डा. केसीको मुटुमा गम्भीर समस्या

साझा बिसौनी संवाददाता
सुर्खेत, २ साउन ।
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई साताभन्दा लामो समयदेखि अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ । हाइपोक्यालेमियाबाट पीडित तथा सेप्सिसको उच्च जोखिममा रहेका डा. केसीलाई मुटुमा गम्भीर समस्या देखिएको छ ।
उनको मुटुमा मंगलवार राती साढे बाह्र बजे र बुधवार बिहानीको चार बजे गरी दुईपटकमा नौ वटासम्म एक्टोपिक बिट्सहरू देखिनुका साथै यस किसिमको गडबडी पहिलेको तुलनामा यस पटक धेरै देखिएको उनको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् ।
यस्तै, स्लाइनपानी दिन खोलिएको दोस्रो हातको नसामासमेत संक्रमण देखिएपछि निरन्तर घटिरहेको सेतो रक्तकोशिका र बढ्दो संक्रमणका कारण डा. केसीलाई सेप्सिस हुने जोखिमसमेत बढ्दै गएको चिकित्सकहरूले बताएका छन् । डा. केसीको रगतमा समेत पोटासियम, म्यागनेजियम र क्याल्सियमको मात्रासमेत कम हुँदै गएको छ । रगतमा पोटासियम, क्याल्सियम, म्याग्लेसियम लगायतका इलेक्ट्रोलाइट्स घट्दा डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या आउन सक्दछ । जसबारे डा.केसीलाई अवगत गराउदाँसमेत उनले ती तत्व लिन अस्वीकार गरेको चिकित्सकहरूले जनाएका छन् ।
डा.केसीलाई यसअघि मंगलवार नै श्वासप्रश्वास सम्बन्धी समस्या देखिएको थियो । उनलाई श्वास–प्रश्वासमा बुधवार झनै धेरै कठिनाइ भएका कारण चौबीसै घण्टा अक्सिजनको सहायतामा राखिएको चिकित्सकहरूले जनाएका छन् । चिकित्सकहरूका अनुसार यो समस्या भइरहेमा डा. केसीलाई जुनकुनै बेला पनि सीसीयुमा राखेर उपचार गर्नुपर्ने हुनसक्छ । जुन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपलब्ध छैन । यसबाहेक, डा. केसीलाई छाती दुख्ने, वाकवाकी
लाग्ने, रिंगटा लाग्ने, मांसपेशी बाउँडिने समस्यामा हुनुका साथै निरन्तर नसाबाट स्लाइन पानी दिइनुको बाबजुद डिहाइड्रेसन (जलवियोजन) का लक्षणहरू देखिएको उनको उपचारमा संलग्न चिकित्सक डा. पुजन रोकाया, डा. सिद्धार्थ थामी तथा डा. धिरज गुरुङ्गले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
यसैबीच सरकारले वार्ताको नाममा झारा टार्ने काम मात्र गरेको जनाउँदै अनसनरत डा. गोविन्द केसीले म्यान्डेटविना वार्ता नहुने बताएका छन । एक विज्ञप्ती जारी गर्दै डा. केसीले सरकारले प्रारम्भिक चरणको वार्ता गरेकोमा हालसम्म सरकारका तर्फबाट माग पूरा गर्न कुनै पहल नभएको जनाएका छन् । आवश्यक म्यान्डेट नै नदिइ कर्मचारीहरू मात्र सम्मिलित वार्ता टोली पठाएर झारा टार्ने काम मात्रै भएको उनको भनाइ छ । यस्तो अवस्थामा आफ्ना मागहरू सम्बोधन गर्न सरकारले आवश्यक वातावरण नबनाएसम्म अर्को चरणको वार्ता गर्नुको औचित्य नहुने केसीको भनाइ छ । ‘वार्तालाई तार्किक निष्कर्षमा पु¥याउन तत्काल चिकित्सा शिक्षा विधेयक फिर्ता गरेर पूर्ण म्यान्डेटसहितको वार्ता टोली पठाउन सरकारलाई आग्रह गर्दर्छौं । त्यसो भएपछि मात्रै अर्को चरणको वार्तामा बस्ने जानकारी पनि गराउँछौं,’ केसीले उल्लेख गरेका छन् ।

प्रकाशित मितिः   ३ श्रावण २०७५, बिहीबार १४:३३