एमयूमा एमफील सुरु
सुर्खेत, २५ असार । (साबिस)
मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) मा एमफीलको अध्यापन सुरु भएको छ । विश्वविद्यालयको व्यवस्थापन संकाय अन्तर्गत सोमवारदेखि एमफीलको कक्षा सुरु भएको हो । २०६९ सालदेखि व्यवस्थापन संकायमा स्नातक र स्नातकोत्तर अध्यापन गराउँदै आएको विश्वविद्यालयले पाँच वर्षपछि एमफीलको कक्षा सञ्चालन गरेको हो ।
विश्वविद्यालयले व्यवस्थापन संकायमा एमफील सञ्चालन गरेसँगै अब उच्च शिक्षाका लागि कर्णालीबासीले काठमाडौं तथा विदेश जानुपर्ने बाध्यताको पनि अन्त्य भएको छ । छिमेकी मुलुक चीन, भारत, अमेरिकालगायतका देशमा रहेका आधा दर्जन विश्वविद्यालयसँग प्राध्यापक तथा विषय आदानप्रदान गर्न एमयूले सम्झौतासमेत गरेको छ । विश्वविद्यालयले व्यवस्थापन संकायमा पीएचडी सञ्चालन गर्ने तयारी पनि तीव्र पारेको छ ।
सोमवारदेखि व्यवस्थापन संकायमा एमफील सञ्चालन गरेको एमयूले पहिलो चरणमा १४ जना विद्यार्थी भर्ना लिएको डीन डा. मस्तबहादुर गरञ्जाले बताए । उनका अनुसार त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका प्रा.डा. प्रेमराज पन्तले एमफील अध्ययनका लागि कोर्ष निर्माण गरेका हुन् । भर्ना भएको डेढ वर्षदेखि दुई वर्षसम्म सञ्चालन हुने एमफील अध्ययनका लागि दुई लाख २१ हजार शुल्क तोकिएको छ । गरिब र विपन्न विद्यार्थीलाई लक्षित गरी एमफील सञ्चालन गरिएको डीन गरञ्जाले बताए । एमफील कार्यक्रमको उद्घाटन कार्यक्रममा उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाले शैक्षिक गुणस्तर सुधारसँगै अब उच्च शिक्षाका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको बताए ।
साझा बिसौनी संवाददाता ।