आफ्नै उपचारमा डा. केसीको असहयोग

जुम्ला, २७ असार । (साबिस)
जुम्लामा अनशनरत डा. गोविन्द केसीले सहयोग नगर्दा उनको उपचारमा थप कठिनाइ भएको छ । १२ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य जटिल बन्दै गएको छ । तर केसीको तर्फबाट सहयोग नहुँदा उनको उपचारमा नै जटिलता पैदा भएको चिकित्सकहरूले बताएका छन् ।
अनशनका कारण थला परेका डा. केसीले आफूहरूको परामर्श नमान्ने र औषधिसमेत अस्वीकार गरेका कारण उपचार गर्न नसकिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । केसीको १२ औं दिनको स्वास्थ्य अवस्थाको रिपोर्ट बुधवार सार्वजनिक गर्दै चिकित्सकहरूले उपचारमा डा. केसीले सहयोग नगरेको बताए । केसीको उपचारमा संलग्न चिकित्सक प्रविणकुमार गिरी र सिद्धार्थ खातीले अनशनरत डा. केसीले नमान्दा उपचार गर्न कठिन भइरहेको बताएका हुन् ।
उपचारमा डा. केसीको तर्फबाट सहयोग नभएका कारण कठिनाइ भइरहेको उपचार टोलीका संयोजक तथा चिकित्सक गिरीले बताए । केसीको स्वास्थ्य अवस्थाबारे रिपोर्ट सार्वजनिक गर्दै गिरीले भने, ‘केसीको स्वास्थ्य अवस्था बिग्रीदै गएको छ, उहाँबाट उपचारमा असहयोग भयो । हामीले दिएको औषधि लिन मान्नुहुन्न, उहाँको अडानले उपचार गर्न हामीलाई कठिन भयो ।’ डा. केसीले आफ्नो उपचारका लागि आफै निणर्य गर्ने गरेका छन् ।

प्रकाशित मितिः   २८ असार २०७५, बिहीबार १४:५८