मन्दिर व्यवस्थित गर्न महापुराण

सुर्खेत, २७ असार । (साबिस)
वीरेन्द्रनगरको लाटीकोइलीस्थित शिव मन्दिरको व्यस्थापनका लागि महापुराण सञ्चालन गरिने भएको छ । लाटीकोइली सुर्खेत धार्मिक शिव महोत्सव मूल आयोजक समितिले आगामी साउन ७ गतेदेखि १७ गतेसम्म शिव मन्दिर परिषरमा महापुराण सञ्चालन गर्ने भएको हो ।
शिव मन्दिरको गेटको, पर्खाल लगाउने, आश्रम निर्माण गर्ने उद्देश्यका साथ महापुराण आयोजना गरिएको हो । मूल आयोजक समितिले बुधवार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार साउने मेलाको अवसर पारी महापुराण आयोजन गर्न लागिएको हो ।
परम्परा, संस्कृति, ऐतिहासिक र धर्मलाई एकैसाथ संरक्षण र सम्बद्र्धन गर्दै आधुनिकतासँग जोडेर पर्यटकीय विकास गर्न सकिने भएकोले शिव महापुराण लगाउन लागिएको मूल आयोजक समितिका कोषाध्यक्ष धुव्र श्रेष्ठले बताए । उनले २० लाख भन्दा बढी खर्च नगर्ने गरी महापुराण मेला लगाइने बताए । महापुराणमा पण्डित गोविन्द शरण महाराज संकल्पकर्ता रहेका छन् भने नारायण न्यौपाने वाचकको रूपमा रहेका छन् ।
महापुराणमा शालीग्राम (शिला) भगवानको दर्शन प्रदक्षिणा, गाई परिक्रमा गरी गौदान गर्ने, सामूहिक ब्रतबन्ध र विवाह, लक्ष्यवर्ती (लाखवत्ती) प्रज्वलन लगायतका कार्यक्रमहरू गरिने उनले बताए । यस्तै, प्रत्येक दिन बिहान ५ बजेदेखि सात बजेसम्म योग विज्ञान शिविर लगायतका गतिविधिहरू गरिने छ ।

प्रकाशित मितिः   २८ असार २०७५, बिहीबार १४:५९