औद्योगिक क्षेत्रका लागि सम्भाव्यता अध्ययन

साझा बिसौनी संवाददाता
सुर्खेत, ३० असार ।
कर्णाली प्रदेशस्तरिय औद्योगिक क्षेत्र स्थापना गर्नका लागि सुर्खेतको भेरीगंगा नगरपालिकामा पूर्व सम्भाव्यता अध्ययन थालिएको छ । सुर्खेतको साटाखानी, भेरीगंगा नगरपालिका लगायतका क्षेत्रहरूमा स्थलगत अध्ययन थालिएको हो ।
औद्योगिक क्षेत्र स्थापनाका लागि एक हजार विगाह जग्गा चाहिने भए पनि साटाखानीमा एक सय विगाह मात्र जग्गा रहेकोले पुनः भेरीगंगा नगरपालिकाको वडा नं. ६,९,१० र ११ को बीच भागमा रहेको क्षेत्रको स्थलगत अध्ययन गरिएको हो । शनिवार मन्त्रीसहितको एक टोलीले उक्त क्षेत्रको स्थलगत अध्ययन गरेको छ । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्री, भेरीगंगाका नगर प्रमुख भुपेन्द्रबहादुर चन्द, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष एवम् महाप्रबन्धक नन्द किशोर बस्नेत लगायतको टोलीले स्थलगत अध्ययन गर्नुका साथै अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको छ ।
औद्योगिक क्षेत्र स्थापना गर्नका लागि नगरपालिकाको तर्फबाट क्षेत्र स्थापना स्थलका सामुदायिक वन, सार्वजनिक स्थल तथा वडा कार्यालयहरूबाट आवश्यक प्रक्रिया थाल्ने निर्णय भएको छ । स्थापना क्षेत्रमा पूर्व सम्भाव्यता अध्ययनका लागि संघीय सरकारबाट ४० लाख रूपैयाँ विनियोजन भइसकेको छ । जसबाट विस्तृत परियोजना प्रतिवेदन तथा वातावरणीय प्रभाव मूल्यांकन कार्यको थालनी गरिने जनाइएको छ । यस क्षेत्रमा औद्योगिक क्षेत्र स्थापनाका लागि उपयुक्त स्थान हुनसक्ने गरी प्रक्रिया अघि बढेको लिमिटेडका अध्यक्ष बस्नेतले जानकारी दिए । उक्त क्षेत्र स्थापना पश्चात यस क्षेत्रमा रोजगारी समेत सिर्जना हुने उनले जानकारी दिए । उनले कर्णाली प्रदेशका प्रत्येक नगरपालिका तथा गाउँपालिकामा दुई सय रोपनी बराबरको जग्गामा औद्योगिक ग्राम २० स्थानमा निर्माण गरिने समेत जनाए ।

प्रकाशित मितिः   ३१ असार २०७५, आईतवार १५:५२