कर्णाली प्रदेशमा नेपाल बारको भूमिका
शेरबहादुर खत्री ‘कञ्चन’
भूमिका
नेपाल बार एसोशिएसनको स्थापना विधिवत रूपमा वि.संं. २०१३ साल पौष ७ गते भएको हो । देशैभरका जिल्ला र उच्च अदालतमा नेपाल बारका एकाईहरू अस्तित्वमा रहेका छन् । ती बार एकाईमार्फत् नेपाल बारले विधिको शासन, संवैधानिक सर्वोच्चता, स्वतन्त्र न्यायपालिका र पेशागत हकहितलाई प्राथमिक उद्देश्य राखेर विधिको शासन स्थापनार्थ अग्रणी भूमिका निर्वाह गरिरहेको हुनुपथ्र्यो तर बिडम्वना कर्णाली प्रदेशमा नेपाल बारका एकाईहरू खासै प्रभावकारी देखिदैंनन् । बारको मूल उद्देश्य सत्ताबाट हुने नागरिक अधिकारमाथिको अतिक्रमण, गैरसंवैधानिक अधिकारमाथिको अतिक्रमण र गैरसंवैधानिक कार्यविरुद्ध निरन्तर ‘वाचडग’ को भूमिका निर्वाह गर्नु हो । त्यसैले नेपाल बार एक स्थायी नागरिक समाज र स्थायी प्रतिपक्ष हो भन्दा अन्यथा नहोला ।
विधिको शासन र संवैधानिक सर्वोच्चतासहित उच्च लोकतान्त्रिक संस्कारको विकास गर्न नेपाल बारले निरन्तर आफ्नो दायित्व बहन गर्नुपर्नेमा नेपाल बारका एकाईहरू आफ्नो अहम भूमिका बहन गर्ने दायित्वबाट विमुख भएका छन् । बार एसोशियसनले न्यायधिशहरूसँग एउटै टेबलमा बसेर बैचारिक र सैद्धान्तिक अन्तरक्रिया गर्ने हैसियत राख्नुपर्छ । तर त्यो हैसियत नेपाल बारका कर्णाली प्रदेशका एकाईहरूका नेतृत्वले कायम गर्न सकेको देखिदैंन भने अर्कोतिर आफूले नेतृत्व गरेको अदालतभित्र कार्यविधि, कजलिस्ट व्यवस्थापन, सुनुवाइ पद्दति तथा न्यायपालिकाको साखमा अनुचित र नकारात्मक प्रभाव पार्ने भनेर सुन्ने गरिएका बेथितिहरूको पहिचान गरी आवश्यक छलफल गरी समाधानका उपायहरूको खोजी गर्न सकेको देखिदैंन ।
बारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न पेशागत हैसियत र बौद्धिक मापदण्ड तय भएको हुनुपर्छ । पेशागत र वौद्धिक परिचय नेपाल बारका एकाईको नेतृत्व गर्ने नेतृत्व वर्गमा हुन जरुरी छ । बारलाई निष्पक्ष, पेशागत र साझा बौद्धिक संस्था बनाउने र स्वतन्त्र न्यायपालिकालाई संवद्र्धन र प्रवद्र्धन गर्न अभिभावकत्व भूमिका निर्वाह गर्न योग्य बनाउनुपर्छ । के कर्णाली प्रदेशका बार एकाईहरूले त्यस्तो भूमिका बहन गरेका छन् त ? खासमा भन्नुपर्दा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेका जिल्ला र उच्च बार एकाईले महŒवपूर्ण भूमिका बहन गर्न सकेको देखिदैंन । नेपाल बारका एकाईहरू अस्तित्वमा भए पनि ती एकाईले गर्ने गतिविधिहरू प्रायः शून्य छन् । यस अवस्थामा बार एकाई हुनु र नहुनुमा खासै फरक पर्दैन । त्यो औपचारिकतामा मात्र सीमित रहन्छ । नेपालमा औपचारिकतावाद एक प्रकारको रोग हो । कर्णाली प्रदेशको राजधानीमा भएका बारमा पनि औपचारिकतावाद हावी भएको छ । बारले यस्ता औपचारिकतालाई अन्त्य गरेर बारको नेतृत्वमा भएका हरेक गतिविधिको अभिलेखीकरण हुनसक्ने कार्य प्रणाली थालनी गर्न सक्नुपर्छ ।
किन पर्यो बार ओझेलमा ?
