प्रदेश सरकारसँग छैन तथ्यांक

साझा बिसौनी संवाददाता
सुर्खेत, २१ असार ।
कर्णाली प्रदेशका पर्यटकीय स्थलमा कति पर्यटक पुगे भन्ने बारेमा सरकारसँग नै तथ्यांक छैन । वर्षमा पाँच लाख पर्यटक भिœयाउने लक्ष्यसहित कर्णाली–रारा पर्यटन वर्ष–२०७५ घोषणा गरेको सरकारले तीन महिना पुग्दासमेत तथ्यांक संकलन गर्न सकेको छैन ।
प्रदेशको पर्यटनसँग सरोकार राख्ने पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयले सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटसमेत खर्चिन सकेको छैन ।


पर्यटन वर्ष उद्घाटनमा नै लाखौं बजेट खर्चिएको मन्त्रालयसँग पर्यटन प्रवद्र्धनका लागि कुनै कार्यक्रम छैनन् । जसले गर्दा पर्यटन वर्ष उद्घाटन भएको करिब तीन महिना पुग्नै लागे पनि कति पर्यटक भित्रिए भन्ने तथ्यांक भने मन्त्रालयसँग छैन । वर्षभरी आन्तरिक र बाह्य गरी करिब पाँच लाख भिœयाउने लक्ष्य लिएको सरकारसँग पर्यटकको तथ्यांक संकलनका लागि कुनै संयन्त्र नै बनेको छैन । संघीय संरचना अनुसार संकलन गरिएको तथ्यांक समेत मन्त्रालयसँग नभएको जनाइएको छ ।
संघीय सरकारकै संरचनामा रारा ताल अवलोकनका लागि जाने पर्यटकहरूको तथ्यांक भने रारा राष्ट्रिय निकुञ्जले राख्ने गरेको छ । सुर्खेतको बुलबुले र काँक्रेबिहार आउने पर्यटकहरूको तथ्यांक संकलन गरिदैं आए पनि मन्त्रालय त्यसबारे जानकार छैन । जसले गर्दा महिनामा कति जना आन्तरिक र बाह्य पर्यटकहरूले अवलोकन गरे भन्ने बारेमा प्रदेश सरकार जवाफविहीन छ ।
पर्यटन, उद्योग, वन तथा वातावरण मन्त्रालयका शिवराम अधिकारीले कर्णालीका पर्यटकीय स्थलहरूमा कति पर्यटक भित्रिए भन्ने बारेमा तथ्यांक मन्त्रालयसँग नभएको बताए । उनले चालु आर्थिक वर्षमा कर्मचारी र बजेट अभावका कारण पर्यटकीय क्षेत्रमा कुनै कार्यक्रम गर्न नसकिएको बताए । ‘कर्णाली–रारा पर्यटन वर्षको उद्घाटन मात्रै गरियो’ उनले भने, ‘यो आवमा केही कार्यक्रम गरिएन, आगामी आवमा मन्त्रालयले पर्यटन क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा पारेको छ । सरकारले विनियोजन गरेको बजेटबाट मन्त्रालयमा परेका अन्य कार्यक्रम भन्दा पर्यटनलाई विशेष प्राथमिकता दिइएको छ । चालु आवको बजेट खर्चिन नसकेको मन्त्रालयले आगामी आर्थिक वर्ष पर्यटनका क्षेत्रमा पर्याप्त बजेट खर्चिन आवश्यक रणनीति तयारीमा जुटेको छ । पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने, सामुदायिक होटल स्थापना गर्ने लगायतका कार्यक्रमको ड्राफ्ट तयारीमा मन्त्रालय लागिपरेको छ । ‘मन्त्रालयमा विनियोजित बजेट खर्चिन आवश्यक कानुन र कार्यविधि बन्दैछ’ उनले भने, ‘वातावरण संरक्षण ऐन, वन ऐन, पर्यटन ऐन निर्माण भइसकेका छन् । सदनबाट पास भएसँगै कार्यान्वयनमा मन्त्रालय अगाडि बढ्छ ।’ हाल मन्त्रालयले केन्द्र सरकारको कानुनलाई आधार मानी काम गरिरहेको छ । उनका अनुसार मन्त्रालयका लागि करिब ६० करोड बजेट प्रदेश सरकारले विनियोजन गरेको छ । सोही बजेटको आधारमा पर्यटन क्षेत्रको विकासलाई पहिलो प्राथमितामा राखेको छ ।
