारमाध्यममा आएपछि मलाई पनि यो निर्णयले मेरो कर्णाली प्रदेशको प्रकृति सम्पदाको उपयोगबाट आर्थिक आर्जन गरी सम्पन्न गराउने सपना आफैमा प्रशंशायोग्य लाग्यो ।
हाम्रो प्रदेश भन्दा पनि अति विपन्न अरवका मुलुकहरूले जमिन तल तेल पत्ता लगाएर संसारभर तेल बिक्री गरेर सम्पन्न भएका छन् । भारतका उत्तराखण्डका राज्यहरूले विभिन्न देवदेविहरू, नदी किनार, डाँडाकाँडा, हिमालयमा मठमन्दिर दर्शन गर्न पठाएर आय आर्जनले सम्पन्न हुन पुगेका छन् । इजराइलले बालुवामा अर्काका देशबाट माटो लिएर कृषि क्रान्ति सम्पन्न गरेको छ । थाइल्याण्डले यौन खुला गरेर संसारभरका यौन पारखी बोलाएर त्यही करले मानवीय विकास सम्पन्नतातिर दौडेको छ । दुवैले विश्वको अग्लो ८२८ मिटर उचाइको बुर्जखलिफा भवन निर्माण गरी पर्यटकबाट आम्दानी गरी राज्यकोष बढाएको छ । चीनले पनि पर्यटन व्यवसायलाई प्रवद्र्धन गरेर मनग्य आम्दानी लिइरहेको छ । हाम्रो देशका सामान्ती शासकहरू भने जनताबाट उठेको कर तलका जनतालाई धर्मका नाममा कासी, हरिद्वार उत्तराखण्डदेखि द्वारिका भारत वर्षका अनेकौं हिँदु धर्म सम्प्रदायका मठमन्दिर दर्शन गरी मुक्ति पाउन खरबौं खर्चिने युगौंदेखि संस्कार संस्कृति जस्तै आनीवानी गर्दै आएका छौं ।
यही प्रकृतिले दिएको वरदान मानवीय श्रमले विकासको पहिचान गर्न नसकेकै कारणले पहिलो त नेपाल राज्य, दोस्रो कर्णाली प्रदेश पछाडि परेका हुन् । हिजो सामन्तवादले आफ्नो मात्र उत्थान चाह्यो अब लोकतन्त्रले सबै नेपालीको उत्थान हुने प्रक्रिया थाल्नुपर्छ । यस पटक कर्णली प्रदेश सरकारले ठीक निर्णय गरेको छ । यस पटक म पनि पूर्व राजा महेन्द्रले निरंकुशताको बलमा राराको छेउमा बसी रारा सौराई, फेरि उसैको लागि सिर्जेका कविता प्राकृतिक सुन्दरताले हृदयलाई छोएर नै पोखे होलान् भन्ने मनको खुलदुली मेटाउन जसरी पनि रारा पुग्नुपर्छ भन्ने मनलाई उचालेको थिएँ ।
मसँग अहिले खास आयस्रोत त छैन । जानको लागि मेरो नजिक कर्णाली प्रदेश सरकार र स्थानीय सरकार छ । अवश्य मलाई त कुनै साधनबाट पु¥याउलान भनि केही मन्त्रालयका स्वकिय सचिवहरूलाई अनुरोध गर्दै भनेँ, ‘मलाई रारा पर्यटन वर्ष उद्घाटनमा कुनै साधनबाट पु¥याउन सक्नुहोला ?’ सचिवहरूज्यू पट्कदै भन्नुहुन्थ्यो, ‘तपाईं जस्ता सिर्जना पोख्नेहरू आफ्नै पहलमा गएर महिनौं उतै हराउने कर्णालीका दुःख सुख प्राकृतिक सुन्दरताले सजाएर लिपिबद्ध गर्न जानु !’ त्यसपछि म नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष समक्ष विन्ती बिसाउन पुगेँ । अध्यक्षले भने ‘आफै त कताबाट रारा उक्लिनु भन्ने सोचमा छु ।’ त्यसपछि कर्णाली प्रदेशसभाका एक जना सदस्यलाई निवेदन राखेपनि खासै उक्लने उपाए सुझिएन । बहुदलीय व्यवस्था पुनस्र्थापना भएको एक अवधिमा सँगै सुर्खेत जिल्ला विकास समिति सदस्य रहेका मित्र गगंन सुनार लेकवेशी नगरपालिकाको प्रमुख बन्नु भएकाले पक्का भरोसाले रारा लिन अनुरोध गरेँ । हत्तपत्त ‘हुन्छ कमरेड, हुन्छ’ भने रारा जान उठेको समुन्द्रको ज्वारभाटा मनलाई शान्त बनाउनुभयो । जाने एकदिन मात्र अगाडि फोन गरेर भन्नुभयो ‘दुखका साथ भन्नुप¥यो कमरेड यहीका जनप्रतिनिधि जाने गाडि भरिन थाल्यो । हजुर अरु कुनै व्यवस्था गर्नुप¥यो ।’