नेपाल बारका हरेक एकाईहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय समसामयिक सामाजिक मुद्दाहरू जुन आम मानिसहरूको चासोको विषय बनिरहेका हुन्छन् र चौतारी तथा चिया पसलमा समेत छलफलको विषय बनिरहेका सामाजिक मुद्दाहरूमा सरोकारवालाहरूलाई जमघट गराएर आवश्यक छलफल, विचार गोष्ठी, अन्तरक्रिया आदिको माध्यमबाट विचारको मन्थन गर्न, गराउन सक्छ र आफ्नो आधिकारिक धारणा राख्न सक्छ, जुन कार्य गर्न सकेको देखिदैन । परिणाम स्वरूप सुर्खेतमा भएका बार एकाईहरूले समग्र समाज र राष्ट्रलाई प्रभावित पार्ने सामाजिक मुद्दालाई बहसको विषय बनाउने हैसियत कायम गरेको देखिदैन । परिणाम स्वरूप कर्णाली प्रदेशमा नेपाल बारको भूमिका सधैंजसो ओझेलमा परेको छ । यसको अर्थ नेपाल बारले रचनात्मक गतिविधि गर्न नसक्नु र रचानात्मक बन्न नसक्नु हो, जसको परिणामस्वरूप कुनै पनि सरकारी तथा गैरसरकारी संघ–संस्थाले आफ्ना गतिविधिमा नेपाल बारलाई विरलै सम्झिने गरेका छन् भने नेपाल बारका एकाईले पनि अरुलाई सम्झिन सकेको छैन । कर्णाली प्रदेशको राजधानीमा भएका नेपाल बारका एकाईको सबै भन्दा दुर्भाग्य यही हो । समय, परिस्थिति र आवश्यकतालाई मध्यनजर गरी बारले आफ्नो भूमिकालाई गतिशील बनाउनु जरुरी भइसकेको छ । यसतर्फ सम्पूर्ण बारको सदस्यहरूले आ–आफ्नो बार एकाईलाई घचघच्याउने बेला भएको छ । त्यसपछि मात्र हामीले बारको भूमिकालाई मर्यादित र प्रभावकारी बनाउन सक्छौं । त्यसतर्फ बिलम्व नगर्ने हो की ?
विशेषज्ञको रोष्टर
आज कर्णाली प्रदेश समग्र राष्ट्रलाई सकारात्मक सन्देश दिने हैसियतमा पुगेको छ । राष्ट्रलाई गति दिनको लागि सबै भन्दा पहिले कर्णाली प्रदेशलाई गतिशील बनाउन सकिएन र फेरि पनि कर्णालीको पहिचान गरिबी, अभाव, भौगोलिक विकटता, अन्धविश्वास, अशिक्षा, बेरोजगारी आदि इत्यादि नै बन्यो भने समग्र राष्ट्र पछि पर्नेछ । युगौंयुगसम्म भौगोलिक विकटता देखाएर पछि पारिएको, अपार सम्भावना भएको कर्णाली प्रदेशलाई एउटा समृद्ध र सभ्य प्रदेशको पहिचान दिन राज्यका निकायहरूलाई विधिसम्मत् रूपमा सञ्चालन गर्न र गराउन नेपाल बारको एकाईहरूले महŒवपूर्ण भूमिका निर्वाह गर्न सक्छन् । कर्णाली प्रदेश सरकारले नेपाल बारको भूमिकाको खोजी गर्नुपर्छ । त्यसको लागि प्रदेश सरकारलाई आवश्यक कानुन निर्माण गर्नको लागि सहयोग गर्न नेपाल बारले विशेषज्ञ व्यक्तिहरूको रोष्टर बनाउनु आवश्यक छ । यदि सरकारले बारलाई कानुन निर्माण गर्न सहयोग मागेमा के कसरी सहयोग गर्ने भन्नेबारे पूर्व तयारी गरेर बसेन भने भोली पनि बारको भूमिका ओझेलमा नै पर्नेछ । बारले पनि राज्यका निकायलाई कानुन निर्माण गर्न आवश्यक सहयोगको तयारीमा बस्नु नै उचित हुन्छ । प्रदेश सरकारले पनि नेपाल बारको भूमिकाको खोजी गर्नु आवश्यक छ ।
