स्थानीय तहमा पुगेनन् बैंक, आर्थिक कारोबारमा जटिलता
साझा बिसौनी संवाददाता
सुर्खेत, २९ असार ।
कर्णालीका अधिकांश स्थानीय तहमा हालसम्म बैंकहरू पुगेका छैनन् । जसका कारण समस्या पैदा भएको छ । राष्ट्रिय ‘क’ वर्गको बैंकले सेवा विस्तार नगर्दा स्थानीय तहलाई राजश्व जम्मा गर्न र तलबदेखि उपभोक्ता समितिको भुक्तानी वितरणमासमेत सास्ती भएको हो ।
अधिकांश स्थानीय तहमा बैंकिङ्ग सेवा उपलब्ध नहुँदा रकमको भुक्तानी लिन हप्तौं हिँडेर सदरमुकाम नै पुग्नुपर्ने बाध्यता छ । यस्तै स्थानीय तहमा संकलन भएको राजस्व जम्मा गर्नका लागि सदरमुकाम नै पुग्नुपर्ने समस्या टरेको छैन । गत भदौंमा नेपाल राष्ट्र बैंकले स्थानीय तहमा राष्ट्रिय ‘क’ वर्गका बैंकका शाखा विस्तारका गर्न निर्देशन दिए पनि कर्णालीका अधिकांश स्थानीय तहमा हालसम्म बैंकले सेवा विस्तार गरेका छैनन् । २५ नगरपालिका र ५४ वटा गाउँपालिका रहेको यो प्रदेशमा अधिकांश स्थानीय तहमा बैंकको सुविधा उपलब्ध छैन ।
समयमा बैंकले सेवा विस्तार नगर्दा सर्वसाधारणदेखि स्थानीय तहका जनप्रतिनिधिहरूसमेत जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता छ । स्थानीय तहमा बैंक नहुँदा आर्थिक कारोबारका लागि निकै चुनौती खेप्नुपरेको डोल्पाको मुड्केचुला गाउँपालिका–३ कालिकाका स्थानीय नवराज बोहराले बताए । उनले सामान्य कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता नटरेको बताए । ‘हालसम्म गाउँपालिकामा बैंक आएको छैन’ उनले भने, ‘स्थानीय सरकारको कारोबार गर्न दुई दिन हिँडेरै सदरमुकाम पुग्नुपर्ने बाध्यता छ ।’ गाउँपालिका केन्द्रबाट दुई दिन पैदल हिँडेर सदरमुकाम दुनै जानुपर्ने मुड्केचुलाबासी बाध्य छन् । गाउँपालिका उपाध्यक्ष सुविता रोकायका अनुसार मुड्केचुलामा राष्ट्रिय वाणिज्य बैंकको शाखा हालसम्म खुल्न सकेको छैन् ।
गाउँमा बैंक नहुँदा करिब दुई हप्तादेखि जनप्रतिनिधिहरू नै सदरमुकाममा डेरा लिएर बस्नुपरेको उनले बताइन् । ‘आर्थिक वर्ष सकिनै लाग्यो, यतिबेला भुक्तानी नदिइन हुने’ उनले भनिन्,‘गाउँपालिकाको काम चौपट पारेर आधा महिनादेखि सदरमुकाम बस्नुपरेको छ, गाउँ गएर फर्किने हो भने ओहोर–दोहोर गर्नै ठीक्क हुन्छ ।’ बैंकको सुविधा लिन दुई दिन पैदल हिँड्नुपर्ने भएकाले सदरमुकाममा डेरा लिएर जनप्रतिनिधिले गाउँपालिकाको काम गर्ने गरेका छन् । भुक्तानी लिन आउने सर्वसाधारणलाई सदरमुकारम पुग्ने भरपर्दाे सेवा डेराबाटै प्रवाह गरिएको उनले बताइन् । उपभोक्ता समितिका पदाधिकारीले भुक्तानी पाए पनि रकम बोकेर गाउँ पु¥याउन जोखिम रहेको उनको भनाइ छ ।