रारा जानको लागि उच्च हिमाली लेकमा लाग्नसक्ने जाडो छल्न केही मित्रहरूसँग पेन्ट, जाकेट, झोला जुटाएका रारा जाने हुटहुटी पालेको मन खिस्रिक भयो । मनको खुलदुलीले राती अवेलासम्म निद्रा परेन । सोचें ‘यही भएर अहिलेसम्म पनि नातावाद, कृपावाद निगाहमा चल्ने सामान्तवादको धङधङी नहटी राजनीतिक नेतृत्वमा बस्नेहरूका कारण साहित्य पनि सम्पन्न हुनेहरूले नै सिर्जना गर्ने र राष्ट्रियस्तरमा मानसम्मान पाउन सफल भएका छन् । गतिशील सिर्जना गर्ने स्रजकहरू ओझेल मात्र परेका छैनन् नयाँ–नयाँ सिर्जनशीलतामा टेकेर देश अग्रगामी फट्को मारेर विकशित हुन सकेको छैन भन्ने अनुभव गर्दै मन हुडलियो । अनि सोच्न पुगेँ ‘विश्वका विकसित राष्ट्रहरूले हर कुनै विषयका सर्जकहरूलाई स्वदेशदेखि विदेश अवलोकन गर्न लाग्ने रकम, यातायातमा निशुल्क सुविधा र सिर्जना गर्ने समय, ज्ञान, विज्ञानका लागि खाने बस्नेसमेत व्यवस्था गरेका छन् । सिर्जनाले नै ज्ञान विज्ञान विकास हुन्छ । आज म तिनै मुलुकमा जन्मे हुर्केको भए फ्रि पास लिएर राराको सून्दरता अवलोकन गर्ने थिएँ भने मन दुखाउँदै निन्द्रादेवीले छोएपछि भुतुक्क निदाउँन पुगेको थिए ।
वि.सं. २०४० सालमा सुर्खेतदेखि जुम्ला चामल ढुवानी गर्ने ढुवानी सहयोगी रूपमा सुर्खेत उपत्यकाबाट छाउपडीको लेख जुम्ला खलंगा पुगी अनुभव संगाल्दा कति कठिन त्यो कर्णाली पहाडी जीवन सपना सँगै जोडिदै बहिनी सुमित्राको नागरिकता बनाउन कालीकोट जाँदा महावुको लिस्नी भीरको उकालो स्याँस्याँ फ्याँफ्याँ गर्दै डरले थरथर काँप्दै झोला बोकी उक्लिरहेका सपनाहरू देख्दादेख्दै ४ बजे बिहान निन्द्राबाट बिउँझिएको थिएँ । रारा जान उर्लेको मनलाई बिहानको शितलताले झमझम्याउन दीपनगरको घरबाट बुदबुदी हुँदै बुलबुले ताल पुगेँ । तालबाट निरन्तर झरीरहेका धाराहरूमा एकएक गरी नुहाउने काम गरेँ । दक्षिणमा उभिएको काँक्रेविहारको डाँडोमा पुनर्निर्माण हुन गइरहेको विशाल मन्दिर चिहाएर नमन गरेँ । त्यही नजिकै पश्चिम रहेको लाटीकोइली शिव मन्दिर सम्झेँ र त्यहीबाट मंगलगढीभित्र रहेको गढीमाई मन्दिर पुगी सिंजा साम्राज्यलाई साम्राज्यको मंगलाचरण शुभसाइत दिने देवीलाई फूल चढाएर सिंजा साम्राज्य हुँदै सिजाली सम्राटहरू विहार गर्ने सुरुको ताल पानी निकासपछि अहिले कर्णाली प्रदेशको राजधानी विशाल वीरेन्द्रनगर नगरउन्मुख भई कर्णाली प्रदेश विभिन्न जिल्लाहरूका सुविधा पाउन बेढंगको बस्ती बसाएर दगुरीरहेको छ । म यही देवभूमि मंगलगढीचौक हुँदै रारा जान पाइनँ, कर्णालीका व्यथाकथा सहित्यमा सजाएर पस्कन पाइनँ भनि घर फर्केर दलानमा टोलाइ रहेको थिएँ । काँक्रेविहारमा पलाएका पालुवाको सुमधुर सुगन्ध लिएर मन्द हावाले हानी रहेको थियो । मेरो घरको दक्षिण रहेको काठमसलाको रुखको डालामा आएर मतिर फर्केर कागँ कराउन थाल्यो । मलाई अलिअलि रिस उठेर आयो । भने ‘रारा जाने सबै योजना विफल भइ सक्यो अब अर्को नयाँ नौलाी के खबर ल्याएर आइस ।’ उसलाई भगाउन खोजेँ तर ऊ भने काँ काँ गरी उड्ने त्यही डालोमा आएर बस्ने गरिरहेको थियो । त्यही समयमा मेरो मोबाइलको घण्टी बज्यो उठाएर ‘हेलो’ भनँे । उताबाट म कविन्द्र केसी हुँ हजुरले रारा पर्यटन महोत्सव उद्घाटन हर्ने जाने मन बनाउनु भएको छ रे साधन नभएर रहनुभएको छ भनि कताकताबाट जानकारी आयो । जाने नै भए सिम्ता गाउँपालिकाका जनप्रतिनिधिहरू जाने भनि उपत्यका आइपुगेका छौं । कोचिएर जानसक्ने भए ८ बजेसम्म वीरेन्द्रनगर हटियालाईन नजिक रहेको साहारा होटल पुग्नुहोस्’ भनि आदेशात्मक खबर गर्नुभयो । म पनि ढुंगा खोज्दा देउता मिल्यो भनि आउँछु हजुर भनि उत्तर फर्काएर हतारहता आफ्नो सिर्जनाका केही पुस्तक झोलाभरी बोकेर घुमचौर पुगी अटोरिक्सा चढुँला भनि के निस्केको थिएँ ‘सधैं पत्रिका लिएर आउने भाइ निलकुमार तामाङ अटोरिक्सा नै लिएर पत्रिका दिन टुप्लुक्क आइपुगे । उनी सहयोगी, कर्मशील व्यक्ति हुन् । उनलाई भनेँ, ‘आज मलाई अलि जरुरी काम परेको छ, ८ बजे हटियालाइन सहारा होटल पुग्नुछ सहयोग गरन् बरु भाडा जे जति लाग्छ दिउँला’ भने । उनले भने ‘के चिन्ता गर्नुहुन्छ, यो अटो रिक्सा आज नै सञ्चालन गरेको छु, तपाईं जस्ता सर्जकलाई बसालेर लिन पाए साइत शुभ पनि हुन्छ जतिसके दिनु’ भनि बसाली हिँडाली हाले । बाटोमा उनीसँग सोधें ‘भाई कसरी नयाँ अटोरिक्सा किन्ने काम ग¥यौ ?’ उनले भनेँ ‘दाजु म पूर्व तराई सर्लाहीबाट आएर पत्रिका वितरणदेखि दिनभर अफसेटमा काम गरेर महिनाको ५०÷६० हजार कमाउन थालेको ६ वर्ष भयो । त्यही खाइपछि बचाएको ६ लाख रकमले यो अटोरैक्सा लिन सफल भएँ । मानिसले कर्मशील भएर काम गर्न सके हाम्रै देशमा सुन फल्दो रहेछ दाई । अब म अटोरेक्साबाट दोस्रो जीवन सुरु गर्न थालेको छु ।’
‘हो त भाइ ’ गर्नसके, लाज नमाने हामै्र माटोमा सुन फल्छ, म पानि यस पटक दुर्गम कहर कर्णाली अवलोकन गर्न रारा पर्यटन वर्ष उद्घाटन हेर्न जान थालेका छु’ भन्दा नभन्दै ८ बजे साहारा होटल पुगियो । तामाङ भाइलाई धन्यवाद दिँदै १०० रूपैयाँको नोट थमाएँ । उनी पनि यात्रा सफल होस् दाई भनि फर्किए । २ वटा स्कारपियो भाडाका जीप मलाई पर्खेर बसेका रहेछन् । सबैले न्यानो सलाम गरेपछि म पनि जीपमा कोचिएर बसें । ९ बजे मोटर हिँडेर घण्टाघरबाट मोडिए क्याम्पस रोड हुँदै नारायण आयल पुगी तेल भरेर बुलबुले ताल एक फन्को घुमेर दर्शन गरी पूर्वमा रहेको देउती बज्यै सँग यात्रा सफल बनाउनु भनि नमन गरें । आकाशमा बादल फाट्टफुट्ट देखिएको थियो । यो वर्षको भाद्र महिनादेखि वर्षा नभएकोले गर्मी पनि छिट्टै बढ्न थालेको थियो । गाडी सिधै नरसिंह दल गुल्म सैनिक इलाका हुँदै उकालो चढ्यो । छेडा हुँदै उकालो चढिरहेका बेला सुर्खेत उपत्यकाका कामको ब्यग्रतामा चलमलाईरहेको सबै भू–भाग छर्लङ्ग, देखिएको थियो । हामीहरू भने बुलबुले तालबाट राारताल सौराइ लिन गइरहेको गफ गरिरहेका थियौं ।
म बसेको जीपको अगाडि सिम्ता गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला शाही, महिला बालबालिका शाखाका कृष्णकुमार शाही, गाउँपालिका कार्यकारी सदस्य दीपा शाही, तुल्सी सिंह हुनुहुन्थ्यो । पछािडको सीटमा म, भीमबहादुर रावत, लालबहादुर बुढा मगर, ड्राइभर चुँडामणि अधिकारी थियौं । अर्को पिकअप जीपमा सिम्ता गाउँपालिकाका प्रमुख कविन्द्र केसी, मोहन विसी, राजेन्द्र सिंह, ज्ञानेन्द्र हमाल, प्रकाश शर्मा र ड्राइभर घनश्याम थापा रहनुभएको थियो । गाडीमा गीत बजिरहेको थियो ः
झल्को लाली ओठको
बाटो खुल्यो, मोटर चल्यो जुम्लाकालिकोटको…
(क्रमशः अर्को साता)
साझा बिसौनी ।