राजनीतिक नेतृत्व अब दलितले लिनु आवश्यक
बसन्तकुमार विश्वकर्मा
‘जसको शक्ति उसैको भक्ति’ भन्ने उखानटुक्का कतिपय सन्दर्भमा मिल्दोजुल्दो हुँदोरहेछ । बहुदल आउनुभन्दा सामन्ती र सामन्तीसँगै अर्धसामन्तीद्वारा शासित मुलुकवाट अगाडि बढ्नु कम चुनौतीपूर्ण नहुनसक्छ । शक्तिको आडमा कानुन आफै हुने, राजा महाराजाहरूलाई कानुनले नछुने, कानुन भन्दामाथि हुने, हातमा लिने गरेका दृष्टान्तहरू हामी इतिहासबाट थाहा पाउँछौं । जस्तै राणाले शक्तिको आडमा आफू अनुकूल कानुन बनाउने र लागू गर्ने गर्थे । जातीय विभेदको सवालमा शुद्र वा दलितहरूमध्ये कोही मन प¥यो भने उच्च जातिमा उकाल्ने र ठूला जाति भनिएकाहरूलाई मन परेन भने सानो जातिमा ओराल्ने राणाहरूको लागि सामान्य कुरा थियो । अहिले पनि त्यस वखतका जातीय अहंकारवादले निरन्तरता पाइनै रहेको छ । राणाकालीन, पञ्चायतकालीन जातीय अहंकारवाद, अहमतावादले नै आरक्षणको विरुद्धमा बोल्नु चिन्ता व्यक्त गर्नु जातीय अहंकारवादको निरन्तरता नै हो । जवसम्म हिन्दु वर्णाश्रम, पुरानो सामाजिक संरचना, रितिरिवाज अनुसार दलित बनाइएकाहरू पनि नेपाली मूलबासी धर्तीपुत्र नै हुन् । समाजमा पछाडि पारिएका समुदाय नै दलित हुन । जो मान्छेसँग देश निर्माण गर्ने कलाकौशल र सीप छ उसलाई शासकले दलित भनेका थिए ।
नेपालका हरेक निकायमा सबैको समानुपातिक समावेशिताका आधारमा हुनुपर्दछ । यो कसैले कसैलाई अधिकार दिने र लिने कुरा होइन । सामान्य चेतनाको कुरा हो, आम नेपालीहरू जस्तै दलितहरूको पनि जन्मसिद्ध अधिकार हो भन्ने आत्मबोध व्यवहारमा लागू गर्ने हिम्मत आउँदैन तबसम्म जातीय अहंकारवादको धङधङी, सत्ता र भत्ताको बलमा अझै मजबुत भएर जाने देखिन्छ । जातीय अहंकारवादीहरूलाई बोल्ने मौका पनि दलितकै जिम्मेवार व्यक्तिहरूबाटै दिने गरिएको देखिन्छ । किन कि दलितका जिम्मेवार व्यक्तित्व आफ्नै बलबुता र क्षमताले राजनीति गर्दैनन्, क्षमता भएर पनि ठूला जातिहरूसँग खुला प्रतिस्पर्धामा उत्रेर पार्टी सदस्य, सरकार सदस्य हुँदैनन्, तबसम्म यस्ता कुवाच्य, कुनियत, कु–व्यवहार सिंगो दलित समुदाय माथि रहिरहने छन् । राजनीतिक दलका नेताहरू विशेष गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसमा पार्टी स्थापित नेता भएर पनि दलित कोटामा आरक्षित कोटाबाटै केन्द्रीय सदस्य हुनु, पार्टीका अन्य पदमा आसिन हुनु, दलित नेताहरूको लाचारी, विलासी, जोस जागरको कमी हो, महा लाचारिपना हो । सीमित आरक्षणलाई अवसरको रूपमा लिनु पर्दछ, नोकरी, जागिरको रूपमा होइन । एक पटक दलित आरक्षण कोटाबाट पार्टीको सरकारी उच्च तहमा पुगिसकेका व्यक्तिहरूले अर्को पटक खुला प्रतिस्पर्धाबाट अगाडि बढ्ने हिम्मत दलितका विभिन्न पार्टीमा स्थापित नेताहरूले गर्नुपर्दछ । आरक्षणका कोटाहरू अन्य दुर्गम ठाउँका नयाँ नेताहरूलाई दिएर उहाँहरू आफ्नै पार्टीका नेताहरूसँग खुला प्रतिस्पर्धा गर्न के ले रोकेको छ ? यदि खुला प्रतिस्पर्धाबाट राजनीति गर्नुभयो भने मूल नेतृत्वसँग दलितका हकअधिकारका बारेमा आँट र हिम्मतका साथ टेबल ठोकेर कुरा गर्ने साहस उहाँहरूमा आउँनेछ । यदि आरक्षण कोटामै हिम्मतका साथ प्रस्तुत हुनुभयो भने अर्को पटक परिदैन कि भन्ने तनावले उहाँहरूलाई पछ्याइ रहन्छ । दलितका सवालमा बुलन्द आवाज सुनिदैनन् । दलितका अधिकारबारे आवाज उठाउने भन्दा पनि मूल नेतृत्वसँग चाकडी गरेर आजीवन दलित आरक्षण कोटाबाटै पार्टी नेता र सरकारमा कसरी जान सकिन्छ भन्ने ध्यान भइरहने छ । अहिलेसम्म दलित आन्दोलन कुहिरोको काग जस्तै छ, दलित जनसमुदायलाई ज्यान मारे पनि भएको छ, जिम्मेवार व्यक्तिहरूबाटै दलित समुदाय विरुद्ध गैरजिम्मेवार अभिव्यक्ति आइरहेका छन् । त्यसको प्रतिवाद कसले गर्ने । जिम्मेवार दलित नेताहरू आजीवन आरक्षणको गाँस हालेर चुप छन् । सर्वसाधारणको कुरा कसले सुन्ने ?
