“मेरा लागि क्रिकेट नै सबैथोक”

वीरेन्द्रनगर–७ ईत्रामका रविन्द्रजंग शाही सानैदेखि खेलकुदमा रुचि राख्थे । क्रिकेट भनेपछि त झन् हुरुक्कै हुन्थे । बचपनदेखि नै त्यही रुचि र लगावले आज उनलाई क्रिकेट खेलाडी बनायो । आमा देवीकुमारी शाही र बुबा मोहनप्रकाश शाहीको कान्छो सन्तानको रूपमा वि.सं. २०५६ सालमा जन्मिएका रविन्द्रले कक्षा नौ पढ्दादेखि क्रिकेट खेल्न थाले । क्रिकेटप्रति उनको यति धेरै लगाव छ कि क्रिकेटबाहेक बाहिरको जीवन उनले सोचेकै छैनन् । त्यसैले भन्छन्, ‘खेलकुद नै मेरो जीवन हो, क्रिकेट नै मेरा लागि सबैथोक ।’
रविन्द्रले सुर्खेतमा हुने विद्यालयस्तरीय क्रिकेट प्रतियोगितादेखि उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाइसकेका छन् । सन् २०१४ मा मलेसियामा भएको १६ वर्षमुनीको एसीसी प्रिमियर लिग र सन् २०१६ मा श्रीलंकामा सम्पन्न भएको १९ वर्षमुनीको एसीसी एसिया कपमा नेपालको राष्ट्रिय टिमको सदस्यको रूपमा उनले लेखिसकेका छन् । क्रिकेटमा नै आफ्नो जीवन सम्पूर्ण गर्ने निधो गरेका उनको लक्ष्य भनेको नेपाली राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरू खेल्नु हो । जुन लक्ष्य पूरा गर्न उनी क्रिकेटमै समर्पित भएका छन् । सुर्खेतमा क्रिकेट एकेडेमी सञ्चालन गरेर नयाँ नयाँ क्रिकेट खेलाडीहरू उत्पादन गर्ने योजना समेत बनाएका शाहीले आफ्नो क्रिकेट करिअरको बारेमा साझा बिसौनी सहकर्मी सीता वलीसँग यसरी खोलेः


सानो छँदादेखि नै मेरो रुचि खेलकुदमा थियो । त्यसमा पनि क्रिकेट त मेरो जीवन हो । म घरको कान्छो छोरा, यसैपनि आमाबुबाले मेरो चाहाना पूरा गर्नमा कुनै कमी राख्नुहुन्न । मैले खेल क्षेत्रबाटै परिवार र देशलाई चिनाउने प्रयास सानै उमेरबाट गरेको छु । त्यो गुण मेरो परिवार र मेरो देशले भुल्नुहुन्न ।
मलाई खेलक्षेत्रमा सबैभन्दा ठूलो सहयोग मेरो दाईको नै छ । म वीरेन्द्रनगरको उषा बालबाटिका सुर्खेतमा कक्षा ९ पढ्दादेखि नैै क्रिकेट खेल्दै आएको छु । मैले सन् २०१४ मा मलेशियामा सम्पन्न भएको १६ वर्षमुनीको एसीसी प्रिमियर लिग र सन् २०१६ मा श्रीलंकामा सम्पन्न भएको प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाइसकेको छु । उमेर समूहको राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउनु ठूलो अवसर हो । नेपालमै सम्पन्न भएको विभिन्न प्रतियोगिताहरूमा पनि भाग लिइरहेको छु ।
नेपालमा खेल क्षेत्र र खेलाडीहरूको भविष्य जति राम्रो छ, त्यति नै चुनौती र अप्ठ्याराहरू पनि छन् । खेलकुदमा सरकारले अपेक्षा गरे अनुसारको लगानी गरेको छैन । खेलकुद मैदान, खेलकुद सामग्री र प्रशिक्षणको अभावका बाबजुद पनि नेपाली खेलाडीहरू देशको पहिचानको लागि खेल खेलिरहेका छन् । काठमाडौंमा जति सुर्खेतमा पनि खेलक्षेत्रका लागि सुविधा छैन । खेलाडीहरूका लागि स्पोन्सर जति भेटाउन सक्यो त्यति राम्रो हुन्छ तर सुर्खेतमा स्पोन्सर भेटाउन सकिंदैन । न त स्थानीय तह र प्रदेश सरकारले नै खेल क्षेत्रमा लगानी गर्न सकेको छ । खेल क्षेत्रबाट मैले आफ्नो व्यक्तिगत खर्च त टारेको छु । स्पोन्सर पाउने हो र निरन्तर खेल्न पाउने हो भने खेलक्षेत्रबाट आर्थिक लाभ पनि राम्रै छ । खेलक्षेत्रको महंगो खेल क्रिकेट पनि हो । सबै सामान आफै किन्नुपर्छ । महंगा सामान आंफैले किन्नुपर्दा कहिले काहीं आर्थिक अभाव पनि व्यहोर्नुपर्छ ।
मलाई खेलाडी हुँ भन्दा गर्व लाग्छ । खेलकुद देशको पहिचान हो र व्यक्तिको स्वास्थ्य राम्रो बनाउने माध्यम पनि हो । पहिलेको जस्तो खेल जीवनमा अब अप्ठ्यारो छैन । खेल सामग्रीहरू पर्याप्त मात्रामा पाइन्छन् । खेल क्षेत्रको विकासको लागि निजीक्षेत्रले समेत लगानी गर्नुपर्दछ । नेपाल सरकारले वर्षमा एक÷दुईवटा मात्रै प्रतियोगिता खेलाउँछ त्यतीले मात्रै खेल क्षेत्रको विकास सम्भव छैन । धेरैभन्दा धेरै खेल खेलाउनु पर्दछ ।
सुर्खेतमा खेलकुदको लागि प्रयाप्त मैदान छैन । त्यसैले पनि खेल्न अप्ठ्यारो हुन्छ । विभिन्न समयमा खेलाडीहरूलाई प्रशिक्षण दिनुपर्दछ । एउटै क्षेत्रमा निरन्तर लागि प¥यो भने अवश्य सफल भइन्छ । मेरो पेशा, व्यवसाय जे भने पनि अब यही खेल नै हो । खेलबाट नै मैले मेरो जीवनलाई अगाडि बढाउने लक्ष्य राखेको छु । वीरेन्द्रनगर–७ ईत्राममा नै मैले क्रिकेट ऐकेडेमीको स्थापना गर्ने तयारीमा छु । मलाई खेल बाहेक अन्य क्षेत्रमा रुची नै छैन ।

प्रकाशित मितिः   २ श्रावण २०७५, बुधबार १३:५४