स्वार्थको चंगुलमा स्थानीय तह

विभाजनतिर जनप्रतिनिधि, बजेट र योजना कार्यान्वयनमा आशंका

साझा बिसौनी संवाददाता
सुर्खेत, १ साउन ।
स्वार्थ बाझिन थालेपछि स्थानीय तहमा जनप्रतिनिधिहरू विभाजित हुन थालेका छन् । विवादका कारण स्थानीय तहका सभाहरू होहल्ला र विरोधकाबीच पनि सम्पन्न भएको घोषणा गरिएका छन् । कर्णाली प्रदेशका स्थानीय तहमा जनप्रतिनिधिहरूबीच मुख्यगरी स्थानीय तहको केन्द्रको विषयमा बिवाद देखिएको छ ।
यस्तै बजेट बाँडफाँड र योजना छनौटमा पनि कुरा नमिल्दा गाउँ तथा नगरसभाहरूमा नै लफडा भएको हो । स्वार्थ बाझिएर बिवाद भएपछि यो प्रदेशका केही स्थानीय तहका सभाहरू जबर्जस्ती सम्पन्न भएको घोषणा गरिएका छन् भने केही स्थानीय तहका सभाहरू असन्तुष्ट जनप्रतिनिधिहरूले बहिस्कार गरेका छन् ।
बजेट बाँडफाँडमा बिवाद भएपछि सुर्खेतको भेरीगंगा नगरपालिकाको नगरसभामा असन्तुष्ट जनप्रतिनिधिहरूले मेयर भुपेन्द्रबहादुर चन्दलाई सोमवार केही घण्टा नियन्त्रणमा लिए । नगरका हरेक वडामा एक करोडका दरले बजेट विनियोजन हुनुपर्ने माग पूरा नभएपछि असन्तुष्ट बनेका जनप्रतिनिधिहरूले जबर्जस्ती सभा सम्पन्न गरिएको भन्दै अब बजेट कार्यान्वयन हुन नदिने चेतावनी दिएका छन् । आफूहरूलाई सभाको निर्णय पुस्तिकामा असहमतिसमेत उल्लेख गर्न नदिइएको नेकपा समर्थित जनप्रतिनिधिहरूको गुनासो छ । नगरसभाका ७० जना सदस्यहरू मध्ये २८ जना सदस्यहरूले अब होहल्लाकाबीच पारित भएको नगरका बजेट र योजना वडा तहमा कार्यान्वयन हुन नदिने बताएका छन् ।
गाउँसभाबाटै गाउँपालिकाको केन्द्र टुङ्गो लगाउने विषयमा विवाद भएपछि सुर्खेतको बराहताल गाउँपालिकाको सभा पनि हो–हल्लाकै बीचबाट सम्पन्न भएको घोषणा गरिएको छ । यो गाउँपालिकामा केन्द्रको विषयमा विगतदेखि नै विवाद रहेको छ । यसअघि गाउँसभाबाट केन्द्रको टुङ्गो लगाउने निर्णय भएको थियो । तर सोमवार सभाको बैठकमा बहुमत सदस्यहरूले केन्द्र टुङ्गो लगाउन माग गरे पनि अध्यक्ष तेजबहादुर बस्नेत बीचमै बाहिरिएका थिए । उपाध्यक्ष शोभा शर्माले सभा सम्पन्न भएको घोषणा गरेकी थिइन् । ५४ जना सदस्यहरू रहेको सभामा ३२ जना सदस्यहरूले केन्द्रको टुङ्गो लगाउन माग गर्दागर्दै सभा सम्पन्न भएको घोषणा गरिएपछि असन्तुष्ट जनप्रतिनिधिहरू न्याय खोज्दै वीरेन्द्रनगर आइपुगेका छन् ।
