पढ्दै, कमाउँदै
त्रिपुरासुन्दरी नगरपालिका–२ डोल्पाकी तिलाकुमारी थापा घरकी जेठी छोरी हुन् । उनीभन्दा पछाडि दुई भाइ र एक बहिनी छन् । बुबा मनराम थापा र आमा पन्ना थापाको कोखबाट वि.सं. २०५६ साल ७ महिना १५ गते जन्मिएकी तिला सानैदेखि पढाइमा मध्यम खालकी थिइन् । सरस्वती माध्यमिक विद्यालय दुनै डोल्पाबाट वि.सं. २०७२ सालमा एसएलसी पास गरेकी तिलाले पूर्ण छात्रवृत्तिमा सोही विद्यालयमाबाट नै प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरिन् । डोल्पाबाट प्रविणता प्रमाणपत्र तह सकेर वि.सं. २०७४ सालमा सुर्खेत झरेकी तिलाले हाल जनज्योति माध्यमिक विद्यालय बराहताल गाउँपालिका ५ बड्डिचौरमा १८ महिने भेटेनरी जेटीए पढ्दैछिन् । वि.सं. २०६९ सालमा बुबालाई गुमाएकी तिलाको काँधमा भाइबहिनी पढाउने र आमालाई पाल्ने ठूलो जिम्मेवारी छ । पढाइ सकेर केही वर्ष जागीर गरी त्यही पैसाले व्यवसाय गर्ने सोचमा रहेकी तिला थापाको कलेज लाइफबारे साझा बिसौनी सहकर्मी सीता वलीसँग यसरी साटेकी छिन्ः
मैले २०७२ सालमा दुनै डोल्पाको सरस्वती माध्यमिक विद्यालयबाट एसएलसी पास गरेकी हुँ । परिवारको मध्यमखालको आर्थिक अवस्था र मेरो अनुशासनले मलाई एसएलसी पास गरिसकेपछि पूर्ण छात्रवृत्तिमा पढ्ने अवसर मिलेको थियो ।
कलेजको मेरो पहिलो दिन एकदमै रमाइलो भयो । पहिलेदेखि नै पढ्दै आएको विद्यालयमा दुईवटा अनुभूति गर्न पाइयो । विद्यालय जीवन र कलेज लाइफको थलो एकै ठाउँ भयो, मलाई एकदमै खुशी लागेको थियो । मैले प्लस टू पूर्ण छात्रवृत्तिमा पढ्ने भएकोले छात्राबासमा नै बस्ने गर्दथें । म कलेजबाट फर्किसकेपछि पनि रमाइलो अनुभूति भयो । विद्यालय र कलेजको पढाइ फरक हुँदो रहेछ । एउटै थलो जहाँ मैले विद्यालय र कलेजको अनुभूति गर्न पाएको थिएँ । पढाइ भने एउटै थलो भए पनि फरक हुँदो रहेछ । विद्यालयमा शिक्षकहरूले गृहकार्य दिने र विद्यार्थीहरूलाई बढी हेरचाह गर्नुहुन्छ भने कलेजमा त्यो वातावरण नहुँदो रहेछ । म कलेज बाहेकको समय पढेरै बिताउने गर्दछु ।
म कर्णालीको विकट क्षेत्रमा जन्मिएको मान्छे, यहाँ (सुर्खेत) जस्तो सेवा सुविधा त त्यहाँ कसरी पाउनु र । तर सुर्खेतमा आएपछि पनि म फिल्म हेर्नको लागि हलमा गएको छैन । जीवनमा मैले फिल्म हल देखेकै छैन । प्रेमको परिभाषा पनी कसरी गर्नु घरपरिवारलाई त म आफूभन्दा पनि धेरै माया गर्छु । तर अरु प्रेमबारे अनभिज्ञ नै छु आजसम्म । कलेज लाइफमा क्लास बंक त झन् मैले गर्दै गरिन । म घरको जेठी छोरी, कृषक परिवारमा जन्मिएकी मलाई उच्चशिक्षाको अनुभूति हुनु अगाडि नै पितृशोक परेको थियो । २०६९ सालमा मेरो बुबाको मृत्यु भयो । मैले अब बुबाको भूमिका निर्वाह गर्नुपर्ने छ । आमालाई पाल्ने र भाइबहिनीलाई नपढाइ मेरो जिम्मेवारी पूरा हुँदैन । त्यसैले मेरो ध्यान घरपरिवारप्रति जिम्मेवारी बहन गर्नमै छ । मेरो भाइबहिनीको भविष्य र मेरो आमाको खुशी नै मेरो जीवनको लक्ष्य हो ।
मेरो कलेज लाइफ अरु विद्यार्थी साथीहरूभन्दा फरक छ । म विद्यार्थी मात्रै होइन अभिभावक पनि हो । म कलेजमा आउँदा विद्यार्थीको भूमिका निर्वाह गर्छु तर घरमा भाइबहिनी र आमाको लागि अभिभावकको भूमिका मैले निर्वाह गर्दै आएकी छु । अहिले त भाइबहिनी साना छन् जेनतेन आमाले दुःख गरेर पढाउनु भएको छ । तर भाइबहिनीको उच्च शिक्षाको लागि मैले केही न केही सोच्नै पर्छ ।
मैले आफैले कमाउँदै पढ्दै पनि गरिरहेकी छु । मलाई डोल्पाबाट सुर्खेतसम्म आएर यसरी कमाउँदै पढ्दै गर्ने अवसर जुराइदिने मेरो अंकल हुनुहुन्छ, खगेन्द्र भट्टराई । उहाँको यो सहयोग म कहिल्यै भुल्न सक्दिन । उहाँकै सहयोगमा म आज पैसा कमाउँदै पढ्दै गरिरहेकी छु ।
बुबापछिको घरको जिम्मेवारी अब मेरो काँधमा आएको छ । मैले सधैं सोच्ने गर्छु की भाइबहिनीको भविष्य कसरी बनाउँ । सानोतिनो जागिरको भरमा मेरो तीन जना भाइबहिनीको खर्च पु¥याउन पनि नसकिने होला । आमा पनि वृद्ध हुँदै जानुभएको छ । अब मेरो अन्तिम उपाय केही वर्ष जागिर गरी बचेको पैसाबाट व्यवसाय सुरु गर्नु नै हो । म नेतृत्व गर्न सानैदेखि मन पराउँछु । मलाई राजनीतितर्फको नेतृत्व त्यति मनपर्दैन तर अन्य समाजको चेतनास्तर वृद्धि गर्ने खालका तालिम र गोष्ठीहरू गर्न एकदमै मनपर्छ ।
साझा बिसौनी ।