अनशन बसेका विद्यार्थी आईसीयूमा

साझा बिसौनी संवाददाता
सुर्खेत, २२ असार ।
शैक्षिक सुधारका विभिन्न मागहरू राख्दै बुधवारदेखि आमरण अनशनमा बसेका मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीको स्वास्थ्य अवस्था गम्भीर भएको छ । विश्वविद्यालयको केन्द्रीय क्याम्पस परिसरमा आमरण अनशनमा बसेका एक जना विद्यार्थीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि आईसीयूमा भर्ना गरिएको छ ।
स्वास्थ्यमा निरन्तर खराबी आउन थालेपछि शुक्रवार बिहानैदेखि अनशनरत रोशन बस्नेतलाई स्वास्थ्य उपचारका लागि स्थानीय देउती नर्सिङ्ग होमको आईसीयूमा राखिएको हो । इन्जिनियरिङ्ग संकायलाई स्वायत्त बनाउनुपर्ने लगायतका १० बुँदे माग राखेर अनशनमा बसेका विद्यार्थीहरूको स्वास्थ्यमा बिहीवारदेखि नै खराबी आएको चिकित्सकले बताएका छन् । मिलन बिसी र रत्न शर्माको पनि स्वास्थ्य निकै कमजोर भएकाले उनीहरूलाई पनि अस्पताल लिने भन्ने विषयमा छलफल भइरहेको विद्यार्थीले बताएका छन् ।
विगत १८ दिनदेखि चरणबद्ध आन्दोलनसँगै विश्वविद्यालय विद्यार्थीहरू आमरण अनशनमा बसेको तीन दिन बित्दा पनि विश्वविद्यालयले भने समस्या समाधानका लागि कुनै चासो नदिएको विद्यार्थीहरूको गुनासो छ । विद्यार्थीहरूको स्वास्थ्य अवस्था कमजोर बन्दै जाँदा पनि विश्वविद्यालयले कुनै चासो नदेखाउनु गम्भीर लापरबाही भएको विद्यार्थी संजय योगीले बताए । विश्वविद्यालयले आफ्ना माग सम्बोधन नगर्दासम्म कुनै पनि हालतमा आन्दोलनबाट पछि नहट्ने विद्यार्थीको अडान छ ।
अस्पतालका डा. महेशकुमार खनालका अनुसार अहिले उनको अवस्था स्थिर रहेको छ ।
इन्जिनियरिङ्ग संकायलाई स्वायत्त बनाइनुपर्ने, हाइड्रोपावर इन्जिनियरिङ्गको पूर्ण पाठ्यक्रम उपलब्ध गराउनुपर्ने, सम्पूर्ण प्रयोगात्मक कक्षा पूर्णरूपमा सञ्चालन गर्नुपर्ने, १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउनुपर्ने, लाइब्रेरीमा पर्याप्त पुस्तक उपलब्ध गराउनुका साथै छुट्टै लाइब्रेरियनको व्यवस्था गर्नुपर्ने र विषयगत दक्ष शिक्षकको व्यवस्था गरिनुपर्ने माग राख्दै ३ जना विद्यार्थीले अनशन शुरू गरेका थिए ।
यस्तै अनशनमा बसेका विद्यार्थीमध्ये मिलन विसीको अवस्था सामान्य रहेपनि रत्न शर्माको भने नाडीको चाल बढ्नुका साथै प्रेसर ह्वात्तै घटेको छ । उनलाई पनि टाउको दुख्ने, श्वास फेर्न गाह्रो भएको छ । अनशनका क्रममा आइसियुमा भर्ना भएका रोशन बस्नेतले भने, अनशनका क्रममा आइसियुमा भर्ना भएका रोशन बस्नेतले भने, ‘हामी ज्यान गएपनि हाम्रा मागबाट पछि हट्ने छैनौं, विश्वविद्यालयले यसको जिम्मेवारी लिनैपर्छ ।’

च्याम्बरको ऐक्यबद्धता

निरन्तर अनशनमा रहेका विद्यार्थीहरूको मागप्रति ऐक्यबद्धता जनाउँदै सुर्खेत च्याम्बर अफ कमर्शले उनीहरूको उपचारमा लाग्ने खर्च बेहोर्ने भएको छ । शैक्षिक गुणस्तयिता र विश्वविद्यालय सुधारका लागि विद्यार्थीहरूको माग उचित भएकोले उनीहरू अनशन बस्नेबेलासम्मको उपचार खर्च बेहोर्ने जनाएको छ ।
शुक्रबार अनशन स्थलमा पुगेका कर्मसका अध्यक्ष चिन्तामणि शर्माले आफूहरूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अनशन गरिरहेका विद्यार्थीको स्वास्थ्य अवस्थाको निगरानी गर्न राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालले हरेक २ घण्टामा एउटा स्वास्थ्यकर्मी खटाएको छ । संघका अध्यक्ष अमरबहादुर रानाले उनीहरूको स्वास्थ्य अवस्थाबारे निरन्तर परिक्षण गर्नका लागि टिम परिचालन गरिएको बताए ।

प्रकाशित मितिः   २३ असार २०७५, शनिबार १७:१६