दलित समुदायलाई चाहिन्छ दलित कोटा, आरक्षणबाट पार्टीको, सरकारको उच्च ओहदामा पुगेपछि दलित समुदायविरुद्ध हुने कुनै पनि अमानवीय हर्कतको विरुद्धमा सदन, सडक तातियोस् तर त्यो भइरहेको छैन । त्यसैले गर्दा एकपटक आरक्षण कोटाबाट पार्टी नेता, आदि भइ सकेकाहरूले खुला प्रतिस्पर्धा गरेर नयाँलाई मौका दिने संस्कारको विकास गरौं । सबै ठूला जातिले, सरकार, संविधानले गरिदिने होइन । दलित समुदायले पनि आन्तरिक रूपमा तारतम्य मिलाउनु पर्दछ । त्यसो गर्दा नयाँले मौका पाउँछन् । दलित सदस्यहरूको पार्टी, संसदमा पनि संख्या बुलन्द हुन्छ । खुला प्रतिस्पर्धाबाट चुनिनेहरूले अतिवादी ज्यादतीको खुलेर हिम्मतका साथ आफ्नो पार्टी र सरकारमा विद्रोह गर्ने हिम्मत दलित नेतृत्वमा आउनेछ । तर अहिलेसम्म जति हिम्मत, साहस दलित नेतृत्वमा हुनुपथ्र्यो त्यो देखिएको छैन । किन कि मुल नेतालाई चिडाएमा अर्को पटक पार्टीको, सरकारको उपयुक्त आसन नपाउने दलित कोटामा नपर्ने प्रबल सम्भावना हुन्छ ।
दलितको हितको वारेमा गर्नु पर्ने काम नगर्ने, खेल्नु पर्ने भूमिका नखेल्ने, अनि दलितको आरक्षित कोटा आजीवन सीमित व्यक्तिले लिइरहने दुरदराजका व्यक्तिहरूले अवसर नपाउने, यो जस्तो दलित समुदायका लागि दुःखद् र लाचारीपना भन्दा अरु के हुनसक्छ । दलित भनेपछि सबै–सबै कुरामा कम्जोर छैनन् । सम्पन्न दलितहरू पनि छन । उनीहरूले आफ्नै बलबुता प्रयोग गरेर राजनीतिमा आउनु प¥यो । शोषण, दमन र ज्यादतिको विरुद्धमा एकजुट हुनुप¥यो । अनि मात्र गैरदलितहरूले पनि दलित समुदायलाई हेपेर, दबाएर बोल्ने हिम्मत गर्ने छैनन् । दलित समुदायको आत्मबल बढ्नेछ । अनि दलित आन्दोलनले सशक्त रूप लिनेछ । नत्र गैरदलितहरूको भजनकृतन गरेर, आरक्षण प्रवद्र्धन पार्टी, सरकारको सदस्यको जागिर खाँदै अजित मिजार, लक्ष्मी परियार, उर्मीला टमटा, समिता नेपाली, भक्तबहादुर सुनार, सेते दमाई, मनवीर सुनार, मना सार्की र माया विक आदिको तमासे बन्नु वाहेक हामीमा केही उपलब्धि हुनेछैन ।
(लेखक मुक्ति समाज नेपालका अध्यक्ष हुन् ।)
साझा बिसौनी ।