नेतृत्वविरुद्ध जनप्रतिनिधिहरू

साझा बिसौनी संवाददाता
सुर्खेत, २ साउन ।
सुर्खेतमा स्थानीय तहको नेतृत्वविरुद्ध जनप्रतिनिधिहरूले नै संघर्षको घोषणा गरेका छन् । निर्वाचित भएको एक वर्षसम्म जेनतेन मिलेका जनप्रतिनिधिहरू दोस्रो वर्षमा प्रवेश गरेसँगै विभाजित हुन पुगेका छन् । हालै सुरु भएका गाउँ तथा नगरसभामा विभाजित बनेका जनप्रतिनिधिहरू बीचको दूरी बढ्न थालेको छ ।
जिल्लाका दुई वटा स्थानीय तहमा मुख्यगरी समस्या पैदा भएको छ । भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकाको विवाद सतहमा आएको छ । नेतृत्वले बहुमतका आधारमा आफूहरूका एजेण्डा सम्बोधन नगरेको र अवैधानिक रूपमा सभाहरू सम्पन्न गरिएको भन्दै जनप्रतिनिधिहरू आन्दोलित भएका हुन् । भेरीगंगा र बराहतालमा कांग्रेसको नेतृत्व छ । जहाँ जबर्जस्ती सभा सम्पन्न गरिएको र असहमति समेत राख्न नदिएको भन्दै नेकपाबाट निर्वाचित जनप्रतिनिधिहरू आन्दोलनमा उत्रिएका छन् ।
आफ्नो माग पूरा गराउन बराहतालका असन्तुष्ट जनप्रतिनिधिहरू वीरेन्द्रनगर आएको भोलिपल्टै भेरीगंगाका असन्तुष्ट जनप्रतिनिधहरूले बुधवार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेका हुन् । पत्रकार सम्मेलनमार्फत् नै उनीहरूले नगरपालिकाको नेतृत्वविरुद्ध कडा रूपमा उत्रिने घोषणा गरे । तत्काल नगरसभा पुनः सुरु नगरिए कडा आन्दोलनमा जाने उनीहरूले चेतावनी दिएका छन् । नगर र गाउँसभामा प्रमुख र उपप्रमुखहरूले आफूहरूले उठाएका एजेण्डाकोा सुनुवाइ नगरेको भन्दै भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकाका जनप्रतिनिधिहरूले अब नेतृत्वलाई सहयोग गर्न नसक्ने बताएका छन् ।
बहुमतको आडमा सभामा आवश्यक एजेण्डाहरूमाथि छलफल नगरी जनताको अपेक्षा विपरित बजेट विनियोजन गरिएको आरोप उनीहरूले लगाएका छन् । ‘विधिवत रूपमा नगरसभा नै सञ्चालन भएन, नियमानुसार समापन पनि गरिएको छैन’ भेरीगंगा नगरपालिका वडा नम्बर १३ का अध्यक्ष टिकाराम सुवेदीले भने, ‘कार्यपालिकाको बैठक पुस्तिकामा असहमतिसमेत जनाउन पाएनौं, यो कस्तो लोकतन्त्र हो ?’ नगरसभामा सदस्यहरूलाई बोल्ने पनि नदिइएको र निरंकुश ढङ्गले सभा समापन गरिएको उनको आरोप छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा नगरसभा सञ्चालन कार्यविधिको ठाडो उल्लंघन भएकाले अब पुनः नगरसभा सूरु हुनुपर्ने उनको भनाइ छ । आफूहरूका माग सम्बोधन नभए कडा रूपमा थप संघर्षका कार्यक्रमसहित जनताको माझमा जाने चेतावनी उनले दिए ।
नेतृत्वसँग असन्तुष्ट बनेका जनप्रतिनिधिहरूले माग सम्बोधन नभए सभाबाट पारित भएको बजेट र योजना कार्यान्वयन हुन नदिने बताएका छन् । साथै नेतृत्वविरुद्ध संघर्ष गर्ने र यसले विधिको शासन स्थापित गराएरै छाड्ने उनीहरूको दाबी छ । एक वर्षअघि जनतालाई विकास र समृद्धिको नारा दिएका जनप्रतिनिधिहरू अहिले आएर स्वार्थमा अल्झिन पुगेका छन् । जसका कारण सर्वसाधारणमा निराशा पैदा भएको छ । असन्तुष्ट पक्षले आन्दोलनको घुर्की लगाइरहँदा भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्यले अब नगरसभा कुनै पनि हालतमा नदोहोरिने बताइन् । आफूहरूले बहुमतको आडमा नभइ नगरपालिकाको दिगो विकास रणनीति अनुसार महŒवका आधारमा गौरवका आयोजनामा बजेट विनियोजन गरिएको समेत दाबी गरिन् ।
‘नगरको आवश्यकताका आधारमा विकास आयोजना र सोही अनुसार बजेट विनियोजन भएको छ’ उनले भनिन्, ‘शिक्षा, स्वास्थ्य, खानेपानी र सडकलाई उच्च प्राथमिकता दिएर बजेट पास गरेका छौं ।’ वडाअध्यक्षहरूले निकै महŒवकांक्षा राखेकाले सहमतिको प्रयास हुँदाहुँदै पनि नगरसभाको विरोध गरिएको उनले भनाइ छ । यस्तै बराहताल गाउँपालिकाका वडा अध्यक्षहरूले पनि गाउँसभा पूनः सञ्चालन गरी केन्द्रको टुङ्गो लगाउनुपर्ने माग राख्दै आन्दोलित भएका छन् । उनीहरूले पनि गाउँसभाबाट छिट्टै केन्द्रको टुङ्गो नलगाएर सशक्त रूपमा नेतृत्वविरुद्ध आन्दोलन गर्ने बताएका छन् । नेतृत्वबाट बहुमतको कदर नभएको भन्दै वडा अध्यक्षहरूले वडापालिकाका काम नगर्ने, गाउँपालिकाको काम प्रभावित पार्ने र तालाबन्दी गर्ने लगायतका आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित मितिः   ३ श्रावण २०७५, बिहीबार १४:३६