डा. केसी वार्ताका लागि तयार

साझा बिसौनी संवाददाता
जुम्ला, २८ असार ।
जुम्लामा १३ दिनदेखि अनशनरत डा. गोविन्द केसीले वाताबाटै समाधान चाहेका छन् । केसीले आफ्नो माग सम्बोधनका लागि सरकारी पक्षबाट वार्ताको पहलकदमी चाहेका हुन् । सरकारले नै पेलेर अगाडि बढ्ने मनसाय राखेको भन्दै केसीका समर्थकहरूले डा. केसी सरकारसँग वार्ता गर्न तयार रहेको बताएका हुन् ।
सरकारले डा. केसीलाई काठमाडौं लैजान बुधवार जुम्लामा हेलिकोप्टरमा पठाउने तयारी गरेपछि केसीले अस्वीकार गरेका थिए । डा. केसीले आफू जीवन रक्षाका लागि काठमाडौं नजाने तर वार्ताका लागि भने आतुर रहेको आशय व्यक्त गरेका छन् । ‘सरकार वार्तामा नआएर जबर्जस्ती मलाई काठमाडौं लिएर मेरा माग तुहाउन खोज्दैछ, तर म त्यसो हुन दिन्न’ डा. केसीले भने, ‘म वार्ताका लागि सधैं तयार छु, सरकारले जबर्जस्ती नगरोस् ।’ केसीका समर्थकले पनि डा. केसीले वार्ताबाटै निकास चाहेका बताएका छन् ।
डा. केसीका सहयोगी चिकित्सक जीवन क्षेत्रीले हालसम्म सरकारी पक्षबाट वार्ताका लागि कुनै आधिकारिक जानकारी नआएको बताए । ‘केसीको मागप्रति सरकार लचक बन्दै वार्तामा आए हामी पनि वार्तामा बस्न तयार छौं, तर त्यसो हुन सकेको छैन’ क्षेत्रीले भने, ‘डा. केसी वार्ताका लागि कुरिरहनुभएको छ, अब सरकारले वार्ताका लागि लचक हुनुपर्यो ।’ डा. केसीको स्वास्थ्य अवस्था दिन प्रतिदिन जटिल बन्दै जाँदा सरकार वार्ता भन्दा पनि केसीको जीवनरक्षा केन्द्रित भएको उनको भनाइ छ । तर केसीले जुम्लामै वार्ता चाहेको उनको भनाइ छ ।
डा. केसीका समर्थकहरूले पनि सरकारलाई वार्ताको माध्यमबाट केसीका माग पूरा गर्न दबाब दिइरहेका छन् । सरकार र डा. केसी पक्षबीचको वार्ताका लागि आफूहरू मध्यस्थकर्ताको भूमिका निभाउन तयार रहेको नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष ढुण्डीराज पौडेलले बताए । ‘केसी संवादका लागि लचक देखिए पनि सरकारले वार्ता टोली गठन गरेको छैन, सरकारले वार्ता टोली गठन गरेको भए सहज हुने थियो’ पौडेलले भने, ‘सरकारले केसीको ज्यानलाई मात्र नभइ मागप्रति पनि ध्यान देओस् ।’ सरकार डा. केसीका मागप्रति संवेदनशील बन्दै वार्तामा आउनुपर्ने उनको भनाइ छ ।
वार्ताका लागि ध्यानाकर्षण
जुम्लाको चन्दननाथ नगरपालिकाले डा. केसीका माग सम्बोधन तथा जीवनरक्षाका लागि वार्ताको माध्यमबाट समस्या समाधान गर्न संघीय सरकारको ध्यानाकर्षण गराएको छ । केसीका माग सार्वजनिक सरोकारका विषय भएकाले तत्काल माग सम्बोधन तथा जीवनरक्षाका लागि सरकार गम्भीर बन्नुपर्ने मेयर कान्तिका सेजुवालले बताइन् ।
केसीको स्वास्थ्य अवस्था दिनानुदिन बिग्रीएकाले समस्या सुल्झाउन वार्ता बाहेक अन्य विकल्प नरहेको उनको भनाइ छ । यस्तै केसीको समर्थनमा नेपाल मानवअधिकार संगठन काठमाडौले उनको सत्याग्रहमा ऐक्यबद्धता जनाएको छ । बिहिबार जुम्ला पुगेर संगठनका अध्यक्ष ईन्द्रप्रसाद अर्यालले केसीको सत्याग्रहमा आफुहरूले पनि साथ दिने जनाउँदै माग पुरा गर्न सरकारलाई दबाब दिने बताए ।
एअरलिफ्ट गर्न चिकित्सकको सुझाव
अनशनरत डा. केसीको उपचारमा चिकित्सकहरूलाई कठिनाइ भएपछि उनलाई एअरलिफ्ट गर्न चिकित्सकहरूले सुझाव दिएका छन् । डा. केसीले आफ्नो उपचारमा चिकित्सकहरूको सल्लाह नमानेका कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनको उपचार टोलीमा संलग्न चिकित्सकहरू पुजनकुमार रोकाया, धिरज गुरुङ, सिद्धार्थ खाती र निराजन महासेठले एअरलिफ्ट गर्न सुझाव दिएका हुन् ।
केहिदिन यता अक्सिजन र पानीको सलाइनको माध्ययमबाट चिकित्सकहरूले केसीको जिीवनरक्षा गरिरहेका छन् । चिकित्सकहरूका अनुसार केसीको रगतमा ग्लुकोजको मात्रा कम हुदै गएको छ । तर उनले ग्लुकोज पनि लिन मानेका छैनन् । ग्लुकोज नभएका अन्य औषधि प्रयोग गरीरहेको छ । चिकित्सकका अनुसार केसीको मुटुले काम गर्न छोड्नसक्ने खतरासमेत देखिएको छ ।

प्रकाशित मितिः   २९ असार २०७५, शुक्रबार १५:३७