शून्य गतिविधिमा नेपाल बार
कर्णाली प्रदेशको मुटुमा भएका बार एकाईहरूले अन्य आवश्यक गतिविधि त गर्न सकेनन् तर आगामी भाद्र १ गतेबाट लागू हुने देवानी र फौजदारी संहिताको सहजीकरण र अभिमुखीकरण तालिम सघन रूपमा सन्चालन गरेर कर्णाली प्रदेशका १० जिल्लाका कानुन व्यवसायीहरूलाई आवश्यक तयारी गर्न नेतृत्वदायी भूमिका समेत खेल्न सकेको देखिदैंन । यस अवस्थामा सुर्खेतमा भएका नेपाल बारका एकाईले केन्द्रीय बारलाई अनुरोध गरेर कानुनका विज्ञहरूको उपस्थितिमा आवश्यक तालिम तथा नयाँ कानुनको जानकारी गराउनुपथ्र्यो । जुन कार्य बारको अगुवाइमा आपर्यन्त हुन सकेको छैन । यसमा बारको नेतृत्व चुकेको छ । नेतृत्वको कमजोरीका कारण कर्णाली प्रदेशमा बारको भूमिका प्रभावकारी हुन सकेको छैन । बारलाई गतिशील र रचनात्मक बनाउन बारको नेतृत्व असक्षम सावित भएको छ । यसरी बारलाई सधैंजसो निरिह र भूमिकाविहीन बनाएर कहिलेसम्म आनन्द लिने हो ? सचेत जनहरू बेलैमा सोच्नुपर्ने होइन र ? बारलाई शून्य गतिविधिमा पुर्याउनु समग्र बारको निरिहता सावित भएको छ ।
निश्कर्ष
बदलिंदो परिस्थिति, आवश्यकता अनुसार विधिको शासन स्थापना गर्न गराउन नेपाल बारको भूमिका र दायित्व झन बढेको छ । विधिको शासन स्थापना गर्न बारले धेरै कामहरू गर्नुपर्ने बेला भएको छ । जसमा सुर्खेत जिल्लाको हकमा कानुन व्यवसायीहरू अदालतमा पुगेपछि प्रहरी, सर्वसाधारण सँगै प्रतिक्षालयमा बस्नुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर पक्षसँग आवश्यक भेटघाट गर्ने ठाउँको सम्म व्यवस्था पनि छैन । खासमा बारको आवश्यकता कामको लागि की नामको लागि ? त्यति मात्र होइन जिल्ला अदालतमा छुट्टै मेलमिलाप कक्षको समेत व्यवस्था छैन । यसतर्फ बारको नेतृत्वको ध्यान नपुगेको हो की, आवश्यकता महसुस नगरेको हो ? यसरी पक्षले मेलमिलापकर्तालाई खोज्दै भौतारिनुपर्ने बाध्यताको अन्त्य कहिलेसम्म हुन्छ यसतर्फ नेतृत्वको ध्यान केन्द्रित हुन जरुरी छ । यसरी बारका पदाधिकारीहरूले पदीय दायित्व बहन गर्दै बार छ भन्ने कुराको अनुभूति गराउनु पर्छ र पदको गरिमालाई कायम राख्न सकारात्मक रूपमा सक्रिय हुनुपर्छ । नवआगन्तुक कानुन व्यवसायीको पेशागत भूमिका सुनिश्चित गर्न बारले ठोस कदम चाल्न सक्नुपर्छ । निश्कर्षमा बार भनेको समग्र सदस्यहरूका लागि गौरवको विषय बनाइनुपर्छ भनेर सोच्न सकेमात्र कर्णाली प्रदेशमा बारको उपस्थिति प्रभावकारी बनाउन सकिन्छ की ? तसर्थ सशक्त, गतिशील र प्रभावकारी बार नै कर्णाली प्रदेशको आवश्यकता हो, सबैलाई चेतना भया ।
साझा बिसौनी ।