‘रकम बोकेर सदरमुकामदेखि गाउँ हिँड्दा बाटोमा चोरी हुने हो कि भन्ने चिन्ता हुन्छ’ डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष धावा सुन्डुक गुरुङ्गले भने, ‘प्रहरीलाई स्कटिङ्ग गराएर स्थानीय तहमा तलव र विकासे आयोजनाको भुक्तानी पठाइयो ।’ उनका अनुसार शे–फोक्सुण्डो गाउँपालिकाबाट सदरमुकाम दुनै पुग्ने करिब सात दिन लाग्छ । गाउँपालिकादेखि वडापालिकासम्मका जनप्रतिनिधिले भुक्तानीका लागि सदरमुकाम पुग्नुपर्ने भएकाले स्थानीय तहको कामै प्रभावित हुने गरेको छ । ‘स्थानीय तहको काम रोकेरै सदरमुकाम पुगेका जनप्रतिनिधिले बैंकको चाप बढेसँग समयमा सेवा पाउन समेत सकिदैन’ उनले भने, ‘सदरमुकाममा एउटै शाखा रहेका बैंकमा आर्थिक वर्षको अन्त्यमा चाप बढेपछि सेवा लिन घण्टौं लाइन बस्नुपर्छ । गुणस्तरीय सेवा नपाउँदा काम समेत प्रभावित हुने गरेको छ ।’ डोल्पामा मात्रै होइन्, कर्णाली प्रदेश
राजधानी सुर्खेतका सबै स्थानीय तहमा बैंक सेवा पुग्न सकेको छैन । स्थानीय तहमा बैंक पुग्न नसक्दा आर्थिक कारोबार, भुक्तानी, तलब लिन तथा राजश्व जम्मा गर्न सदरमुकारममा रहेका बैंकमा पुग्नुपर्ने बाध्यता छ । सुर्खेतको चौकुने गाउँपालिकामा पनि हालसम्म लक्ष्मी विकास बैंकले शाखा विस्तार गरेको छैन । गाउँपालिकामा इन्टरनेट र विद्युत सेवा नभएकाले सेवा प्रवाहमा निकै चुनौती हुने भएकाले बैंकले सेवा प्रवाह गर्न नसकेको हो । बैंक नहुँदा गाउँपालिकाले विकास योजना तथा कार्यक्रमको खाता सदरमुकामस्थित राष्ट्रिय वाणिज्य बैंक शाखाबाट सञ्चालनमा ल्याएको छ ।
साउन महिनाभित्रै बैंक उद्घाटन गर्ने तयारीका साथ गाउँपालिकाको केन्द्र रहेको गुटुमा कार्यालय व्यवस्थापनको काम भइरहेको छ । ‘डेकोरेशनको काम चाँडै सम्पन्न भए असार मसान्तमा औपचारिक रूपमा वित्तीय कारोबार सुरु गर्ने तयारी तीव्र पारिएको छ’ लक्ष्मी बैंक वीरेन्द्रनगर शाखाका प्रमुख विनितविक्रम सिंजापतिले भने, ‘सदरमुकामका बैंकले दिने सेवा चौकुनेमा उपलब्ध गराउने गरी शाखा विस्तारको तयारी अन्तिम चरणमा पुगेको छ ।’ उनले दैनिक १० लाख बराबरको कारोबार गर्ने लक्ष्यसहित बैकले सेवा विस्तार गरेको बताए । अर्कोतर्फ राष्ट्रिय वाणिज्य बैक क्षेत्रीय कार्यालय नेपालगन्जका उपप्रबन्धक लिलाराम ढुंगानाले कर्णालीका अधिकांश स्थानीय तहमा बैंक शाखा स्थापना भइसकेको दाबी गरका छन् । ‘कर्णालीका डोल्पा र मुगुका दुई स्थानीय तह बाहेक अन्य स्थानीय तहमा बैंक सेवा पुगिसकेका छन्’ उनले भने, ‘साउनभित्रै सबै स्थानीय तहमा बैंक पु¥याउने लक्ष्यका साथ हामीले अनुगमन गरेका छौं ।’
साझा बिसौनी ।