डा. केसीलाई काठमाडौं लगियो

रक्तपात रोक्न काठमाडौं लागेंः डा. केसी

साझा बिसौनी संवाददाता
सुर्खेत, ३ साउन ।
जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई सरकारले बल प्रयोग गरेर काठमाडौं लगेको छ । २० दिनदेखि अनशनमा रहेका डा. केसीले आफ्ना माग पूरा नभएसम्म काठमाडौं नजाने अडानमा थिए । तर सरकारले बिहीवार बल प्रयोग गरेर डा. केसीलाई सेनाको हेलिकोप्टरमार्फत् काठमाडौं लगेको हो ।
डा. केसीले काठमाडौं जान अस्वीकार गरेको र समर्थकलेसमेत अनशनस्थलमा छिर्न नदिएपछि प्रहरीले बल प्रयोग गरेको थियो । सोही क्रममा दोहोरो झडप मात्र भएन, प्रहरीले अस्पतालभित्रै गोली नै चलायो । अवस्था तनावग्रस्त बनेपछि डा. केसी पनि लचिलो बने । दिनभरको प्रयासपछि प्रहरीको सहयोगमा स्थानीय प्रशासनले डा. केसीलाई अनशनस्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बाहिर निकालेको हो ।
डा. केसीलाई जुम्लाबाट काठमाडौं लिनका लागि बिहीवार बिहान करिब साढे नौ बजे नेपाली सेनाको हेलिकोप्टर जुम्ला पुगेको थियो । त्यसलगत्तै केसीका समर्थकहरू आक्रोशित बनेका थिए । डा. केसीलाई जसरी पनि काठमाडौं लैजाने रणनीतिका साथ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला मन्त्री नरेश भण्डारी, सरकारी वार्ता टोलीका संयोजक तथा शिक्षा सचिव खगराज बराल र स्वास्थ्य विभागका डा. गुणराज लोहनी बिहीवार जुम्ला पुगेका थिए । डा. केसीलाई उपचारका लागि जबर्जस्ती काठमाडौं लैजाने रणनीतिसहित पुगेको मुख्यमन्त्री सहितको सरकारी टोली र डा. केसी पक्षबीच सहमतिको प्रयास भएको थियो ।
तर वार्तामा सहमति नभएपछि दिउँसो १२ बजेपछि सरकार बल प्रयोग गर्ने निश्कर्षमा पुग्यो । डा. केसीलाई जबर्जस्ती लैजान नदिने अडानका साथ अनशन कक्ष बाहिरका दुवै गेटदेखि अनशन कक्षसम्म मानव सांगलो बनाएर बसेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीमाथि अन्ततः प्रहरीले लाठी चार्ज ग¥यो । सोहीक्रममा विद्यार्थी र प्रहरीबीच लगातार एक घण्टासम्म दोहोरो झडप भएको थियो । दोहोरो झडपका कारण अवस्था तनावग्रस्त बनेपछि डा. केसीले काठमाडौं जाने सहमति जनाएका थिए । डा. केसीले ‘रत्तपात रोक्नुहोस्, म काठमाडौं फर्किन्छु’ भनेपछि प्रहरी पछाडी हटेको थियो । त्यसपछि प्रहरीले अस्पताल भित्र र बाहिरको भीडलाई नियन्त्रणमा लिएपछि डा. केसीलाई दिउँसो चार बजेपछि मात्र सेनाको हेलिकोप्टरमा राखिएको थियो ।
‘रक्तपात रोक्न काठमाडौं लागें’
जुम्लामा २० दिनसम्म अनशन बसेका डा. केसीले सरकारले रक्तपात गर्न थालेपछि आफू काठमाडौं फर्किन राजी भएको बताए । सरकारले बल प्रयोग गरेर अस्पताल बाहिर निकालेपछि डा. केसीले भने, ‘म सरकारसँग झुकेको छैन, सरकारले यहाँ रक्तपातको अवस्था सिर्जना ग¥यो । यसलाई रोक्ने मैले काठमाडौं जाने निर्णय गरें, अब माग पूरा नहुँदासम्म काठमाडौंमै अनशन जारी राख्छु ।’
‘प्रहरी प्रशासन दमनमा उत्रियो, सरकार रक्तपात मच्चाउने अवस्थामा प्रस्तुत भयो’ डा. केसीले भने, ‘राज्यको दमनले यहाँ मानवीय र भौतिक क्षति बढ्दै जाने सम्भावना देखें, मलाई सरकारले जबर्जस्ती काठमाडौं लिएको छ । तर मलाई जहाँ लिन्छ त्यहीं अनशन बस्नेछु, कर्णालीको पक्षमा मेरो लडाईं जारी रहनेछ ।’ आफ्ना समर्थकमाथी बल प्रयोग र गोली प्रहार भएको भन्दै केसीले सरकार अत्तालिएको बताए । ‘सरकारले मेरा माग पूरा गरेको भए, म आफै काठमाडांै फर्किन्थ्येँ, तर दमनकारी सरकारले बल प्रयोग गरेर जान बाध्य बनायो’ केसीले भने, ‘विद्यार्थीलाई मार्नकै लागि प्रहरीले गोली चलाएको होे, तर प्रहरीको गोली प्रहरीमाथि नै लाग्दा विद्यार्थी बाँचे ।’ डा. केसीले रुदै भने, ‘अब अस्पतालमा तोडफोड नगर, राज्यको दमनकारी शैलीले कर्णालीलाई दुखी बनाएको छ ।’
झडपमा तीन दर्जन व्यक्ति घाइते