‘तथ्यांक व्यवस्थापनका लागि प्रत्येक जिल्लामा समन्वय समिति गठन प्रक्रियामा जान निर्देशन दिइसकेको छु’ पर्यटनमन्त्रीले नन्दसिंह बुढाले भने, ‘बजेट नहुँदा उनीहरूबाट सोचे अनुसारको काम हुन सकेको छैन ।’ उक्त समितिमार्फत् स्थानीय तहका पर्यटकीय सम्पदाहरूको सूची संकलन गरी रणनीतिक योजना बनाउने उनले बताए । मन्त्री बुढाले जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ, गैरसरकारी संस्थाहरूलाई आवद्ध गरी पर्यटन प्रवद्र्धन समन्वय समिति गठनका लागि निर्देशन दिएको बताए । तर, प्रदेश सरकारले आवश्यक बजेट व्यस्थापन गर्न नसक्दा कुनै जिल्लामा पनि समिति गठन हुनसकेको छैन ।
दुई महिनामा २३ जना विदेशी पुगे रारा कर्णाली–रारा पर्यटन वर्ष सुरु भएपछिको दुई महिनामा रारा पुग्ने विदेशी पर्यटकको संख्या २३ जना मात्रै रहेको तथ्यांक रारा राष्ट्रिय निकुञ्जसँग छ । निकुञ्जको तथ्यांक अनुसार जेठको अन्तिमसम्म जम्मा २३ जना बाह्य पर्यटक मात्रै रारा पुगेका हुन् । प्रदेशको आम्दानीको पहिलो स्रोत पर्यटन मानेको प्रदेश सरकारले सोचे अनुसार पर्यटक रारा पु¥याउन सकेको छैन । रारा प्रवेश गर्ने आन्तरिक पर्यटकहरूको तथ्यांक राख्ने गरिएको छैन ।
रारा राष्ट्रिय निकुञ्जका खरिदार मनबहादुर थापाले विदेशीहरूमा कुनै उत्साह नदेखिएको बताए । उनका अनुसार भुलभुले रेञ्जपोष्ट जुम्ला, सल्लेरी चेकपोष्ट मुगु र ताल्चा रेञ्जपोष्टमार्फत् निकुञ्जभित्र आउने पर्यटकमाथि निगरानी बढाइएको छ । आन्तरिक पर्यटकको प्रवेश निःशुल्क भएकाले पनि रेकर्ड राख्न नसकिएको उनले बताए । ‘विदेशी पर्यटकहरू भित्रिएपछि टिकट काट्नुपर्ने हुन्छ, आन्तरिकका लागि टिकट पर्दैन’ उनले भने, ‘टिकट सिस्टम नभएकाले पनि आन्तरिक पर्यटक कति भित्रिए भन्न सक्ने अवस्था छैन, बाह्य मुलुकका पर्यटकले टिकट काट्ने भएकाले कति आए भन्ने अभिलेख राखिएको छ ।’ दैनिक जसो दुई सयदेखि तीन सयको हाराहारिमा आन्तरिक पर्यटक रारा पुग्ने गरेको उनले जानकारी दिए ।
जनशक्ति अभावका कारण रारा आउने पर्यटकहरूको तथ्यांक राख्न नसकिएको हो । हाल निकुञ्जमा ४२ जना कर्मचारी कार्यरत छन् भने दरबन्दी अनुसार १३ जना कर्मचारी अपुग छन् । उनका अनुसार तीन वटा चेकपोष्टमा विदेशी पर्यटकहरूको अभिलेखीकरणका लागि तीन जना कर्मचारी मात्रै परिचालन गरिएको छ ।
उनका अनुसार रारा पुग्ने विदेशी पर्यटकले प्रतिव्यक्ति करसहित तीन हजार तीन सय ९० रूपैयाँ तिर्नुपर्ने हुन्छ । तर, आन्तरिक पर्यटकबाट भने कुनै शुल्क लिने गरिएको छैन । कर्णाली–रारा पर्यटन वर्षको उद्घाटन भएसँगैका तीन दिनमा करिब नौ हजार आन्तरिक पर्यटकहरू भित्रिएको आंकलन निकुञ्जले गरेको छ । रारामा हाल दुई वटा मात्रै होटेल सञ्चालनमा छन् ।

प्रकाशित मितिः   २२ असार २०७५, शुक्रबार १७:१२