पर्यटन प्रवद्र्धनबाटै कर्णालीको समृद्धि

साझा बिसौनी संवाददाता
सुर्खेत, २३ असार ।
प्राकृतिक रूपमा सम्पन्न कर्णाली प्रदेशलाई आर्थिक रूपमा समृद्ध बनाउनका लागि पर्यटन प्रवद्र्धन गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । कर्णालीमा पर्यटनको सम्भावना भएको बताउँदै कार्यक्रमका सहभागीले नेपाल पर्यटन बोर्ड र कर्णाली प्रदेश सरकारको सहकार्यमा नयाँ विकल्प खोज्नुपर्ने बताएका हुन् । सहभागीले पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न लाग्नुपर्ने समेत बताएका छन् ।
नेपालकै सुन्दर गन्तव्य कर्णाली भएकाले प्राकृतिक मनोरमको आनन्द लिने ठाउँसम्म पुग्न सरकारले सहज गन्तव्य निर्माण गर्नुपर्ने बताएका हुन् । शनिवार वीरेन्द्रनगरमा नेपाल पर्यटन बोर्डद्वारा आयोजित आर्थिक वर्ष २०७५÷०७६ को बजेटबारे अन्तक्रिया कार्यक्रममा सहभागी पर्यटन व्यवसायीले कर्णाली प्रदेश सरकारले पर्यटकीय क्षेत्रको विकासमा लाग्नुपर्ने बताए । नेपाल पर्यटन बोर्डका कार्यकारी समिति सदस्य कृष्णकुमार अर्यालले पर्यटनसँग सम्बन्धित बन्ने नीति तथा नियम सहज बनाउन प्रदेश सरकारलाई अनुरोध गरे । सरकारको नीति सहज भए मात्र पर्यटनको विकासमा फड्को मार्न सक्ने उनको भनाइ थियो ।
प्रदेश सरकारले आफ्नो नीति आफै बनाउने हुँदा पर्यटनका क्षेत्रमा भएका नीतिगत समस्या सल्टाउने र नयाँ नीतिका विषयमा समेत हेरफेर गर्न आग्रह गरे । यस्तै, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले पर्यटकलाई जबरजस्ती आउनेभन्दा पनि स्वस्फूर्त रूपमा आउने वातावरण सिर्जना गर्नुपर्ने बताए । ‘पर्यटकलाई चाहिने आवश्यक पूर्वाधार तयार गर्न प्रदेश सरकार लाग्नुपर्ने छ, केन्द्र सरकारले विगतमा गरेका प्रयास सबै ठाउँमा पुग्न सकेनन्’ उनले भने, ‘अहिले आन्तरिक र बाह्य पर्यटकलाई टिकटमा भएको विभेदलाई हटाउनुपर्छ, उनीहरूलाई सुरक्षित र सहज रूपमा घुमाउन सक्यौं भने आर्थिक आम्दानी पनि बढ्छ ।’
यस्तै, कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले पर्यटनको विकासका लागि सरकार सशक्त रूपमा लागि परेको बताए । ‘कर्णालीमा पर्यटनको मुख्य आधार भएकाले अहिले तत्काल प्रदेश सरकारले झण्डै ९८ करोड रूपैयाँ बजेट विनियोजन गरेको छ,’ उनले भने, ‘बजेटबाट कर्णालीमा रहेका पर्यटकीय स्थल वा त्यहाँसम्म पुग्ने पहुँचका लागि पूर्वाधार तयार गर्ने छौं ।’ मन्त्री बुढाले निजी क्षेत्रसँग सहकार्य गरेर कर्णाली प्रदेशलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरकार
तत्पर रहेको उल्लेख गरे । पर्यटन व्यवसायी चिन्तामणि शर्माले बोर्डले नै कर्णाली प्रदेशमा पर्यटकीय क्षेत्रको विकासमा सक्रियता देखाउनुपर्ने बताए । ‘हामीलाई बोर्डको कार्यालयसम्म पुग्न धौ–धौ हुने गर्दथ्यो,’ उनले भने, ‘आगामी दिनमा त्यो हुनुहुँदैन,’ कर्णालीमा थुप्रै पर्यटकीय गन्तव्य भए पनि पर्यटकीय स्थलको इतिहास र जानकारी कतै नभेटिँदा प्रचार–प्रसारका लागिसमेत समस्या उत्पन्न भएको उनको भनाइ छ । कर्णालीमा अहिले पनि विभिन्न खालका पर्यटकीय गन्तव्य लुकेर रहेकोले पर्यटक आकर्षणका लागि तीनलाई ऊजागर गर्नुपर्ने सुर्खेतका सञ्चारर्मीहरूको भनाइ थियो । कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले पर्यटकिय क्षेत्रको पूर्वाधार विकास र इतिहास ऊजागर गर्नु सुझाव दिएका छन् ।

प्रकाशित मितिः   २४ असार २०७५, आईतवार १४:१४