‘मेगा बसपार्क’ को खोजी

साझा बिसौनी संवाददाता
सुर्खेत, २८ असार ।
प्रदेश रहेको हालको बसपार्कले राजधानी सहरको सवारी चापलाई थेग्न नसAAलाई थेग्न सक्ने ‘मेगा बसपार्क’ को खोजी सुरु भएको छ । वीरेन्द्रनगरमा रहेको हालको बसपार्कले राजधानी सहरको सवारी चापलाई थेग्न नसक्ने भएपछि प्रदेशकै सुविधायुक्त मेगा बसपार्क निर्माणका लागि स्थानको खोजी सुरु गरिएको हो । वीरेन्द्रनगर नगरपालिकाले निर्माणाधीन सीटी बसपार्कको विकल्पमा मेगा बसपार्कको सम्भाव्यता अध्ययनका प्रक्रिया अगाडि बढाएको छ ।
कर्णाली प्रदेशको राजधानी बनेसँगै वीरेन्द्रनगरमा सवारीको चापसमेत बढेको छ । जसका कारण हालको बसपार्क साँघुरो बनेको छ । अब निर्माणाधीन सीटी बसपार्कलाई आन्तरिक सवारीका लागि मात्र प्रयोगमा ल्याइनेछ । प्रदेशका विभिन्न जिल्ला र सुर्खेतबाहिरबाट भित्रिने सवारी साधनका लागि दीर्घकालीन र ठूलो क्षमताको बसपार्कको खोजी भइरहेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार वीरेन्द्रनगरस्थित बांङ्गेसिमल नजिकै मेगा बसपार्क निर्माणका लागि तयारी भइरहेको छ । यसका लागि नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै यसलाई प्राथमिकता दिएको छ ।
वीरेन्द्रनगरमा सवारी चाप बढे पनि त्यसको उचित व्यवस्थापन हुन सकेको छैन । अर्कोतर्फ निर्माणाधीन सीटी बसपार्कले पनि सवारीको बढ्दो चापलाई थेग्न सक्ने अवस्था छैन । यसकारण सीटी बसपार्कलाई नगरभित्र सञ्चालन हुने साना सवारीका लागि मात्र प्रयोग गर्ने तयारी भइरहेको छ । लामो दूरीमा सञ्चालन हुने र जिल्ला बाहिरबाट भित्रिने अन्य सवारीका लागि भने बांङ्गेसिमलमा सम्भाव्यता अध्ययन गरेर बसपार्क निर्माण गरिने नगरपालिकाले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार हाल वीरेन्द्रनगरमा २० हजार सवारी साधन गुड्छन् । जसमा मोटरसाइकलको संख्या १७ हजार रहेको छ । सवारी संख्याको अनुपातमा बसपार्क नहुँदा अहिले अधिकांश सवारी साधन बसपार्क बाहिर खुला स्थानमा पार्किङ्ग गर्नुपर्ने बाध्यता छ ।
वीरेन्द्रनगरमा सुविधा सम्पन्न बसपार्क नहुँदा अस्थायी रूपमा मंगलगढी चौकको पूर्वतर्फको खाली जग्गामा पार्किङ्ग गरिंदै आइएको छ । निर्माण भइरहेको सीटी बसपार्कले बढ्दो सवारी चापलाई थेग्न नसक्ने भएकाले प्रदेशस्तरको सुविधायुक्त बसपार्क खोजी भइरहेको वीरेन्द्रनगरमा मेयर देवकुमार सुवेदीले बताए । उनले भने, ‘हामीले दीर्घकालीन समाधान हुनेगरी बसपार्कको सम्भाव्यता अध्ययन गर्दैछौं, वीरेन्द्रनगर अब राजधानी बनेको छ । राजधानी सहरको सवारी चापलाई थेग्नसक्ने बसपार्क आवश्यक भयो, यसका लागि नगरपालिकाले आवश्यक प्रक्रिया अगाडी बढाएको छ ।’ उनले पहिला नगरपालिकालाई मात्र आधार मानेर सीटी बसपार्क निर्माण थालिएको भन्दै अब त्यसको विकल्प चाहिने बताए । उनले दुइ वर्षभित्र विकल्पका रूपमा हेरिएको मेगा बसपार्क पनि सञ्चालनमा आउने गरी नगरपालिकाले काम गर्ने जानकारी दिए ।
सीटी बसपार्क दशैंसम्म सञ्चालनमा आउने
विगत दुई वर्षदेखि निर्माणाधीन वीरेन्द्रनगरको सीटी बसपार्क दशैंसम्म सञ्चालनमा आउने भएको छ । बसपार्क निर्माण योजना हेरिरहेका नगरपालिकाका इन्जिनियर विशाल अधिकारीका अनुसार निर्माणको काम अब अन्तिम चरणमा पुगेकाले भदौंको महिनामा सम्पन्न गर्ने तयारी छ ।
उनले भने, ‘अहिलेसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको छ, भदौसम्म पुरै सक्ने योजना छ । हामी दशैं असाजमा नभए पनि दशैंलगतै बसपार्क सञ्चालनमा ल्याउनेछौं ।’ सुर्खेतमा गाडी भित्रिएको करिब ३७ वर्षपछि कालोपत्रेसहितको सुविधा सम्पन्न बसपार्क पहिलो पटक सञ्चालनमा आउन लागेको हो । १५ महिनामा सम्पन्न गर्ने भनि ठेक्का दिइएको बसपार्क अढाइ वर्ष पुग्दा पनि सम्पन्न नभएपछि नगरपालिकाले ठकेदारलाई ताकेता गरेको इन्जिनियर अधिकारीले बताए ।
वि.सं. २०७४ वैशाख मसान्तसम्म सम्पन्न गर्ने गरी ६ करोड चार लाख २३ हजार एकसय ६० रूपैयाँमा सम्झौता भएको थियो । तोकिएको समयमा काम गर्न नसकेपछि नगरपालिकाले पहिलो पटक २०७४ चैत्र मसान्तसम्म सक्नेगरी म्याद थप ग¥यो । यही असार मसान्तसम्म पनि काम सम्पन्न नहुने भएपछि भदौंसम्मका लागि म्याद थप भएको अधिकारीले जानकारी दिए । निर्माण कम्पनीले चार करोड ३० लाख भुक्तानी लगिसकेको छ भने अब तीन करोड ९१ लाख ४४ हजार बाँकी रहेको छ । निर्माण कम्पनीका निर्देशक नरसिंह धामीले आफूले काम गर्न कुनै ढिलाइ नगरेको दाबी गरे । पहिलो पटक विभिन्न समस्याका कारण ढिलाइ भए पनि दोस्रो पटकको म्यादमा निरन्तर काम गरिरहेको उनको दाबी छ । उनका अनुसार अहिले निर्माण भएको बसपार्कमा एकैसाथ एक सय वटा गाडीसम्म पार्किङ्ग गर्नसक्ने क्षमता छ । यस्तै व्यवसायका लागि ५५ वटा सटर र १० वटा काउन्टर रहनेछन् ।

प्रकाशित मितिः   २९ असार २०७५, शुक्रबार १५:३९