सरकारले अनशनरत डा. केसीलाई काठमाडौं लिने जानकारी पाएपछि बिहीवार बिहानैदेखि प्रतिष्ठानका विद्यार्थीले मानव साङ्गलो बनाएर बसेका थिए । डा. केसीका समर्थकहरू पनि अनशनस्थल बाहिर प्रहरीलाई रोक्न जम्मा भइसकेको थिए ।
त्यहीक्रममा डा. केसीलाई बाहिर निकाल्न प्रहरी अस्पतालभित्र प्रवेश गर्न खोज्यो । विद्यार्थी र समर्थकबाट अवरोध भएपछि प्रहरीले लाठी नै चार्ज गरेको थियो । सोही क्रममा प्रतिष्ठानका विद्यार्थी र बल प्रयोग गर्न पुगेको प्रहरीबीच अस्पतालभित्रै दोहोरो झडप भयो । जसमा करिब तीन दर्जन बढी घाइते भएका छन् । घाइते हुनेहरूमा दुई दर्जन बढी विद्यार्थी र अस्पतालमा कार्यरत चिकित्सकहरू छन् ।
यस्तै झडपका क्रममा प्रहरी पनि घाइते भएका छन् । प्रहरीले हानेको लाठी र फुटाइएका ढोकाको सिसा लागेर विद्यार्थी र चिकित्सक घाइते भएका हुन् । त्यस्तै विद्यार्थीले प्रहरीलाई रोक्न अस्पतालमा रहेका कुर्ची, टेबल र अन्य सामाग्रिहरूले प्रहरीमाथि प्रहार गरेका थिए । जसबाट प्रहरी घाइते भएका हुन् । घाइतेमध्ये अधिकांश विद्यार्थीको टाउकोमा चोट लागेको छ । सामान्य उपचारपछि कतिपय घाइतेहरू घर फर्किएका छन् भने केहीको
प्रतिष्ठानमै उपचार भइरहेको अस्पतालले जनाएको छ ।
घाइतेमध्ये २५ वर्षीय प्रहरी जवान कमल उपाध्यायको अवस्था गम्भिर रहेको छ । दाहिने छातिमा गोली लागि गम्भीर घाइते भएका उपाध्यायलको प्रतिष्ठानमा उपचार सम्भव नभएको भन्दै छातीको गोली ननिकालेर थप उपचारका लागि काठमाडांै रिफर गरिएको छ । उनको स्वास्थ्य अवस्था खतरायुक्त रहेको चिकित्सकले बताएका छन् । उनलाई बिहीवार नै उपचारका लागि हेलिकोप्टरमा राखेर काठमाडौं लगिएको छ । झडपका क्रममा प्रहरीले विद्यार्थीलाई हान्न खोजेको गोली प्रहरी जवान कमल उपाध्यलाई नै लाग्दा उनी गम्भीर घाइते भएको हुनसक्ने चिकित्सकहरूको भनाइ छ ।
गोली नचलाएको दाबी
कर्णाली प्रदेश सरकारले डा. केसीलाई काठमाडौं लैजाने क्रममा अस्पतालमा गोली नचलेको दाबी गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अस्पतालमा गोली चलेको हल्ला निराधार भएको बताए । जुम्लाबाट डा. केसीसँगै फिर्ता भएका मुख्यमन्त्री शाहीले सुर्खेत विमानस्थलमा पत्रकारसँग बोल्दै प्रहरीले गोली र अश्रुग्यास नै प्रयोग नगरेको बताएका हुन् ।
द्वन्द्व चाहानेहरूले अस्पतालमा तोडफोड र तनावको अवस्था सिर्जना गरेपछि बाध्य भएर लाठी चार्ज गरिएको मुख्यमन्त्री शाहीले जनाए । उनले भने, ‘डा. केसीलाई उपचारका लागि काठमाडौं पठाउन हामी सफल भएका छौं, तर केही अराजक व्यक्तिहरूले अस्पतालमा घुसेर तोडफोड गरे । हामीलाईसमेत अस्पतालभित्र पस्न दिएनन्, अस्पताल भित्रको क्षति रोक्न प्रहरीले लाठी चार्ज गरेको हो ।’ डा. केसीको नाममा अस्पतालभित्र घुसपैठ भएको र उनीहरूले प्रहार गरेको सीसा लागेर एकजना प्रहरी गम्भीर घाइते भएको उनको भनाइ छ ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीआईजी सुरेशविक्रम शाहले पनि जुम्लामा गोली नचलेको बताए । उनले भने, ‘हाम्रोतर्फबाट गोली नै चलेको छैन, अवस्थालाई नियन्त्रणमा लिन लाठीमात्र चार्ज गरेका हौं । दोहोरो झडपका क्रममा प्रहरीमाथि प्रदर्शनकारीबाट सीसा र भाटा प्रहार भयो, त्यसबाट एक जना प्रहरी घाइते बनेका हुन् ।’ अस्पतालभित्र घुसेर अराजक समूहले तोडफोड र आक्रमण गरेपछि तनाव पैदा भएको उनको भनाइ छ । प्रहरीले सहज रूपमा स्थितिलाई नियन्त्रणमा लिएको भन्दै उनले ठूलो क्षति हुनबाट रोकेकोसमेत दाबी गरे ।
अस्पतालमा दश लाखको क्षति
डा. केसीलाई काठमाडौं लैजाने क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी र समर्थकहरूले अवरोध गरे । सोहीक्रममा विद्यार्थी र प्रहरीबीच दोहोरो झडप भयो । जसको कारण त्यहाँ तोडफोड हुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा दश लाख भन्दा बढीको भौत्तिक क्षति भएको छ । झडपका क्रममा अस्पतालका सीसा र ढोकाहरू फुटाइएका छन् ।

प्रकाशित मितिः   ४ श्रावण २०७५, शुक्रबार १७:५३