कर्णालीमा सवारी दुर्घटना न्यूनीकरण गर्न ‘रिफ्रेस सेन्टर’

साझा बिसौनी संवाददाता
सुर्खेत, २७ असार ।
सवारी दुर्घटनाको जोखिम घटाउन कर्णाली प्रदेशका राजमार्ग र सडक छेउमा रिफ्रेस सेन्टर अर्थात् आरामस्थलहरू स्थापना गरिएका छन् । लामो दूरीको यात्रामा चालकहरू थकित हुने र चालककै कारण अधिकांश सवारी दुर्घटना हुने गरेपछि रिफ्रेस सेन्टरहरू स्थापना गरिएका हुन् ।
प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा स्थापना भएका यी रिफ्रेस सेन्टरमा अब चालकले अनिवार्य रूपमा सवारी रोक्नुपर्नेछ । त्यहाँ कम्तिमा पनि चालक र यात्रुले आधा घण्टासम्म आराम गर्नेछन् । यस्तै ट्राफिक प्रहरीले सुरक्षित सवारी सञ्चालनबारे कक्षा दिएपछि मात्र चालक पुनः गन्तव्यतर्फ जान पाउने भएका हुन् । निरन्तरको यात्राबाट थकित चालकले रिफ्रेस सेन्टरमा आराम गर्न पाउने, सवारीले पनि आराम पाउने र गति पनि नियन्त्रण हुने भएकाले सवारी दुर्घटनामा कमी आएको ट्राफिक प्रहरीको दाबी छ ।
बारम्बार सवारी दुर्घटनाका कारण ठूलो मानवीय क्षति भएपछि मृत्युमार्गको उपनाम पाएको कर्णाली राजमार्गका विभिन्न तीन स्थानमा रिफ्रेस सेन्टरहरू स्थापना भएका छन् । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको राकम, कालिकोटको मान्म र जुम्लाको रारालिहीमा रिफ्रेस सेन्टर सञ्चालनमा आइसकेका छन् । यस्तै सल्यानको कपुरकोटमा पनि सञ्चालनमा आइसकेको छ भने रत्नराजमार्गको छिन्चुमा रिफ्रेस सेन्टर स्थापनाको काम चलिरहेको छ । सिंगो कर्णाली प्रदेशमा नै सवारी दुर्घटना रोक्न आवश्यकता अनुसार थप रिफ्रेस सेन्टरहरू स्थापना गरिने प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले राजमार्ग र सडक छेउमा रिफ्रेस सेन्टरहरू सञ्चालनमा आएपछि सवारी दुर्घटनामा कमी आएको जनाएको छ । ‘अधिकांश दुर्घटना चालकको लापरबाहीले हुन्छन्, त्यसकारण लामो दूरीको यात्रामा चालकलाई आराम चाहिन्छ’ क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी राजेन्द्रसिं खड्काले भने, ‘कर्णालीमा सवारी दुर्घटनाको उच्च जोखिम छ, सडकको अवस्था कमजोर छ । यसकारण पनि हामीले यहाँ रिफ्रेस सेन्टरलाई प्राथमिकता दिएका छौं, रिफ्रेस सेन्टरहरू सञ्चालनमा आएपछि दुर्घटनामा पनि कमी आएको
छ ।’ प्रदेशका अन्य स्थानमा पनि विस्तारै रिफ्रेस सेन्टरहरू स्थापना गरिने भन्दै उनले कर्णालीलाई सुरक्षित यात्रा हुने प्रदेशका रूपमा विकास गरिने बताए । भौतिक पूर्वाधारको अभावमा रिफ्रेस सेन्टरहरू आधुनिक बनाउन नसकिएको भन्दै उनले अब स्थानीय सरकारले पनि लगानी गर्नुपर्ने बताए । सवारी दुर्घटना रोक्न ट्राफिक प्रहरीसँगै हरेक चालक इमान्दार बन्नुपर्ने उनको भनाइ छ । छिन्चुदेखि जाजरकोट र सल्यान जोड्ने मुख्य प्रवेशमार्ग छिन्चुमा पनि रिफ्रेस सेन्टर स्थापना भइरहेको छ । उक्त स्थानमा बधवार आयोजित सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी चेतनामूलक कार्यक्रममा प्रदेश प्रहरी कार्यालयका एसपी वीरबहादुर वलीले भने, ‘सडकलाई सुरक्षित बनाउन हामी प्रतिबद्ध छौं, यात्रुले सडकमा ढुक्क भएर यात्रा गर्न पाउने छन् । रिफ्रेस सेन्टरमा ट्राफिकले सबै सवारी रोक्नेछन्, आधा घण्टा रिफ्रेस भएपछि मात्र सवारीलाई गन्तव्यमा पठाइनेछ ।’ यसले सवारी दुर्घटनामा कमी आउने उनको दाबी छ ।
यस्तै यातायात व्यवसायी रमेश सापकोटाले दुर्घटना न्यूनीकरणका लागि रिफ्रेस सेन्टरहरू प्रभावकारी बनेको बताए । उनले भने, ‘चालक रिफ्रेस भए आधा दुर्घटना रोकिन्छन्, थप रिफ्रेस सेन्टरहरू पनि आवश्यक छन् ।’ सोही अवसरमा भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्य र यातायात व्यवस्था कार्यालय सुर्खेतका श्रीशमशेर रानाले सवारी दुर्घटना न्यूनीकरणका लागि चनचेतना आवश्यक रहेको बताए ।

प्रकाशित मितिः   २८ असार २०७५, बिहीबार १५:१०