वराहताल वडा नम्बर १० का अध्यक्ष हरिलाल सलामीले भने, ‘जबर्जस्ती सभा सम्पन्न गरिएको छ, बहुमत सदस्यहरूको असहमति छ । हामीले निर्णय पुस्तिकामा असहमति जनाउनै पाएनौं, तत्काल गाउँसभा पुनः सञ्चालन गर्नुपर्ने हाम्रो माग छ ।’ हाल वडा नम्बर ५ को बड्डिचौरमा गाउँपालिकाको केन्द्र रहेको छ । तर वडा नम्बर १० को ओदालतालमा गाउँपालिकाको केन्द्र सार्नुपर्ने अडान केही जनप्रतिनिधिहरूले नै गर्दै आएका छन् । यही एजेण्डा गाउँसभामा निर्णयार्थ पेश नभएपछि जनप्रतिनिधिहरू विभाजित बनेका हुन् । असन्तुष्ट पक्षले पुनः गाउँसभाको माग गरे पनि गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले सभा सम्पन्न भइसकेकाले पुनः सञ्चालन हुन नसक्ने बताए । यता असन्तुष्ट पक्षले भने कडा संघर्षमा उत्रिने चेतावनी दिएका छन् ।
केन्द्रकै विषयमा विवाद पेचिलो बन्दै गएपछि डोल्पा र पश्चिम रुकुममा पनि स्थानीय तहका जनप्रतिनिधिहरू विभाजित भएका छन् । डोल्पाको ठूलीभेरी नगरपालिकाको केन्द्र दुनै वा जुफाल भन्ने विषयमा विवाद भएपछि छुट्टाछुट्टै नगरसभाहरू सम्पन्न भएका छन् । नगरप्रमुख गणेशबहादुर शाहीको नेतृत्वमा जुफालमा र उपप्रमुख योगेन्द्रबहादुर शाहीको नेतृत्वमा दुनैमा नगरसभा सम्पन्न भएको घोषणा गरिएका छन् । केन्द्रको विवाद पेचिलो भएसँगै जनप्रतिनिधिहरू विभाजित भएका कारण नगरको बजेट र योजना कार्यान्वयनमा चुनौती देखिएको छ । जिल्लाको मुड्केचुला गाउँपालिकामा पनि केन्द्रको टुङ्गो लाग्न सकेको छैन । जसका कारण त्यहाँ पनि विवाद कायमै छ ।
पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकाको गाउँसभामा वहुमतको आधारमा सम्पन्न भएको घोषणा भएपछि असन्तुष्ट जनप्रतिनिधिहरूले सभा नै बहिस्कार गरेका छन् । गाउँपालिकाको केन्द्रको विषयमा सहमति नजुटेपछि विभाजित भएका जनप्रतिनिधिहरूबीच गाउँसभामा बिवाद भएको हो । हाल केन्द्र खारनेटामा रहेकोमा सिम्रुतमा पनि केन्द्रको माग भइरहेको छ । केन्द्रकै विषयमा जनप्रतिनिधिहरू नै विभाजित भएपछि केही सदस्यहरूले गाउँकार्यपालिकाको बैठकसमेत बहिस्कार गर्दै आएका छन् । दैलेखको नारायण नगरपालिकाको नगरसभा पनि विवादकाबीच सम्पन्न भएको घोषणा गरिएको छ । जिल्ला समन्वय समितिबाट खटाइएका दुई जना कर्मचारीलाई नगरपालिकामा हाजिर हुन दिने र नदिने विषयमा नगरसभामा बिवाद भएको हो । कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले बहिस्कार गरे पनि नगरसभा सम्पन्न भएको घोषणा गरिएको हो । जनप्रतिनिधिका स्वार्थ बाझिएपछि नयाँ आर्थिक वर्षका लागि विनियोजन भएको बजेट र पारित भएको योजनाहरू कार्यान्वयन हुनेमा आशंका पैदा भएको छ ।

प्रकाशित मितिः   २ श्रावण २०७५, बुधबार १३:५८